रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

जेष्ठ ३, २०७९

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछाप नगरपालिकामा अधिकांश वडासहित कांग्रेसले विजय हासिल गरेको छ । मेयरमा कांग्रेसका लबश्री न्यौपानेले एमालेका रोशन पाख्रिनलाई हराएका हुन् । 

निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार न्यौपानेले ६ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । एमालेका पाख्रिनले ५ हजार ९ सय ८६ मत पाएका थिए । पाख्रिन अघिल्लो पटक पनि कांग्रेसका नरबहादुर थापामगरसँग नगरप्रमुखमा पराजित भएका थिए । 

त्यसैगरी उपप्रमुखमा कांग्रेसकै बालकुमारी कार्की निर्वाचित भएकी छिन् । कार्कीले ६ हजार ६ सय ४० मत प्राप्त गरी निर्वाचित हुँदा एमालेकी सीता खत्रीले ५हजार ३ सय ४७ मत प्राप्त गरेकी छिन् । 

कांग्रेसले नगरका ९ मध्ये ६ वटा वडामा प्यानलै र १ वडामा वडा अध्यक्षसहित बहुमत सदस्य निर्वाचित गराउन सफल रहेको छ । एमालेबाट नगरप्रमुखका उम्मेदवारको वडा मात्र नभै एमालेको किल्ला भनेर चिनिएको वडा नम्बर  ६ ओख्रेनीमा समेत कांग्रेसले यो पटक प्यानलै जित हात पारेको छ ।

त्यसैगरी वडा नम्बर १ गोठगाउँ  र साँघुटारसमेत कांग्रेसले जितेको छ । माओवादी केन्द्रले भने २ वटा वडामा प्यानलै विजय गरेको छ । यसअघि माओवादी केन्द्रले जितेको रामपुरमा यो पटक कांग्रेसले अत्यधिक मत ल्याएर प्यानलै जितेको छ । 

स्थानीय तह निर्वाचन २०७९

टीकाप्रसाद

Link copied successfully