स्थानीयले लुटेको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याए- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

स्थानीयले लुटेको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याए

रौतहटका एसपीलाई स्पष्टीकरण सोध्ने तयारी
शिव पुरी

रौतहट — रौतहटको यमुनामाई गाउँपालिका–२, भेडीयाही गाउँको मतदान केन्द्रको मतपेटिका स्थानीयले लुटेर लगेका छन् । स्थानीयले मतपेटिका काँधमा राखेर भागे पनि सुरक्षाकमीले रोक्न सकेनन् ।

फितलो सुरक्षा व्यवस्थाका कारण सुरक्षाकर्मीबीचबाटै मतपेटिका लुटिएको हो । घटनापछि प्रहरी प्रधान कार्यालयले रौतहटका एसपी विनोद घिमिरेलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार भेडियाही मतदान केन्द्रमा ३० प्रतिशतमात्र मतदान भएको थियो । ‘स्थानियले लुटेर लगेको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएका छन्,’ उनले भने,‘सुरक्षा व्यवस्था फितलो होइन । बल प्रयोग गर्नुअघि विवाद मिलाउन छलफल गर्ने भन्दै गर्दा केही व्यक्ति आएर मतपेटिका उठाएर लगे ।’

बिहान उत्साहपूर्वक त्यस मतदानकेन्द्रमा मतदाताहरु लाइन बसेर मतदान गरेका थिए । दिउँसो समान्य विवाद भएपछि सुरक्षाघेराबाट मतपेटिका लुटिएको हो । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले रौतहटमा मतपेटिका लुटिएको घटनाले आफू दु:खी भएको बताए ।

‘मैले पनि मतपेटिका बोकेर भाग्दै गरेको तस्बिर समाजिक सञ्जालमा देखेँ,’ उनले भने,‘रौतहटका एसपी विनोद घिमिरेलाई स्पष्टीकरण सोध्छु । यो लापरबाही हो ।’ एसपी घिमिरले शान्ति सुरक्षा सबल बनाउन नसकेको भन्दै कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले आपत्ति जनाएका छन् । उनले आगामी जेठ ३ गतेको सदनमा रौतहटको शान्ति सुरक्षाबारे कुरा उठाउने बताए ।

जिल्लाको गढीमाई, फतुवाविजयपुर, मौलापुर, परोहा, वृन्दावन, गुजरा नगरपालिकाका विभिन्न केन्द्र दिनभर तनावपूर्ण अवस्था रह्यो । यी मतदान केन्द्रमा सुरक्षा व्यवस्था निकै फितलो रहेको दलहरुको आरोप छ । सुरक्षाकर्मीले कुनै पनि झडप रोक्न नसकेको स्थानीयको आरोप छ । गुजरा नगरपालिकामा भएको झडपमा प्रहरी मूकदर्शक बनेको स्थानीय शेख अनवारुलले बताए । झडपमा उनका दुई नातेदार घाइते भएका छन् ।

बौधिमाई नगरपालिका–२ इनरवा टोलमा जसपा र एमालेबीच झडपपछि मतपेटिकामा आगो लगाइएको छ । गरुडा नगरपालिकाको देबाही बुथमा स्थानीयबीच झडप हुँदा सुरक्षाकर्मीले बेवास्ता गरेको स्थानीय रवि जैसवालले बताए ।

प्रकाशित : वैशाख ३०, २०७९ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्

रोल्पामा निर्वाचन शान्तिपूर्ण, ६० प्रतिशत मतदान 

राति नै मत गणना सुरु गरिने
काशीराम डाँगी

(रोल्पा) — रोल्पाका सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भएको छ । जिल्लाका ८१ स्थानका १ सय ७३ मतदान केन्द्रमा मतदान भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ। 

बिहान ७ बजेबाट सबै स्थानमा मतदान सुरु भएपनि परिवर्तन गाउँपालिका र लुंग्री गाउँपालिकाका ४ वटा मतदान केन्द्रमा विवादका कारण बिहान केहीबेर मतदान स्थगित भएको थियो । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले स्थगित मतदान केन्द्रमा तत्काल सर्वदलीय सहमति गरेर पुन: मतदान सुरु गरेपछि निरन्तर मतदान भएर समयमै सम्पन्न भएको बताए ।

मतदान सम्पन्न भएपछि मतदान केन्द्रबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका ओसारपसार कार्य सुरु गरिएको छ। रोल्पाका सबै केन्द्रबाट शुक्रबार रातिसम्ममा सबै मतपेटिका ल्याइसक्ने र रातिबाट नै मत गणनासमेत थाल्ने मुख्य निर्वाचन अधिकृत दिलिपराज पन्तले जानकारी दिए । त्यसका लागि सबै निर्वाचन अधिकृत कार्यालयले तयारी थालेका छन्।

निर्वाचनको अघिल्लो दिन थवाङको उवामा माओवादी केन्द्र र कांग्रेस-एमाले-चन्द समूहका कार्यकर्ता बीच झडप भएको थियो ।त्यसक्रममा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट आधा दर्जन घाइते भएका थिए। उनीहरू मध्ये गम्भीर ३ जनाको थवाङमा उपचार भइरहेको छ । निर्वाचन सम्पन्न गर्न रोल्पामा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि करिब २ हजार सुरक्षाकर्मी परिचालित गरिएको थियो।

प्रकाशित : वैशाख ३०, २०७९ १९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×