मनाङका स्थानीय तहको मतगणना केही बेरमा सुरू हुने

वैशाख ३०, २०७९

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङको मतगणना कार्य शुक्रबार राति नै हुने भएको छ । नार्पाभूमिबाहेक ३ वटै गाउँपालिकाको मतपेटिका संकलन भइसकेको छ ।सर्वदलीय सहमति अनुसार मनाङ ङिस्याङ गाउँपालिका र चामे गाउँपालिकाको अहिले राति सााढे ८ बजेदेखि सुरु हुने भनिएकोमा अहिले तयारी भइरहेको छ ।

नासों गाउँपालिकाको अहिले राति ९ बजेबाट सुरु हुने छ । यसको पनि तयारी भइरहेको छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले मनाङका सबै स्थानीय तहको मतगणना राति नै हुने बताए । उनका अनुसार मनाङ ङिस्याङ, चामे र नासों गाउँपालिकाको मतगणना प्रक्रिया अघि बढेको र यसको छलफलमा जुटेको बताए ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज खनालले जिल्लाका सबै पालिकाको मतगणना आजै राति हुने बताए । उनका अनुसार नार्पाभूमिका वडाको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा राति संकलन हुने र सर्वदलीय सहमति अनुसार अघि बढ्ने भएको छ ।

मनाङमा ६२.६० प्रतिशत मत खसेको छ । कूल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङमा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशतमात्रै मत खसेको छ । नासों गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात ८३.०१ प्रतिशत मत खसेको छ । 

चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा ६ सय १० मत अर्थात् ८५.७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात ६७.८५ प्रतिशत मत खसेको छ ।

स्थानीय तह निर्वाचन २०७९

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully