सय नाघेका मतदाता भन्छन् : मेरो भोटको कदर होस् भन्ने चाहन्छु 

वैशाख ३०, २०७९

माधव अर्याल

पाल्पा — ५ वर्षमा एकचोटि आउने स्थानीय तहको चुनावमा उत्साहजनक मतदान भएको छ । यसपटक पहिलो पटक नयाँ मतदातादेखि सय वर्ष नाघेका ज्येष्ठ नागरिकसम्मले भोट हालेका छन् । 

तानसेन नगरपालिका–४, सिल्खानटोलस्थित मोहनकन्या मावि मतदान केन्द्रबाट ९२ वर्षीय भरतमान कर्माचार्यले पनि मतदान गरे । उनले आफूले दिएको मतदानले सही नेतृत्व चयन हुने र जनताको पक्षमा काम गर्न पनि सुझाव दिए ।

रिब्दिकोट गाउँपालिका–३, खस्यौलीस्थित ३ नम्बर वडा कार्यालय भवनबाट १०८ वर्षकी वृद्धाले मतदान गरेकी छन् । मतदानपछि वृद्धा भाट क्षेत्रीले जनताबाट चुनिने जनप्रतिनिधिले जनताको मतको कदर गर्नुपर्ने उनको सुझाव छ ।

१९७१–०५–१९ गते जन्म मिति भएकी मानकुमारी भाट क्षेत्रीले मतदान गरेकी हुन् । पाल्पामै सबैभन्दा धेरै उमेर भएकी वृद्धाले मतदान गरेको दाबी गरिएको छ । भाट क्षेत्रीले पञ्चायतकालदेखि नै मतदान गर्दै आएकी छन् । यो उमेरमा मतदान गर्न पाएकामा उनले खुसी व्यक्त गरिन् । ‘यो उमेरमा मतदान गर्न पाएकी छु,’ उनले भनिन्, ‘मेरो भोटको कदर होस् भन्ने चाहन्छु ।’ 

रिब्दिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले यो उमेरमा गरेको मतदानले सबैलाई उत्साहित बनाएको थियो ।

रिब्दीकोट गाउँपालिका–३, खस्यौलीका वडाध्यक्ष विष्णु खनालले पनि नागरिकता अनुसार नै मतदाता परिचयपत्र भएकाले उमेरमा कुनै फरकमत नभएको बताए ।

पाल्पाका मतदानकेन्द्रमा अपांगता भएका, दृष्टिविहिन, गर्भवती, सुत्केरीले पनि मतदान गरेका छन् ।

स्थानीय तह निर्वाचन २०७९

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully