(झापा) — राप्रपाको बलियो पकड क्षेत्र मानिने दक्षिण झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमालेको गठबन्धन विजयी बनेको छ । पालिका अध्यक्षमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई विजयी भएका हुन् ।
राजवंशीले ११ हजार ४ सय ५७ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका अन्जार आलमले ६ हजार ६ सय ६७ मत ल्याए । उपाध्यक्षमा एमालेका नवराजले राप्रपाका निमसरी राजवंशीलाई हराए । नवराजले ८ हजार १ सय ४३ मत पाउँदा निकटतम प्रतिस्पर्धी राजवंशीले ६ हजार ८ सय २ मत पाइन् । आलम र राजवंशी २०७४ को निर्वाचनका निर्वाचित जनप्रतिनिधि हुन् । यो पालिका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र पनि हो ।
