भोजपुर — भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धन दल कांग्रेसका उम्मेदवार सरोज बस्नेत विजयी भएका छन् । उनले ३ हजार ९ सय ८० मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुव राईले ३ हजार २ सय ८८ मत प्राप्त गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित राई यस पटक भने ६९२ मतले बस्नेतसँग पराजित भएका हुन् । गाउँपालिकाको उपाध्यक्षमा एमालेकी रमा राई विजयी भएकी छन् । उनी जिल्ला समन्वय समिति भोजपुरकी सदस्यसमेत हुन् ।
उपाध्यक्षमा विजयी राईले ३ हजार ३ सय ८८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धन दल नेकपा एकीकृत समाजवादीकी उम्मेदवार इन्द्रावती राईले ३ हजार २ सय ९८ मत पाइन् । गाउँपालिकाका ९ वटा वडाहरूमध्ये नेकपा एमाले ५ वडा, नेपाली कांग्रेस २ वडा, नेकपा माओवादी केन्द्र १ र जनता समाजवादी पार्टी नेपालले १ वडामा जित हासिल गरेको छ ।
