कांग्रेस र माओवादीबीच विवाद हुँदा तातोपानीमा मतगणना स्थगित

वैशाख ३१, २०७९

डीबी बुढा

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकामा मतगणनाका क्रममा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच विवाद हुँदा मतगणना स्थगित भएको छ । मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि आइतबार बिहानसम्मका लागि स्थगित गरिएको छ । 

मतगणना स्थगित हुने बेलासम्म कांग्रेसको १ सय ४२ मत, माओवादी केन्द्रको २ सय ३३ मत,एमालेको १ सय ६२ मत र एकीकृत समाजवादीको ५८ मत आएको थियो । मतगणनामा माओवादी केन्द्रले ६ मतमा चित्त नबुझेको भन्दै एकसय मतपत्र फेरी गणना गर्नुपर्ने माग गरेको थियो । १ सय मत फेरी गणना गर्दा कांग्रेस ३ मतले मात्रै अघि देखिएपछि विवाद सिर्जना भएको थियो । 

कांग्रेसले सबै मतको गणना फेरी गर्नु पर्ने माग राखेको छ । सर्वदलीय बैठकले आइतबार बिहान ७ बजेदेखि पुन: मतगणना गर्ने गरी मतगणना स्थगित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मतगणना स्थलमा भेला भएका नेता कार्यकर्ताहरूले मतगणना स्थगित गरेकोमा आपत्ति जनाएका छन् । उनीहरूले तत्काल मतगणना सञ्चालन गर्नुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् ।

स्थानीय तह निर्वाचन २०७९

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully