मोरङ — मोरङमा करिब ६८ प्रतिशत मतदान भएको छ । मोरङमा कुल ७ लाख १५ हजार २ सय २३ मतदाता छन् । अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा यसपटक कम मतदान भएको हो । अघिल्लो पटक रहेको कुल ५ लाख ७४ हजार ५ सय मतदातामध्ये ७४ दशमलव ९८ प्रतिशत अर्थात् ४ लाख २४ हजार १ सय ६४ जनाले मतदान गरेका थिए ।
प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यपले जिल्लास्थित १७ वटै पालिकामा गरी करिब ६८ प्रतिशत मतदान भएको बताए । उनले जिल्लाभर मतदान सकिएर मतपेटिका संकलन भइरहेको र मतपेटिका संकलन भएपछि सर्वदलीय बैठकको निर्णयले मतगणना सुरु गर्ने विषयमा निर्णय हुने बताए । मतपेटिका छिटै संकलन भएका पालिकाहरुमा आज रातिबाट नै मतगणना गर्ने तयारी रहेको उनको भनाइ छ ।
प्रदेश १ को एकमात्र महानगरपालिका सहित १७ वटा स्थानीय तह भएको मोरङको ३ सय मतदान स्थलका ८ सय २० मतदानकेन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
लेटाङ नगरपालिकाको वडा ४ स्थित शान्ति भगवती मावी मतदानकेन्द्रमा मतदाता नामावलीमा घर भाडा लिएर बसेका व्यक्तिको नाम भएको विषयमा कांग्रेस र एमालेबीच विवाद भएपछि एक घण्टा ढिलो गरी बिहान मतदान सुरु भएको मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
