बझाङ केदारस्युँको अध्यक्षमा समाजवादीका बोहरा विजयी

जेष्ठ ५, २०७९

वसन्तप्रताप सिंह

बझाङ — केदारस्युँ गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीका गणेशबहादुर बोहरा विजयी भएका छन् । नेकपा एमालेका लोकेशबहादुर भण्डारीलाई १ हजार ९ सय १३ मतलेपछि पार्दै बोहरा विजयी भएका हुन् ।

अध्यक्ष बोहराले ४ हजार ३२१ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी भण्डारीले २ हजार ४०८ मत पाएका छन् । अध्यक्षमा विजयी भएका बोहरा यसअघि वडा नम्बर ८ का वडाअध्यक्ष हुन् । हालसम्म सुदूरपश्चिम प्रदेशभरी एकीकृत समाजवादीबाट जित्ने बोहरा एकमात्रै पालिका प्रमुख हुन् ।

यस्तै, पालिकाको उपाध्यक्षमा ३ हजार ९३१ मतसहित नेपाली कांग्रेसकी मनिषा धामी विजयी भएकी छन् । उनी एमालेकी नारा गुर्धामीलाई १ हजार ७८२  मत अन्तरले पार्दै विजयी भएकी हुन् । गुर्धामीले २ हजार १४९ मत प्राप्त गरेकी छन् । विजयी भएका उम्मेदवारलाई नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र  सम्मिलित चुनावी गठबन्धनको समर्थन रहेको थियो ।

९ वटा वडा रहेको यस पालिकाको वडा नम्बर एकमा नेपाली कांग्रेसका वीरबहादुर भण्डारी, दुईमा एकीकृत समाजवादीका शेरबहादुर विष्ट, तीनमा समाजवादीकै वीरबहादुर खाती विजयी भएका छन् ।

त्यस्तै, चार नम्बर वडामा एमालेका कल्यान मल्ल र पाँचमा मोहन ठगुन्ना, वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका विजय धामी र वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार चन्द्र धामी,  वडा नम्बर ८ मा एकीकृत समाजवादीका सुरेश जेठारा र  वडा नम्बर ९ मा कांग्रेसका नन्दलाल बोहरा विजय भएको निर्वाचन अधिकृतको कार्यालय केदारस्युँले जानकारी दिएको छ । 

स्थानीय तह निर्वाचन २०७९

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully