मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा : विनोद चौधरी

जेष्ठ ५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद विनोद चौधरीले मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद चौधरीले कोभिड महामारी र पछिल्लो समय युक्रेन र रसियाको युद्ध जस्ता कुराले मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा पुगेको बताए । उनले बजेटको बेला मात्रै अर्थतन्त्रबारे छलफल गर्ने तर अन्य समयमा गम्भिरतापूर्वक छलफल नगर्ने मानसिकता रहेको बताए । 

सांसद चौधरीले सरकारको विकास बजेट खर्च गर्ने प्रशासनिक निकायहरुको काम गर्ने क्षमता कमजोर हुँदा १० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च भएको आरोप लगाए । उनले अघिल्लो सरकारले नै अर्थतन्त्र समस्यामा ल्याएकोप्रति टिप्पणी गर्दै विभिन्न प्रकारका प्रयोगले थोत्रो भइसकेको गाडिको ड्राइभर बदलिँदैमा गाडिले तीव्र गति नलिने बताए । अहिलेको अर्थतन्त्रमा समस्या आउनु वर्तमान सरकार र अर्थमन्त्री दोषी नभएको पनि जिकिर गरे । 

सांसद चौधरीले पछिलो समय भारतसँग बढ्दै गएको व्यापार घाटा कम गर्न नेपालमा उत्पादित भएको विद्युत निर्यात गर्नुपर्ने बताए । सांसद चौधरीले उच्च व्यापार घाटा कम गर्न सरकारले कम्तिमा पनि १५ हजार मेगावाट बढी विद्युत बजारको मूल्यमा भारत निर्यात गर्ने वातावरण बनाउन पर्ने आवश्यकता रहेको बताए । सरकारले नीति तथा कार्यक्रम मार्फत जलविद्युतमा छुटै नीतिगत व्यवस्था गर्नुपर्ने बताए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully