भोजभतेरसहितको मतदान!

वैशाख ३०, २०७९

अर्जुन राजवंशी

बिर्तामोड — डाँगीबारी बजारमै छ, गौरीशंकर माध्यमिक विद्यालय । बजार क्षेत्रकै विद्यालयमा मतदान केन्द्र भएकाले शुक्रबार दिनभर भीडभाडा बाक्लै थियो । तर, भीडको प्रकृति भने अलि फरक पनि थियो  ।बाह्रदशी गाउँपालिका ७ डाँगीबारी बजार आइपुगेका मतदाता पहिला विद्यालयतिर जान्थे ।

मतदान गरेर विद्यालयको गेटबाट बाहिर निस्किएका मतदाताले एकछिन नजर लाउँथे । ठम्याउन सक्ने अघि बढ्थे नत्र, पार्टी निकट स्वय‌ंसेवकसाथ लाग्थे । डाँगीबारीमा यो क्रम बिहान ७ देखि बेलुका ५ बजेसम्मै चल्यो । डाँगीबारीमा प्रमुख तीन पार्टीको मुख्य प्रतिस्पर्धा देखियो । 

प्रतिस्पर्धा चुनावीभन्दा खानपिनमा बढी थियो । कांग्रेस–माओवादीको गठबन्धन, एमाले र राप्रपाले मतदाताको लागि ‘भोज’ आयोजना गरेका थिए । मतदान केन्द्र गौरीशंकर माविको ५० मिटर सामुन्नेमै तीन पार्टीले लस्करै खानपिनको प्रबन्ध मिलाएका थिए । डाँगीबारी आदिवासी गाउँ भएकाले खानपिनमा आदिवासी स्वादकै ‘चनाभुजा’ को व्यवस्था थियो । 

खानपिनमा कसैलाई रोकटोक थिएन । पार्टी निकट नभएपनि खान पाइने । डाँगीबारीमा एमालेको भोजमा करिब एक हजार जनाले खाएको नाम नबताउने सर्तमा एक जना भान्सेले भने । खानपिनमा ९ जना कामदार खटिएका थिए । कांग्रेस–माओवादी गठबन्धनको भोजमा एक हजार दुई सय बढीले खाएको कामदारले दाबी गरे । राप्रपाको भोजमा भने दुई सय ५० जनाले मात्र खाएको खानपिनमा खटिएका कामदारले बताए । ‘हाम्रोमा त्यति धेरैले खाएनन् । त्यस्तै अढाई सय जतिले खाए होला’ नाम नबताउने सर्तमा उनले भने । 

खोनपिनको सुविधा बार्‍हदशी ६ को मतदान केन्द्रमा पनि थियो । स्वास्थ्य केन्द्रमा बनाइएको मतदान केन्द्रको प्रवेश द्वारमै गठबन्धन र एमालेले खानपिनको प्रबन्ध मिलाएका थिए । कनकाई नगरपालिका ९ घैलाडुब्बामा पनि मतदानपछिको भोज गज्जबले चल्यो । आदर्श विद्या मन्दिर माविको मतदान केन्द्रकै गेट सामुन्नेमा एमालेले भोज खाने टेण्ड लगाएको थियो । कांग्रेसले नजिकैको खाजा पसलमा कुपनसहितको खानाको व्यवस्था गरेको थियो । 

‘पार्टीहरुले भोज खुवाएर निर्वाचन आचारसंहितको धज्जी उडाए’ मानव अधिकार सञ्जाल झापाका संयोजक विष्णु खरेलले भने,‘मतदान केन्द्रकै सामुन्ने शक्ति प्रदर्शनकै रुपमा खानपिनको व्यवस्था गरेपछि मतदाता मज्जाले प्रभावित भए ।’ दलहरुले टेण्ड, कुर्सीसहितको व्यवस्थामा भोज खुवाएको अनुगमनका क्रममा पाएको उनले बताए । दलहरुले निर्वाचन आचारसंहित उल्लंघनका एक–दुई मात्र होइन, दर्जनबढी नै घटना गरेको उनको भनाइ छ । 

जिल्लाको निर्वाचन पर्यवेक्षण गरेका नियोग झापाका संयोजक डा.रुपक खनालले पनि दलहरुले भोज आयोजना गरेर खुल्ला रुपमै मतदातालाई प्रभावित गरेको बताए । ‘जुन काम गरेर मतदाता प्रभावित गर्न पाइदैन भनेर आचारसंहितमा उल्लेख छ । दलहरुले त्यही काम बढी गरेको पाइयो । मतदातालाई होटलमा लगेर खाना खुवाएर आफ्नो पार्टीमा भोट हाल्न लगाए । होटल पनि अलि टाढाको भए हुन्थ्यो नि, मतदान केन्द्रको सामुन्नेकै होटलमा खानपिनको व्यवस्था गरेको पाइयो’ उनले भने । 

आचारसंहित उल्लंघनमा दलहरु खुलेआम लागेपनि सम्बन्धित निकायबाट अनुगमनको काम भने नभएको खरेलले बताए । ‘मतदान केन्द्रभित्रै पसेर उम्मेदवार र उनीहरुका स्वयम्सेवकले आफ्ना लागि भोट मागिरहेका थिए । स्वयमसेवकहरु पहिरन पनि मतदाता प्रभावित हुनेगरी लगाएका थिए ।  एमालेकाले रातो र सेतो तथा कांग्रेसकाले सेतोमा हरियो चिन्ह लगाएका टोपी लगाएर मतदान केन्द्रभित्रै भोट माग्न व्यस्त थिए । जुन, आचारसंहित विपरित हो’ उनले भने । 

स्थानीय तह निर्वाचन २०७९

अर्जुन

Link copied successfully