तेह्रथुम — तेह्रथुममा ६६ प्रतिशत मतदान भएको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिए । जिल्लाका ५७ मतदान स्थल र ९५ मतदान केन्द्रमा ६६ दशमलब ९४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लमा ७२ हजार ८ सय ९५ मतदाता छन् । तीमध्ये ४८ हजार ७ सय ९८ मात्र मत खसेको हो । छिटफुट घटना बाहेक सवै स्थानीय तहमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको प्रजिअ घिमिरेले बताए । अहिले मतदान केन्द्रहरुबाट स्थानीय तहको केन्द्रमा मतपेटिका ल्याउने क्रम जारी छ ।
मुख्य निर्वाचन अधिकृत महेन्द्रप्रसाद पोखरेलले मतपेटिका सम्बन्धित स्थानीय तहको केन्द्रमै राखेर शुक्रबार रातिदेखि नै मतगणना गर्ने तयारी भइरहेको जानकारी दिए । सबै स्थानीय तहमा फलामको जाली र तारबार सहित मतगणना स्थल तयार गरिएको छ । ती ठाउँमा सिसीक्यामरा समेत जडान गरिएको छ ।
