धरानमा स्थगित भएको मतगणना सुरु- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानमा स्थगित भएको मतगणना सुरु

प्रदीप मेन्याङ्बो

सुनसरी — मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको विषयमा उत्पन्न विवादका कारण करिब १५ घण्टा रोकिएको धरानको मतगणना कार्य बिहीबार बिहान साढे नौ बजेदेखि सुरु भएको छ ।

विवाद भएको वडा नं. २० लाई तत्कालका लागि थाति राखेर अन्य वडाको गणना कार्यलाई निरन्तरता दिने राजनीतिक दलहरूबीच सहमति जुटेपछि गणना कार्य सुरु भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले वडा नं. ८, १२ र १९ को मतगणना भइरहेको छ । बुधबार दिउँसो मतगणनाको क्रममा मतदान अधिकृतको हस्ताक्षरबिना वडा नं. २० को मतपेटिकामा १८ वटा मतपत्र भेटिएपछि विवाद भएको थियो । उक्त मतपत्र बदर भएको छ । माओवादी केन्द्रले पुनः गणना गर्न माग राखेको थियो ।

बुधबार राति मतदान अधिकृतले माओवादी केन्द्रको प्रतिनिधिबिना गणना सुरु गर्ने तयारी गरेपछि करिब १० बजेतिर पुनः विवाद भएको थियो । माओवादी र एमालेका कार्यकर्ताबीच मतगणना भइरहेको भवनमै चर्काचर्की भएको थियो । तनावका बीच बसेको बैठकमा वडा २० को मतगणना थाती राखेर बिहीबार बिहान ८ बजेदेखि अन्य वडाको मतगणना सुरु गर्नेमा दलहरू सहमति भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्

दुईवटा मतपत्र बढी भेटिएपछि सिन्धुलीको कमलामाईमा रोकियो मतगणना 

राजकुमार कार्की

सिन्धुली — मुचुल्कामा लेखिएको भन्दा २ वटा मतपत्र बढी भेटिएपछि सिन्धुलीको कमलामाई नगरपालिकामा मतगणना रोकिएको छ । वडा नम्बर १३ को मत पेटिकामा खसेको मत भन्दा बढी भेटिएपछि गणना रोकिएको निर्वाचन अधिकृत धु्रवप्रसाद सापकोटाले बताए । मुचुल्का गरेपछि मतपेटिकामा भएको मत नै सदर हुने भएकाले अनावश्यक विवाद गरेर मतगणना रोक्नुको कुनै तुक नरहने उनको भनाइ छ ।

‘मुचुल्का गर्दा कहिलेकाहीं अंक लेख्दा थपघट हुनसक्छ,’ उनले भने ‘बाकसमा छाप लगाई शिलबन्दी गरेपछि खोल्दा भएको मत संख्या नै कानून अनुसार आधिकारिक हुन्छ ।’ कमलामाईको १४ वडा मध्ये ११ वटाको परिणाम घोषणा भइसकेको छ । वडा नम्बर १,४,५,६,९ मा कांग्रेस तथा ३,७,८,११ एमाले र २ र १० मा माओवादी केन्द्रले अध्यक्ष जितेको छ ।

कमलामाईमा हालसम्मको गणनामा गठबन्धनबाट मेयरमा कांग्रेसका उपेन्द्र पोखरेलले अग्रता कायम राखेका छन् । उनले १२ हजार ५३९ मत प्राप्त गरेका छन् भने एमालेका महेन्द्रदेव श्रेष्ठले १० हजार ८०८ पाएर पछ्याइरहेका छन् । उपमेयरमा एमालेकी मञ्जु देवकोटाले १० हजार ८७२ मत पाउँदा गठबन्धनबाट माओवादी केन्द्रका दीर्घराज श्रेष्ठको १० हजार २६९ रहेको छ ।


प्रकाशित : जेष्ठ ५, २०७९ ०९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×