केही ठाउँमा उम्मेदवारकै प्रतिनिधिबाट भन्न लजाउनुपर्ने घटना भए : प्रमुख निर्वाचन आयुक्त थपलिया

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दल र उम्मेदवारहरूबाटै मतदानलाई प्रभावित पार्ने प्रयास भएकोप्रति दुःख व्यक्त गरेका छन् । उनले केही ठाउँमा उम्मेदवारकै प्रतिनिधिबाट भन्न लजाउनुपर्ने घटना भएको बताए ।

‘यति तयारी गरेर भइरहेको मतदान रोकौँ भनेर सांसद र स्थानीय नेतृत्वबाटै प्रस्ताव आएका छन् । कतिपय ठाउँमा त उम्मेदवारकै प्रतिनिधिले मतपेटिकामा आक्रमण गर्ने काम भएको छ, यो त लज्जास्पद कुरा भयो,’ उनले भने ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सप्तरी, बझाङ, बारा र रौतहटका केही मतदान केन्द्रहरूमा अप्रत्याशित र अवाञ्छित गतिविधिहरू भएको बताए । ‘उम्मेदवारका प्रतिनिधिबाटै त्यस्ता गतिविधि भएका छन्, दलका नेता र उम्मेदवारहरूबाटै त्यस्तो घटना घटाइनु दुःखद कुरा हो । कतिपय घटना त मैले भन्नसमेत लजाउनुपर्ने अवस्था छ,’ उनले भने । उनले बेलुकी ५ बजेसम्म ७२ प्रतिशतसम्म मतदान हुने अनुमान रहेको बताए । 

‘देशैभरि सबै मतदान केन्द्रमा मतदान भइरहेको छ । अहिलेसम्म सरदर ४६ प्रतिशत मतदान भइसकेको छ । केहीको हकमा त्यो ७० प्रतिशतसम्म र केहीमा १८/२० प्रतिशतमात्रै पनि छ,’ उनले भने, ‘५ बजेभित्र मतदानस्थलमा प्रवेश गरिसकेको मान्छेले राति ९ बजेसम्म लागे पनि मतदान गर्न पाउँछ, हामीले ६५ देखि ७० प्रतिशतसम्म मतदान गर्ने अनुमान गरेका छौँ ।’ 

उनले देशभर ३२ वटा केन्द्रमा दुईपक्षीय झडप र विवादका कारण मतदान कार्य स्थगित भएको जानकारी दिए । ‘स्थगित हुनु भएको भनेको रद्ध हुनु होइन । हामी हरसम्भव प्रयास गरेर मतदान सुरु गर्ने प्रयास गरिरहेका छौँ, बेलुकासम्मै यो प्रयास रहन्छ,’ उनले भने । 

उनले आयोगका तर्फबाट भएका कमजोरीलाई स्वीकार्न तयार रहेको र सच्याउनसमेत प्रयास गर्ने बताए । ‘आयोग वा आयोगका कर्मचारी वा सुरक्षाकर्मीका कारणले गडबढी भएको भए त्यसको जिम्मेवारी आयोगले लिन्छ । आयोगले सुरुवातदेखि नै शान्तिपूर्ण रूपमा मतदानमा सहभागी भइदिनुस् भनेको थियो । कतिपय ठाउँमा त्यसको पालना भएन,’ उनले भने । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully