१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्याङ्जा: नगरमा कांग्रेस, गाउँमा एमाले 

एक नगरसहित ५ गाउँपालिकामा एमाले र चार नगरसहित एउटा गाउँपालिकामा कांग्रेस विजयी भएको छ । वालिङ नगरपालिका बाहेक सबै पालिकामा एउटै दलका प्रमुख र उपप्रमुख विजेता भएका छन् ।
प्रतीक्षा काफ्ले

स्याङ्जा — स्थानीय तहको निर्वाचनमा स्याङ्जामा प्रमुख प्रतिस्पर्धी पार्टी कांग्रेस र एमाले मात्र रहे । नगरपालिकामा कांग्रेसको वर्चश्व देखिएको छ भने गाउँपालिकामा एमालेकाे । मतगणनाको अन्तिम परिणम अनुसार स्याङ्जाका एघार पालिकामध्ये १० वटामा प्रमुख र उपप्रमुखमा एउटै पार्टीबाट निर्वाचित भएका छन् भने वालिङ नगरपालिकामा एमाले र कांग्रेस निर्वाचित भए ।  

स्याङ्जा: नगरमा कांग्रेस, गाउँमा एमाले 

वालिङमा नगरप्रमुख कृष्ण खाँण विजयी भएका छन् । उनी एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । पूर्व मेयरसमेत रहेका दिलिपप्रताप खाँणलाई २ हजार १ सय ८३ मतले हराउँदै उनले विजय हासिल गरे । यस्तै, उपप्रमुखमा कांग्रेसकी कविता तिवारी विजयी भएकी छन् । एमालेकी खगिसरा थापालाई ४ सय ८२ मतले उछिन्दै उनी उपमेयरकी विजेता बनिन् । खगिसरा यसभन्दा अघि पनि उपमेयरको उम्मेदवार बनेकी थिइन् । कांग्रेसकी कल्पना तिवारीसँग पराजय भोगेकी खगिसराले यसपटक पनि सफलता हात पार्न सकिनन् । २०७४ को स्थानीय निर्वाचनमा वालिङ नगर प्रमुख र उपप्रमुख का‌ंग्रेसबाटै विजयी भएका थिए ।

कांग्रेसको गढ मानिने वालिङले पहिलोपटक आफ्नो साख गुमाएको छ । यस्तै चापाकोट नगरपालिकामा कांग्रेसबाटै मेयर र उपमेयर विजयी भए । एमालेका प्रतिस्पर्धी राजु कोइरालालाई ९ सय ३५ मतले पछाडि पार्दै कांग्रेसका देवबहादुर खाँण विजयी भएका छन् । उपमेयरमा एमालेका सृष्टि मल्ललाई १ हजार १३ मतले पछाडि पार्दै इशा राना विजयी भइन् ।

यसभन्दा अघिल्लो स्थानीय तहको निर्वाचनमा चापाकोटमा प्रमुख र उपप्रमुख कांग्रेसबाटै प्रतिनिधित्व थियो । अघिल्लो निर्वाचनमा मेयर र उपमेयर एमालेले जितेको पुतलीबजारमा भने यसपटक दुवै पद कांग्रेसले हात पारेको छ । मेयरमा प्रमुख प्रतिस्पर्धी एमालेकी सीमा क्षेत्रीलाई २ हजार ४ सय ४ मतान्तरले हराउँदै तुलसीराम रेग्मी विजयी भए । अघिल्लो निर्वाचनमा तुलसीरामलाई हराउँदै सीमा मेयरमा निर्वाचित भएकी थिइन् । यस्तै, उपमेयरमा ९ सय ४७ मतले एमालेका महेश पुरीलाई पछाडि पार्दै देवी अर्याल विजयी भइन् । पुरी निवर्तमान उपमेयर हुन् । एमालेको लाल किल्ला रहेको पुतलीबजारमा कांग्रेसले पहिलोपटक सफलता हात पारेको कांग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्सालले बताए । एउटा वडा आफूले लिनेगरी पुतलीबजारमा कांग्रेसलाई माओवादी केन्द्रले सहयोग गरेको थियो ।

गल्याङ नगरपालिकामा २०७४ मा प्रमुख र उपप्रमुख दुवै पदमा एमालेको प्रतिनिधित्व थियो । अहिलेको निर्वाचनमा कांग्रेसका उम्मेदवार मेयर र उपमेयरमा विजेता भए । जिल्ला अध्यक्ष समेत रहेका एमालेका सूर्यप्रसाद गैह्रेलाई ६ सय ९९ मतले हराउँदै गुरुप्रसाद भट्टराई विजयी भएका हुन् । भट्टराई कांग्रेस पार्टीका जिल्ला सचिव हुन् । निवर्तमान उपमेयर एमालेकी देवीसरा थापालाई ६३ मतले पछि पार्दै उपमेयरमा हेमा न्यौपाने विजयी भइन् । गल्याङ पनि एमालेको आधार क्षेत्र मानिन्छ ।

अघिल्लो निर्वाचनमा मेयर र उपमेयरमा विजयी भएको कांग्रेसले यसपटक पनि भीरकोटमा आफ्नो विरासत कायम राख्यो । मेयरमा एमालेका विश्वनाथ अर्याललाई ८ सय ३५ मतले पछाडि पार्दै गोविन्दकुमार कर्माचार्य विजयी भए । एमालेकी सरस्वती अधिकारीलाई २ हजार २ सय ६९ मतले पछाडि पार्दै भगवती रेग्मी अर्याल विजयी भइन् ।

अघिल्लो निर्वाचनमा अर्जुनचौपारी गाउँपालिका उपप्रमुख गुमाएको कांग्रेसले यसपल्ट कायम गर्यो । अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसका उम्मेदवार विजयी भए । निवर्तमान उपाध्यक्ष समेत रहेकी एमालेकी उम्मेदवार चिनमाया गुरुङलाई १ हजार ९ सय ४४ मतान्तरले पछाडि पार्दै अध्यक्षमा प्रकाश तिवारी विजयी भएका छन् भने एमालेका टंकप्रसाद खनाललाई १ हजार ६० मतले पछाडि पार्दै सपना गुरुङ उपाध्यक्षमा विजयी भइन् । अघिल्लो पटक अध्यक्ष पनि कांग्रेसबाटै निर्वाचित भएका थिए ।

विरुवामा २०७४ को निर्वाचनमा अध्यक्ष/उपाध्यक्ष जितेको एमालेले यसपल्ट पनि आफ्नो वर्चस्व कायम राखेको छ । विरुवा गाउँपालिकाका कांग्रेस सभापति समेत रहेका डोलराज पोखरेल कांग्रेसबाट अध्यक्षको उम्मेदवार बनेका थिए । १ सय २६ मतले पोखरेल पराजित भए । एमालेका सूर्य कुँवर अध्यक्षमा विजयी भए । माओवादीका थमबहादुर गुरुङलाई १ हजार २ सय ६१ मतले पछाडि पार्दै उपाध्यक्षमा एमालेकै भगवती शर्मा विजयी बनिन् । यहाँ कांग्रेस र माओवादीको गठबन्धन थियो । एमालेको पकड क्षेत्र मानिने विरुवामा यसभन्दा अघिल्लो निर्वाचनमा पनि कांग्रेस र माओवादीको गठबन्धनलाई तोड्दै एमाले विजयी बनेको थियो ।

आँधीखोला गाउँपालिकाले यसपटक पनि एमालेकै नेतृत्व पाएको छ । अघिल्लो निर्वाचनमा पनि अध्यक्ष र उपाध्यक्ष पदमा एमालेकै उम्मेदवार विजयी भएका थिए । यसपटक एमालेका विश्व पौडेलले काँग्रेसका प्रेमराज पौडेललाई ८ सय २६ मतले पराजित गरे । उपाध्यक्षमा एकीकृत समाजवादीका रामचन्द्रप्रसाद पौडेललाई १ हजार ४ सय ५६ मतले एमालेकी सीता थापाले पराजित गरिन् । यहाँ समाजवादी र कांग्रेसको गठबन्धन थियो ।

यस्तै कांग्रेस र माओवादीको गठबन्धन तोड्दै फेदीखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी बनेका छन् । कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १ सय ३२ मतले पछाडि पार्दै अध्यक्षमा एमालेका घनश्याम सुवेदी चुनिए । उपाध्यक्षमा माओवादीका शिवप्रसाद पराजुलीलाई १ हजार ५ सय ९९ मतले पछाडि पार्दै एमालेकी देउकुमारी गुरुङ निर्वाचित भइन् । अघिल्लो निर्वाचनमा पनि फेदीखोलामा एमालेकै उम्मेदवार निर्वाचित थिए । सुवेदी अघिल्लो निर्वाचन पनि अध्यक्ष निर्वाचित भएका थिए भने गुरुङ ५ नम्बरकी वडाध्यक्ष थिइन् ।

त्यस्तै कालीगण्डकी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अघिल्लो निर्वाचनमा पनि एमालेकै प्रतिनिधित्व थियो । पूर्व अध्यक्षसमेत रहेका खिमबहादुर थापा पुन: अध्यक्षमा विजयी भएका हुन् । कांग्रेसकी माया रानालाई १ हजार ६ सय ४५ मतले पछि पार्दै खिमबहादुर विजयी घोषित भए । यस्तै, उपप्रमुखमा पनि पुन: सावित्रा कोइराला नै विजयी भइन् । राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेलाई १ हजार ३ सय ९३ मतले पराजित गर्दै उनी विजयी भएकी हुन् ।

कांग्रेस र माओवादीको गठबन्धनलाई तोड्दै हरिनासमा पुन: खिमनारायण मानन्धर अध्यक्षमा विजयी भएका छन् । एमालेबाट उम्मेदवार बनेका उनले कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले हराए । अघिल्लो निर्वाचनमा पनि गठबन्धनलाई हराउँदै मानन्धर विजेता बनेका थिए । यसैगरी उपाध्यक्षमा माओवादीकी मिठु लम्साललाई २४ मतले हराउँदै एमालेकी इन्द्रकुमारी थापा विजयी बनेकी छन् । अघिल्लो निर्वाचनमा पनि हरिनासमा अध्यक्ष र उपाध्यक्ष एमालेकै पोल्टामा थियो ।हरिनासमा दुईवटै निर्वाचनमा माओवादी र कांग्रेसले सफलता हात पार्न सकेनन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?