काठमाडौँ — दोलखाको बैत्येश्वरमा गाउँपालिकाको १ र २ वडामा शुक्रबार झडपको कारण केही समयमा मतदान स्थगित भएको थियो । सरकारी अधिकारीहरुले थप सुरक्षाकर्मी परिचालन गरेर मतदान सुरु गरेपनि सम्बन्धित मतदान केन्द्रहरुमा सँधै विवाद हुने गरेको छ ।
बैत्येश्वर-१ मा साविकको गैरीमुदी गाउँपालिकाको १ देखि ५ सम्म पर्छ । त्यसैगरी बडा नम्बरमा २ मा साविक गैरीमुदी गाउँपालिकाको बाँकी वडा र मिर्गे गाउँपालिका वडा १ रहेको छ । मिर्गे गाउँ विकास समितिको बाँकी वडा ३ नम्बर वडा रहेको छ ।
भिमेश्वर र जिरी नगरपालिकाको बीचमा रहेको बैत्येश्वर गाउँपालिका रहेको क्षेत्रमा २०५१ सालको मध्यावधी चुनावपछि सँधै निर्वाचनको समयमा विवाद हुँदै आएको छ ।
‘२०५१ सालको मध्यावधिदेखि प्रत्येक निर्वाचनमा पुरानो गैरिमुदीमा विवादमा पर्ने गरेको छ’ दोलखाका पत्रकार तथा प्रेस काउन्सिलका सदस्य चिरन्जिवी मास्केले भने, ‘एमाले र कांग्रेस दुवै बराबरको शक्तिको रुपमा रहेका छन् । एउटाले शक्ति देखाउन खोज्दा अर्कोबाट प्रतिरोध हुँदा सँधै विवादमा उत्पन्न हुने गरेको छ ।’
पहिले गैरीमुदीमा दुई मतदान केन्द्र थिए । जसमध्ये पुतलीकाठस्थित मतदान केन्द्र कांग्रेसले कब्जामा लिने गरेको थियो । त्यसको बाटो एमालेले आफ्नो बढी शक्ति रहेको मैनापोखरीमा कब्जा गर्नेगरेको थियो ।
मास्केका अनुसार २०६४ को माओवादी र २०७० सालमा एमालेले शक्ति बढी हुँदा अन्य पक्षले प्रतिवाद गर्न नसक्दा झडप भएन तर चुनाव विवादरहित हुन सकेन ।
अहिलेसम्मको विवादकोपछि गैरीमुदीका गाउँविकास समितिका अध्यक्ष रहेका कांग्रेसका नेता टलकबहादुर लामाको हत्याको विषय जोडिने मास्के बताउँछन् ।
यसपटक पनि गैरीमुदीमा बिहीबार बेलुकीदेखि विवाद सुरु भएको थियो । शुक्रबार सदरमुकाम थप सुरक्षाकर्मी थपिएपछि ढिलो गरि मतदान सुरु भएको थियो ।
अहिले त्यस क्षेत्रमा कांग्रेसका प्रदेश निर्वाचन क्षेत्र समिति सभापति शुक्र तामाङको दबदबा रहेको छ । २०७० सालमा तामाङले एमालेलाई साथ दिएका थिए ।
यो गाउँपालिकामा १७ हजार ४ सय ६२ मतदाता छन् । २०७४ सालमा भएको स्थानीय तह चुनावमा कांग्रेसका छवि लामा अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसले लामालाई दोहोर्याएको छ भने एमालेबाट माधवप्रसाद घिमिरे र नेकपा माओवादी केन्द्रबाट लक्ष्मण खड्का उम्मेदवार छन् ।
