भोजपुर — भोजपुर नगरपालिकाको मेयरमा कैलाशकुमार आले निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका आलेले ५ सय १५ मतान्तरले निर्वाचित भएका हुन् ।
आलेले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भरतकुमार तामाङलाई पराजित गरेका हुन् । आलेले ५ हजार ६ सय १५ ल्याउँदा तामाङले कुल ५ हजार १ सय मत प्राप्त गरे ।
त्यस्तै, उपप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी ममिता राईलाई ३ सय ६७ मतान्तरले हराउँदै नेकपा (एमाले)की निर्मला शेर्पा निर्वाचित भएकी छन् । शेर्पाले ५ हजार ५ सय मत प्राप्त गर्दा राईले ५ हजार १ सय ३३ मत प्राप्त गरेकी थिइन् ।
१२ वडा रहेको भोजपुर नगरपालिकामा गठबन्धन दल कांग्रेसले ८, एमालेले ३ र गठबन्धन दल माओवादी केन्द्रले १ वडा जितेको छ । भोजपुर नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीविच गठबन्धन भएको थियो ।
मेयरमा निर्वाचित आले २०५४ सालको स्थानीय तहको चुनावमा एमालेका गणेश श्रेष्ठलाई ३६ मतको मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।
