मतदाताले भने- ‘यसपल्ट दल हेरेनौं, व्यक्ति हेर्‍यौं’

वैशाख ३०, २०७९

दीपक परियार

पोखरा — मतदान गरेर बाहिरिने बित्तिकै पोखरा महानगरपालिका–६, बैदामका अनिरुद्र आचार्यको वडाध्यक्षका उम्मेदवारसँग भेट भयो । ती उम्मेदवारले नमस्कार गरेनन् । अन्नपूर्ण आधारभूत विद्यालयमा मतदानकालागि लाम लागेका अरु मतदातातिर फर्किएर नमस्कार गरे । ‘मतदान गर्नुअघि मात्रै हो, उम्मेदवारले नमस्कार गर्ने,’ उनले भने, ‘भोट हालेर फर्किएकालाई वास्ता गर्दैनन् । जितेपछि झन् मतदातालाई वास्ता गर्न छाड्ने प्रवृत्तिमा अझैं सुधार हुने छाँटकाँट छैन ।’ 

०४६ अघिबाटै मतदान गर्दै आएका अडिटर पेशामा आवद्ध ५० वर्षीय उनले यसपल्ट स्थानीय तहको चुनावमा दल हेरेनन् । उनले व्यक्तिको खुबी हेरेर भोट दिएको बताए । भने, ‘भ्रष्टाचार नगर्ने, पैसाको लोभ नगर्ने, आफ्नो र अर्को छुटयाएर काम नगर्ने व्यक्ति हरेर भोट हालें । यसमा यो दल, त्यो दल भन्ने भएन ।’ 

पोखरा–१८ सराङकोट सिमानामार्गकी ४५ वर्षीया तुलसी पराजुली अघिल्लो निर्वाचनबाट जितेका जनप्रतिनिधिसँग असन्तुष्ट छिन् । जनप्रतिनिधिले जितेपछि बजेटजति आफ्नो टोलमा मात्रै खन्याएको उनले बताइन् ।

‘वडाध्यक्षले कम मत पाएको टोलमा त्यति वास्ता गर्नुभएन । कतिपल्ट भन्यौं, लौन यस्तो भयो भनेर, बाटाघाटा यस्तो भए, पानी पाइएन भन्दा पनि खासै वास्ता गर्नुभएनँ,’ उनले भनिन्, ‘आफ्नो टोलमा बजेट मजाले पार्नुभयो । बाटोघाटो चिल्ला पार्नुभयो ।’

यसपटक दलभन्दा व्यक्ति हरेर भोट हालेको उनले बताइन् । उनले यसपटक उम्मेदवारको पृष्ठभूमि र काम गर्न सक्ने क्षमता हेरिन् । स्वविवेक प्रयोग गरिन् । ‘अहिले सबैले व्यक्ति नै हेरेका छन्, पक्कै पनि मत खेर जाने छैन,’ उनले भनिन्, ‘यत्तिको मान्छेले गर्न सक्छ भनेर दिएका छौं । जे सोचेर मत दिएका छौं, त्यो अपेक्षा खेर फाल्ने छैनन् भन्ने विश्वास छ । जनताको आवश्यकतालाई सम्बोधन गरिदिनेछन् भन्ने अपेक्षा छ ।’

०३६ सालदेखि हरेक मतदानमा सहभागी हुँदै आएको पोखरा–५ मालेपाटनका ६५ वर्षीय दीननाथ बराल स्थानीय तहमा पार्टी भन्दा पनि काम गर्ने मान्छे चाहिएको बताउँछन् । मालेपाटनको बाराही माविबाट मतदान गरेर निस्किएपछि उनले यो चुनावमा व्यक्ति हेरेर भोट बताए ।

‘जो–जो उम्मेदवार काम गर्ने खालका छन्, त्यही–त्यही हेर्ने हो, पार्टी हेर्ने होइन,’ उनले भने, ‘म जुन पार्टीको भएपनि काम गर्ने मान्छेलाई भोट दिएँ । हिजो के गरेका थिए, आज के गर्दैछन् र भोलि के गर्छन् भन्ने हेरेर भोट दिएँ ।’

पोखरा–२९ भण्डारढिकका ५० वर्षीय गंगाबहादुर परियारले महानगरका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई नजिकबाट नियाले । उनीहरुले गरेका कामको मूल्यांकन गरेर भोट दिएको उनले बताए ।

‘यसपल्ट पार्टी भन्दा पनि राम्रो विकास गर्ने मान्छेको खोजी भएको छ,’ उनले भने, ‘पुरानाले गरेनन्, नयाँलाई दिने भन्ने पनि छ । नयाँ उम्मेदवारप्रति मतदाताको उत्साह छ ।’

स्थानीय तह निर्वाचन २०७९

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully