स्वच्छ निर्वाचनका मान्यताविपरित घटना भएका स्थानमा पुन: मतदान गर्न माग
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी गठबन्धनको निर्वाचनमा हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै सत्ताधारी गठबन्धनले उत्तेजनापूर्ण गतिविधि गरेको आरोप लगाएका हुन् ।
'सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरुद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रुपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत गर्यो,' विज्ञप्तिमा भनिएको छ ।
एमालेले कतिपय स्थानमा गृह प्रशासनको भूमिका असन्तुलित भएको जनाएको छ ।
'लोकतन्त्र र अग्रगमनको नाम जपी अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहने पाँच दलीय सत्ता गठबन्धनबाट यसप्रकारको अधिनायकवादी कार्य भयो,' विज्ञप्तिमा भनिएको छ, 'ती स्थानमा गृह प्रशासन अस्वभाविक रुपमा असन्तुलित देखियो ।'
ओलीले सत्ताधारी गठबन्धनको षड्यन्त्रलाई चिर्दै स्थानीय तह चुनाव सम्पन्न भएको जनाएको छ । 'प्रतिकूलतालाई पन्छाउँदै लाखौं नयाँ मतदाता र १ सय १३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसम्मले हाम्रो आधारभूत तहको लोकतन्त्रलाई सुदृढ गर्न उत्साहका साथ मतदान गर्नुभयो' ओलीले भनेका छन् ।
ओलीले विभिन्न स्थानीय तहमा चुनावी मान्यता विपरितको घटना भएको भन्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहारप्रति दुःख गरेका छन् ।
ओलीले स्वच्छ निर्वाचन विपरीतका घटना भएका, मतदान केन्द्रको अनधिकृत कब्जा गरिएका र भय त्रास सिर्जना गरी मतदाताहरुलाई आतंकित पारिएका स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरी समेत गरिएको जनाएका छन् ।
'यसलाई गम्भीरतापूर्वक लिन म निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछु' ओलीले भनेका छन् ।
विज्ञप्तिको पूर्णपाठ:
