कांग्रेस र माओवादीबीच विवाद हुँदा तातोपानीमा मतगणना स्थगित- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

कांग्रेस र माओवादीबीच विवाद हुँदा तातोपानीमा मतगणना स्थगित

डीबी बुढा

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकामा मतगणनाका क्रममा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच विवाद हुँदा मतगणना स्थगित भएको छ । मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि आइतबार बिहानसम्मका लागि स्थगित गरिएको छ । 

मतगणना स्थगित हुने बेलासम्म कांग्रेसको १ सय ४२ मत, माओवादी केन्द्रको २ सय ३३ मत,एमालेको १ सय ६२ मत र एकीकृत समाजवादीको ५८ मत आएको थियो । मतगणनामा माओवादी केन्द्रले ६ मतमा चित्त नबुझेको भन्दै एकसय मतपत्र फेरी गणना गर्नुपर्ने माग गरेको थियो । १ सय मत फेरी गणना गर्दा कांग्रेस ३ मतले मात्रै अघि देखिएपछि विवाद सिर्जना भएको थियो ।

कांग्रेसले सबै मतको गणना फेरी गर्नु पर्ने माग राखेको छ । सर्वदलीय बैठकले आइतबार बिहान ७ बजेदेखि पुन: मतगणना गर्ने गरी मतगणना स्थगित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना स्थलमा भेला भएका नेता कार्यकर्ताहरूले मतगणना स्थगित गरेकोमा आपत्ति जनाएका छन् । उनीहरूले तत्काल मतगणना सञ्चालन गर्नुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्

भोजपुरको धूलोमा शब्दको इन्द्रेणी

एक व्यक्तिको लगनशीलता र अनुसन्धानको महायात्रा हो यो ग्रन्थ 
अभि सुवेदी

काठमाडौँ — कवि विप्लव ढकाल बिहानै एउटा मोटो किताब लिएर मेरो आँगनमा आइपुगे । तिनले हातमा बोकेको बृहत् ग्रन्थको रहस्य नखुलिन्जेल मैले अनेकौं कल्पना गरें । ‘भोजपुरको वाङ्मय’ भन्ने शीर्षक देखें । अनि सोचें, त्यो बृहत् ग्रन्थ एक जिल्ला परिचय होला । पछि थाहा भयो ८०६ पृष्ठको त्यो बृहत् ग्रन्थ विप्लवको दशकौं लामो एकल अध्ययन र अनुसन्धानको परिणाम रहेछ ।

त्यस्तो ग्रन्थ अमुक संस्थाहरूले निकाल्छन् । सोचें, भोजपुरजस्तो विविध संस्कृति, भाषा र जातजाति भएको जिल्लाको अध्ययनमा कोहीे लगानी गर्नेहरू भेटिन सक्छन् । यी कविले पनि केही प्रोजेक्ट लिएछन् र यो काम गरेछन् भन्ने लाग्यो । तर, तिनले कुरा गर्न थालेपछि मेरो उत्सुकता झन् गहिरियो । कविले त्यो ग्रन्थ मायाले बोकेका थिए । त्यो किताब ओल्टाइपल्टाइ गर्दै किताबबारे मलाई परिचय दिँदा तिनका औंलाहरू प्रफुल्ल मन र आह्लाद बोकेर सल्बलाइरहेका थिए । कुनै प्रोजेक्टको काममा यस्तो स्नेहको कल्पना गर्न सकिँदैन । अनि सोचें, यो कुनै अर्को शैलीको महाकाव्य होला । यी कविले प्रकारान्तरले अर्को महाकाव्य लेखे कि त ! लाग्यो, अहिले लगभग महाकाव्य हराइसकेको युगमा यी युवक कविलाई कस्तो सिर्जना गर्ने धुन चलेछ !

मेरा शृङ्खला नमिलाई राखेका किताबहरूमा फ्रान्सेली कवि चाल्स बोदलेयर र स्टेफन मलार्मे, सिद्धिचरण श्रेष्ठ, एलेन गिन्स्वर्ग र अज्ञेयका कविताका किताब देखिए । अज्ञेयले भारतमा विभाजनका बेला हिन्दु–मुसलमानको दङ्गालाई मात्रै वर्णन गरिबस्ने काव्यलाई परपीडनको खुसी (‘स्याडिस्टिक ग्ली’) भनेको कुरा साहित्य एकादमीको समकालीन साहित्य सम्मेलन प्रकाशन १९७५ को लेखमा भर्खरै पढेको थिएँ । सोचें, कवि विप्लव ढकालले यत्रो कर्म एक्लै गरेर आत्मपीडनको बाटो त लिएका होइनन् ? थाहा हुँदै गयो उनले भोजपुर जिल्लाको समग्र अध्ययन गरेका रहेछन् । यो ग्रन्थ एक जना कविकै सपनाको रूपक रहेछ । सामाजिक, सांस्कृतिक, साहित्यिक, लोकजीवनजनिन, कलात्मक अनि आर्थिक अवस्थाका विषयको चित्रण भएको यो किताब एक महाकाव्यिक प्रयास रहेछ । मलाई लाग्यो, एक जना व्यक्तिको लगनशीलता र अनुसन्धान भएकाले यो एउटा महायात्रा हो, ‘ओडिसी’ हो । यसमा काव्यिक सामर्थ्य छ । कुनै संस्थाले गरेको भए यो एउटा राम्रो निर्वैयक्तिक अनुसन्धान हुने थियो । तर, एक जना कविको प्रयास भएकाले यो महाकाव्यिक संचेतनाले गरिएको काम हो ।

कवि विप्लव लेख्छन्, ‘स्कुलमा अन्तिम बेन्चमा बसेको आफ्नै कलिलो छाया फर्केर आउँछ र प्रश्न गर्छ– तिमीले गोठाले जाँदा, खेतालो जाँदा, मेलापर्वमा जाँदा सानो कपीमा टिपोट गरेका सुदूर जङ्गलका शब्दहरूप्रति न्याय गर्‍यौ त ?’, ‘यी प्रश्नहरू मेरा लागि कुनै विश्वविद्यालयका प्रश्नभन्दा कठिन छन् । उत्तरहरू खोज्दै जाँदा आधा जिन्दगी बितेछ ।’ तिनले काव्यिक मर्म बोकेका वाक्यहरू यसरी लेखेका छन्, अगाडि– ‘घाँस–दाउराको भारी बोकेका, शरीरभरि धूलो र हिलो लागेका, नाङ्गा कुर्कुच्चाबाट रगत बगिरहेका, च्यातिएको मैलो लुगाभित्र... सुकिला दुःखहरू छोपेका, निधारबाट तर्तरी पसिना चुहाइरहेका पात्रपात्राहरू आउँछन् । ती सोध्छन्– मैले कुल्चिएको धूलामा शब्दको इन्द्रेणी छोपिएको छ कि ?’ ढकालको खोजको एउटा आधार भोजपुरका साहित्यकारहरूको खोजी हो भन्ने प्रस्ट हुन्छ । यो कुरालाई उनले यसरी राखेका छन्, ‘भोजपुरका साहित्यकारहरू लाखापाखा लागिसके । ...खोजें । चौबाटोमा उभिएर सोधें– यो राजधानीमा भोजपुरका शब्दशिल्पीहरू कहाँ बस्छन् ?’

जिल्लाका कवि–लेखकहरू राजधानी आएर खोज्ने काल्पनिकी र अठोट मेरा निम्ति एउटा नौलो विषय हो । मैले तेह्रथुम छाडेर काठमाडौं आउँदा मेरो जिल्लाका साहित्यकारहरू खोजेको थिइनँ । मलाई उनीहरूलाई भेटेर केही गरुँला भन्ने थिएन । म त यहाँ केही कहिल्यै नदेखेका कुरा खोज्न आएको थिएँ । त्यस्तो खोजीका क्रममा मैले अनेकौं पात्र भेटें । त्यसमा पनि हिप्पी नामधारी युवायुवती भेटेको र तिनका विचार र तिनका जीवनदर्शन र केही शैलीले प्रभावित भएको थिएँ । धरान, मोरङ र तेह्रथुमतिर वामपन्थी राजनीतिका सपना जगाउने कुराले उचालिएको थिएँ । तर, अरूबाट अनुशासित र नियन्त्रित हुने चाहना नभएकाले म अराजकतावादी विचारले प्रभावित थिएँ । यसको अर्थ मेरो कुनै बाटो थिएन काठमाडौं आउँदा । म सबै कुरा रित्तिएको मन, पश्चिमी दर्शनमा भनिने ‘ट्यावुलारस’ वा रित्तो स्लेट लिएर यहाँ आएको थिएँ । त्यस मनलाई तिनै अपरिचित नरनारीहरू अनि नेपाल मण्डलको संस्कृति र कलाले बिस्तारै भर्न थालें । मैले आमाले दिनुभएको शिक्षाको संस्कार र लिम्बू काव्यिक लोकसंस्कृतिको प्रभाव बोकेको थिएँ । यहाँ मैले जिल्लाका खोज्नुपर्ने कुरा खासै केही थिएनन् । विप्लव भाइका यी आत्मस्वीकृतिमूलक वाक्यहरू पढेर रोमाञ्चित भएँ । यो किताब उद्घाटनका दिन कवि भूपाल राई भाइले भनेजस्तो यो फराकिलो दृष्टिले बनिएको भोजपुर जिल्लाको किताब नेपाल राज्यको सही चित्रको ‘मिनिएचर’ हो ।

विप्लव निष्कर्षमा भन्छन्, ‘तिनै सपनाहरू जोगाएर लगभग साढे तीन दशकपछि यो पुरानो झोला बिसाएको छु । भोजपुरको नासो फिर्ता गरेको छु ।’ कसलाई फिर्ता गरे थाहा भएन । म यहाँ आइपुगेपछि झन् रोमाञ्चित भएँ अनि ती सरल कवि, मजस्तै पढाएर दुई छाक टार्ने साहित्यिक मानिसको मेरोभन्दा अग्लो कर्मयोजना देखेर चकित भएँ । यो किताब मनले खाएका व्यक्तिहरूलाई दिएर विप्लव भाइले उद्गारहरू बटुलेका छन्, जस्मा सय वर्षलाई पछाडि पारेर सक्रिय रूपमा अगाडि बढिरेहेका सत्यमोहन दाइ पनि छन् । उनले भनेका छन्, ‘यो ग्रन्थ तमसोमा ज्योतिर्गमयको निर्देशिका हो ।’ योजनाभित्र पारेर यस्ता ग्रन्थ निकाल्नुपर्छ भनी योजना बनाउने संस्थाहरूका मानकलाई विप्लव ढकालकी जीवनसाथी डा. पद्मा अर्यालको यो भनाइले विनिर्माण गरिदिएको छ, ‘लामो समयदेखिको अथक परिश्रम र सिर्जनशील पागलपनको प्रत्यक्ष साक्षी र परोक्ष सहयोगी ...गर्व लागेको छ ।’ लामो लेखमा यो किताबले उठाएका र यसले दिएका कुराका छलफल हुनुपर्छ । यहाँ मैले लेखेका केवल विप्लवका कविताको एक पाठकका कुरा हुन् ।

भोजपुरका स्मृतिलोक र ‘डक्युमेन्टेड’ दुवै छन् । इतिहास लेख्ने पद्धति सबैतिर त्यही हो । इतिहासको आधुनिक मात्र होइन, लोकस्मृति पनि हुन्छ । अमेरिकी समीक्षक फ्रेडरिक जेमिसनको सिद्धान्त छ, इतिहासको अवचेतन मन हुन्छ । त्यसको प्रकट हुने बाटो त्यस्तै स्मृति र स्वप्नबाट पनि हुन्छ । यो किसिमको ग्रन्थ लेख्नुको पछिल्तिर त्यही मनको खोजी हुन्छ । एउटा राम्रो कवि जब यसरी काम गर्न थाल्छ ऊ त्यही इतिहासको अवचेतनको प्रभावमाथि काम गरिरहेको हुन्छ । त्यसैले यो ग्रन्थले लिएको परिचित पद्धति छ– भौगोलिक परिचय, लोकवाङ्मय, अभिलेख वाङ्मय, भेटिएका र सहजप्राप्त पत्रपत्रिका, विविध वाङ्मयमा नाटक मञ्च, साहित्यिक आन्दोलन, कविहरू अनि वाङ्मय कर्मीहरू । त्यसपछि मातृभाषाका वाङ्मयकर्मीहरू इत्यादि शीर्षकमा विभाजित यो ग्रन्थले चकित पारेको छ ।

विप्लवले स्कुलको, गाउँले स्मृतिको कुरा गर्दा पोलो फ्रेरको ‘पेडागोजी अफ्दी अप्रेस्ड’ किताब सम्झना हुन्छ । गाउँका स्कुल चउरमा हुन्छन् । मैले पनि तेह्रथुमको साबला गाउँका एकाध चउरका यस्ता स्कुलमा पढेको छु । स्कुल सकिएपछि सबै घर जान्छन् । त्यहाँ कोही रहँदैनन् । उनी जाँदा त्यहाँ केवल रित्ता बाँसका खबटामा दिउँसो बालकले लेखेका अक्षर सुनसानमा हावासँग खेलिरहेका थिए । पलो फ्रेरको त्यही यात्रा पनि छ ‘भोजपुरको वाङ्मय’ मा । समग्रमा यो किताबको अनुसन्धान, लेखन, प्रकाशन, छलफल, स्मृति र क्षेत्रीय वाङमयलाई मोडेलको रूपमा राखे हुन्छ । यो कुशल र सिर्जनशील कविले गरेको प्रयोग हो । र, त्यही अर्थमा यो एक महाकाव्यिक कर्म हो ।

प्रकाशित : वैशाख ३१, २०७९ १२:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×