काठमाडौँ — स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार ६४ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबार विहान ७ बजेदेखि बेलुकासम्म ६४ प्रतिशत मतदान भएको जानकारी दिए । ‘कतिपय ठाउँमा अहिले पनि मतदान भइरहेको छ, अहिले देशभरको यकिन तथ्यांक आइसकेको छैन, तर हामीले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार ६४ प्रतिशत मतदान भएको छ,’ उनले भने ।
उनका अनुसार काठमाडौंमै ५२ प्रतिशतमात्रै मतदान भएको छ । ‘यो प्रारम्भिक तथ्यांक हो, यो बढ्न पनि सक्छ । तर हामी यो तथ्यांकमा खुसी छैनौँ, यो आयोगले अनुमान गरेकोभन्दा फरक तथ्य हो,’ उनले भने । आयोगले यसअघि ६५ देखि ७० प्रतिशतसम्म मतदान हुने अनुमान गरेको थियो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले एकैपटक निर्वाचन हुँदा सुरक्षा प्रबन्धमा समस्या भएको महसुस भएको बताए । त्यस्तै, राजनीतिक दल र उम्मेदवारहरूबाट समेत असहयोग भएको उनले बताए ।
