हवाई फायरका लागि तयारी गर्दा मिसफायर भयो : प्रहरी
गोरखा — प्रहरीको गोली लागेर घाइते भएकी स्वयंसेवक मनिषा थापालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । भीमसेन थापा गाउँपालिका–२ को ताराखसे मतदान केन्द्रमा खटिएकी थापा प्रहरीले चलाएको गोली लागेर घाइते भएकी थिइन् ।
तिघ्रामा गोली लागेर घाइते भएकी थापालाई उपचारका लागि काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए । ‘मतदानस्थलभित्रै भीडभाड बढेपछि मतपेटिका जोगाउनुपर्ने स्थिति थियो, नियन्त्रणमा लिन हवाई फायर गर्न लोड गर्दा मिसफायर भयो,’ उनले भने ।
कांग्रेस र माओवादीबीचको झडपपछि ताराखसेको मतदान प्रक्रिया रोकिएको छ । अहिले मतदान प्रक्रिया सुरु गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ ।
मतदानस्थल बाहिर विवाद बढेपछि मतदानस्थलमा हुलहुज्जत भएको मतदान अधिकृत वालकुमार परियारले बताए । ‘मान्छे मतदानस्थलतर्फ छिरे, हामी ब्यालेट जोगाउन लागियो,’ उनले भने,‘सबैलाई बाहिर पठाएर हामीभित्र सुरक्षाकर्मी र कर्मचारी थियौँ, त्यही बेला गोली चल्यो ।’
