मतपेटिका कपडाले नबेरेकोमा विवाद, मकवानपुरको मनहरीमा रोकियो मतगणना

जेष्ठ ४, २०७९

सुवास विडारी

मकवानपुर — मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकामा जारी मतगणना कार्य अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

गाउँपालिकाको ९  नम्बर वडाको मतपेटीकालाई कपडाले नबेरेको विषयलाई लिएर विवाद भएपछि निर्वाचित अधिकृतको कार्यालय मनहरीले अर्को सूचना जारी नभएसम्मका लागि गणना कार्य स्थगित भएको जानकारी दिएको हो ।

मतपेटी कपडाले नछोपिएको अवस्थमा भेटिएपछि राजनीतिक दलका प्रतिनिधीले छोपिएको अवस्थमा हुनुपर्ने भन्दै विवाद निकालेपछि मतगणना कार्यलाई रोकिएको मनहरीका  निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने गरी छलफल अगाडि बढेको दलका प्रतिनिधिहरूले बताएका छन् ।

मनहरीमा १ देखि ८ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको र वडा नम्बर ९ को मात्रै मतगणना बाँकी रहेको छ ।

स्थानीय तह निर्वाचन २०७९

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully