काठमाडौँ — स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भए पनि मतपत्रको ढाँचा जटिल हुनाले ठूलो संख्यामा मतदाता अन्यौलमा रहेको पर्यवेक्षकहरुको निष्कर्ष छ ।
पूर्व प्रधानन्यायाधीश, निर्वाचन आयुक्त तथा प्रशासकहरुसहित ९ जना विषेश पर्यवेक्षक तथा ४ सय पर्यवेक्षकहरुको समूह सम्मिलित ‘आम निर्वाचन पर्यवेक्षण समिति’ (जियोक) का अनुसार ठूलो संख्यामा मतदाताहरु कसरी मत खसाल्ने भन्ने बारे जानकारी थिएनन् ।
‘आम रुपले चुनाव निकै शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ’ निर्वाचन आयोगको विशेष ९ पर्यवेक्षक मध्येका एक पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, ‘तर, अपर्याप्त मतदाता शिक्षा र अनावश्यक रुपले जटिल मतपत्रका कारण मतदाताहरु सूसुचित र विवेकपूर्ण मतदान गर्ने अधिकारबाट वञ्चित हुन पुगेका छन् जो चिन्ताजनक विषय हो ।’
निर्वाचन आयोग, दल र तिनका उम्मेदवारहरु मतदातालाई मत खसाल्ने तरिका बुझाउने सवालमा असफल भएको देखिएको पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको निष्कर्ष छ ।
‘पहिलेको तुलनामा चुनाव बढी छरितो, शान्त र संयमित देखिए पनि मतदाता शिक्षाका माामिलामा धेरै त्रुटि पाएँ’ विषेश पर्यवेक्षकका रुपमा मतदान केन्द्रहरुको निरीक्षणमा खटिएका पोखरेलले भने, ‘यसले गर्दा बदर मत संख्या पहिलेभन्दा पनि बढ्न जाने देखियो ।’
जियोकले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै ‘उम्मेदवारभन्दा मतपत्रमा चिन्ह बढ्ता हुँदा मतपत्र अनावश्यक रुपमा ठूलो, भ्रामक र जटिल भएको’ टिप्पणी समेत गरेको छ ।
‘उम्मेदवारहरु, ती सम्बद्ध दल र मतपत्रमा उनीहरुले पाएको चिन्हको बारेमा निश्चित ढंगले सूचना प्रसार गर्ने प्रक्रिया र संयन्त्रसहितको पहुँचयोग्य व्यवस्थाको अभाव रहेको पृष्ठभूमिमा मतदाता शिक्षा र सूचना सम्प्रेषण पद्धती व्यापक र प्रभावकारी हुनु पर्नेमा त्यसको अभाव अति नै खट्केको पाइयो’ विज्ञप्तीमा भनिएको छ, ‘उम्मेदवार नै नरहेको निर्वाचन चिन्ह समेत समावेश भएको मतपत्रको औचित्य र वैधताको प्रश्न समेत उपस्थित रहेको पाइयो ।’
