काठमाडौँ — चीनका लागि प्रस्तावित नयाँ राजदूत विष्णुपुकार श्रेष्ठले चीनलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को पूर्ण सदस्यता दिलाउने बताएका छन् । श्रेष्ठले मंगलबार संसदीय सुनुवाइका क्रममा उक्त अभिव्यक्ति दिएका हुन् ।
श्रेष्ठले सुनुवाइका क्रममा पेस गरेका दस्तावेजमा भनेका छन्,‘चीनलाई सार्क राष्ट्रको पूर्ण सदस्यता दिलाउने बारे आवाज उठाउनेछु ।’ चीनले लामो समयदेखि सार्कको सदस्य बन्न खोजे पनि प्राप्त गर्न सकेको छैन । चीन अहिले सार्कको पर्यवेक्षक मुलुक मात्र हो ।
सार्कको नयाँ सदस्य मुलुक बन्नका लागि सार्कको चार्टरअनुसार नेपालसहित आठ सदस्य मुलुकहरूले सहमत हुनु पर्छ । ‘श्रेष्ठले व्यक्तिगत रुपमा आफ्नो विचार राखेका हुन सक्छन् । सार्क मुलुकहरु सबै मिलेर मात्र नयाँ सदस्य हुने प्रावधान छ,’ पूर्व परराष्ट्र मन्त्री भेखबहादुर थापाले टिप्पणी गरे । थापाले सार्कको सदस्य दिने काम श्रेष्ठको नभएर सदस्य मुलुकहरुको रहेको पनि प्रष्ट पारे ।
साथै, श्रेष्ठले नेपाललाई सांघाई सहयोग संगठन (एसओसी) को पूर्ण सदस्यता दिलाउन प्रयत्न गर्ने बताएका छन् । नेपाल अहिले ‘डाइलग पार्टनर’ छ । एसओसीमा नेपालका दुई छिमेकी भारत र चीन पनि सदस्य छन् ।
सरकारले २० राजदूतलाई प्रस्ताव गरेकोमा संसदीय सुनुवाइ समितिले मंगलबार दुई जनाको सुनुवाइ गरेर अनुमोदनसमेत गरिसकेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङलाई अनुमोदन गरेको हो । कर्णले अन्य केही राजदुतको सुनुवाइ बुधाबार र त्यसपछिका दिनमा हुँदै जाने पनि बताए ।
प्रकाशित : जेष्ठ ३, २०७९ १९:५८