झापाको हल्दिबारी अध्यक्षमा राप्रपाका लिङ्देन विजयी - स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापाको हल्दिबारी अध्यक्षमा राप्रपाका लिङ्देन विजयी 

अर्जुन राजवंशी

बिर्तामोड — झापाको हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष, उपाध्यक्षसहित बहुमत सदस्य जितेको छ । बुधबार बिहान सम्पन्न मतगणनामा गाउँपालिकाको अध्यक्षमा राप्रपाका उम्मेदवार रविन्द्र लिङदेन निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित रविन्द्र लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका माइला भाइ हुन् । उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छन् ।

लिङ्देनले एमालेका डम्बरबहादुर गिरीलाई दुई हजार एक सय ९० को मतान्तरले पराजित गरेका हुन् । हल्दिबारीको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित लिङ्देनले ६ हजार ८ सय ५६ मत पाएका छन् । पराजित भएका एमालेका गिरीले ४ हजार ६ सय ६६ मत मात्र पाए । गिरी हल्दिबारीका निवर्तमान उपाध्यक्ष हुन् ।

गाउँपालिका उपाध्यक्ष निर्वाचित राप्रपाकी मैनालीले ५ हजार ७८ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्तादेवी गौतमले ४ हजार १ सय ६ मत मात्र प्राप्त गरिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा हल्दिबारीमा उपाध्यक्ष गिरीको नेतृत्वमा एमालेको बहुमत थियो । हल्दिबारी राप्रपा अध्यक्ष लिङ्देनको गृह पालिका हो । हल्दिबारी झापा निर्वाचन क्षेत्र ३ मा पर्छ । उक्त क्षेत्र राप्रपा अध्यक्ष लिङ्देन र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको प्रभाव पर्ने क्षेत्र हो ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्

शर्मा दोस्रो पटक कोलबर्नको मेयर

कान्तिपुर संवाददाता

लन्डन — इंग्ल्यान्डको कोलबर्न टाउन काउन्सिलर जगन्नाथ शर्मा पुनः मेयरमा निर्वाचित भएका छन् । मे ५ मा सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित काउन्लिरहरूको सोमबार सम्पन्न पहिलो बैठकले शर्मालाई सर्वसम्मत मेयर निर्वाचित गरेको हो । कोलबर्न टाउनमा ११ जना काउन्सिलर छन् ।

कन्जरभेटिभ पार्टीका शर्मा सन् २०१५ देखि २०१६ सम्म उपमेयर र सन् २०१९ देखि २०२० सम्म मेयर थिए । नर्थ योर्कसायर काउन्टी काउन्सिलर ग्रिन पार्टीका केभिन फोस्टरको प्रस्ताव र मेयर पदावधि सकिएर बाहिरिन लागेकी काउन्सिलर एन्जी डेलको समर्थनमा शर्मा मेयर चुनिए ।

यस पटकको निर्वाचनमा फोस्टरले शर्मालाई नर्थ योर्कसायर काउन्टी काउन्सिलर प्रतिस्पर्धामा ८ मतले हराएका थिए । एन्जी रिचमन्डसायर काउन्सिल लिडर पनि हुन् । ‘साथीहरूले ममाथि जुन विश्वास गरेर जिम्मेवारी सुम्पिएका छन्, यसले थप दायित्वबोध गराएको छ,’ शर्माले भने, ‘स्थानीय मतदाताको चाहनाबमोजिम सेवा प्रदान गर्न र विकास निर्माणमा अबको कार्यकाल खर्चने छु ।’

बैठकले डेपुटी मेयरमा ग्रिन पार्टीकी कोलिन मिन्चरलाई चुनेको छ । शर्मा बेलायती अर्थमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र रिचमन्डसायरमा कन्जरभेटिभ पार्टीको उपाध्यक्ष छन् । रोयल आर्मी मेडिकल कोर्पसमा रिजर्भड आर्मी अफिसर पर्वत बिहादी रानीपानीका शर्मा बेलायती रक्षा मन्त्रालयअन्तर्गत क्याट्रिक ग्यारिसनको डिपार्टमेन्ट प्रमुख सुपरिन्टेन्डेन्ट पनि हुन् ।

सन् २००१ मा बेलायत आएका शर्मा सन् २००३ देखि बेलायती रक्षा मन्त्रालयको जागिरमा प्रवेश गरेका थिए । स्पोर्टस् मेडिसिनमा विद्यावारिधि गरेका शर्मा जनस्वास्थ्य तथा संक्रामक रोग विशेषज्ञ पनि हुन् । उनका स्वास्थ्यसम्बन्धी कैयौं जर्नल प्रकाशित छन् । रक्षा मन्त्रालय प्रवेश गर्नुअघि सन् २००१ देखि २००३ सम्म उनी राष्ट्रिय स्वास्थ्य सेवामा कार्यरत थिए ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×