निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भयो : गृहमन्त्री खाँण

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले देशभर एकैपटक निर्वाचन हुँदा पनि छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् । उनले सरकारले सीमित स्रोत र साधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धताका साथ एकै पटक निर्वाचन सम्पन्न गरेकोमा सरोकारवाला निकायका प्रमुखहरूलाई धन्यवाद दिएका हुन्  ।

निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भयो : गृहमन्त्री खाँण

मन्त्री खाँणले सबै सुरक्षा निकायका प्रमुख, गृह प्रशासन, निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृत भएर खटिएका जिल्ला न्यायाधीशहरू, र निर्वाचन अधिकृतहरूलाई एकै चरणमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाएकोमा धन्यवाद दिएका हुन् ।

‘सीमित स्रोत र साधनको उपयोग गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृत र जवानहरूले दृढता र प्रतिबद्धतासाथ आफ्नो जिम्मेबारी पूरा गर्नु भएको छ,’ खाँणले भनेका छन्, ‘मुख्य निर्वाचन अधिकृत भएर खटिनुभएका जिल्ला न्यायाधीशहरू र निर्वाचन अधिकृतहरूले आफ्नो महत्वपूर्ण कार्यभार सम्पन्न गर्नुभएको छ । म्यादी प्रहरीले झन प्रतिबद्ध भएर फ्रन्ट लाइनमा बसेर आफ्नो जिम्मेबारी निभाउनु भएको छ । सबैले सरकारले दिएको जिम्मेबारी दृढतापूर्वक र प्रतिबद्ध भएर पूरा गर्नुभएका सबै धन्यवादका पात्र हुनुहुन्छ ।’

गृहमन्त्री खाँणले एकै पटक स्थानीय तह निर्वाचन सम्पन्न गर्ने चुनौतीपूर्ण काम सबैको दृढता र प्रतिबद्धताका कारण सम्पन्न भएको बताए ।

प्रकाशित : वैशाख ३१, २०७९ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?