स्थानीय तहको निर्वाचनमा मतदाताको उपस्थिति उत्साहजनक : जियोक

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले  स्थानीय तहको निर्वाचनमा मतदाताहरूको उपस्थिति उल्लेख्य र उत्साहजनक रहेको बताएको छ । शुक्रबार मध्यान्ह गरेको पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका निर्वाचन पर्यवेक्षकहरूले शान्तिपूर्ण रूपमा चुनाव भइरहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ का पर्यवेक्षक कल्याणकुमार श्रेष्ठले शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको बताए । उनले राजनीतिक दलले पनि संयमता अपनाएर निर्वाचनमा सहभागिता भएको र आम मतदाताले पनि संयमता अपनाएको उल्लेख गरे ।

उनले मतदानमा सहभागी हुनेमा ज्येष्ठ नागरिक, महिला र अपांग पनि उल्लेख्य रहेको पाइएको बताए । अपांगका लागि अपांगमैत्री मतदानस्थल नभएकोले त्यसलाई आगामी दिनमा सुधार गर्नुपर्ने उनले बताए । उनले मतदातामध्येमा लगभग ८० प्रतिशत मतदाताले मतदाता परिचयपत्र लिएर मतदान गर्न आएको बताए । पर्यवेक्षक श्रेष्ठले काठमाडौं जिल्लाका विभिन्न मतदान केन्द्रहरुको अवलोकन तथा निरीक्षण गरेका थिए ।  

पर्यवेक्षक श्रेष्ठले भने, ‘हामीले सामान्यतया शान्तिपूर्ण ढंगले भएको पायौँ । राजनीतिक दलहरुका त्यस्तो अराजक गतिविधि पाएनौँ। एकाध ठाउँमा केही ढिला भएको गुनासोबाहेक अन्य समस्या देखिएन । ज्येष्ठ नागरिकहरु, अपाङ्गहरु पनि उल्लेख्य रहेको पाइएको छ । साथै मतदान केन्द्र अपांगमैत्री नभएको पाएँ । महिलाहरूको उपस्थिति पनि उल्लेख्य छ । सुरक्षाको वातावरण पनि राम्रो देखियो । हरेकलाई सोध्दा मतदाता परिचयपत्र लिएर नै ७० देखि ८० प्रतिशत मतदाताहरुले मतदाता परिचयपत्र लिएर उपस्थित भएको पाएँ । यो भनेको मतदान प्रक्रिया सरल तरिकाले भइरहेको छ । कुनै–कुनै ठाउँमा सहायताको साथमा मतदान दिएको पायौँ । मतदान सफल ढंगले अघि बढेको छ । सन्तोषजनक छ ।’

त्यस्तै पूर्व प्रधान्यायाधीश तथा पर्यवेक्षक सुशीला कार्कीले भक्तपुरका विभिन्न ९ मतदान केन्द्रहरूको अवलोकन गरेकी थिइन् । जसक्रममा मध्यान्ह १२ बजेसम्म अधिकांश स्थानमा महिला निर्वाचन अधिकृत पाइएको उनले बताइन् । त्यस्तै उनले निर्वाचन भने शान्त रूपमा नै भइरहेको र मतदान केन्द्रमा व्यवस्थापकीय कुराहरूमा विशेष जोड दिएको पाइएको बताइन् । पर्यवेक्षक कार्कीले भक्तपुरका केही स्थानमा उम्मेदवारले मतदाताका लागि खानाको व्यवस्था आफ्नो घरमा गरेको पाइएको पनि बताइन् । 

पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन्, ‘आज हामीले ८ बजेदेखि मतदान निरीक्षण गरेका हौँ । मैले अधिकांश भक्तपुरका मतदान केन्द्रहरुमा अवलोकन गरेको थिएँ । ९ वटा विभिन्न स्थानमा अवलोकन गर्‍यौं । अधिकांश स्थानमा पुरुष मात्रै मतदान अधिकृत देखियो । ब्यासीमा महिला अधिकृत सबै रहेको पायौँ । निर्वाचन सबै ठाउँमा शान्त देखिन्छ । बुथको भौतिक समस्या देखिन्छ । नत्र सबै स्थानमा शान्त छ ।’

त्यस्तै पर्यवेक्षक एवं पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा मतदाताको उपस्थिति उल्लेख्य रहेको बताए । उनले जुनकुनै उमेर समूहका मानिस पनि आफ्नो मताधिकारको प्रयोगका लागि आएकोले सहभागिता उत्साहपूर्ण रहेको बताए । उनले कुनै पनि मतदान केन्द्रमा निर्वाचन सामग्री नपुगेको गुनासो नआएको र सुरक्षा व्यवस्था पनि राम्रो भएको पाइएको बताए । उनले भने, ‘मैले आज बिहान ८ बजेदेखि अवलोकन गरेँ । सहभागिताको हिसाबबाट उत्साहजनक छ । जुनसुकै उमेरका मानिस आफ्नो मताधिकार प्रयोग गर्न आएका छन् । व्यवस्थापनको प्रक्रिया हेर्दा कतै कुनै सामानहरु पुगेनन् भन्ने छैन । व्यवस्थित तरिकाले मतदान गरेको पाएका छौँ । मतदानमा खटिएका कर्मचारीहरुको स्वभाव पनि राम्रो देखियो ।’ 

पर्यवेक्षक पोखरेलले निर्वाचनको व्यवस्थापकीय पक्षमा गुणात्मक सुधार देखिएको बताए । पर्यवेक्षकका रूपमा उनले ललितपुर जिल्लाका मतदान केन्द्रहरुको अवलोकन तथा निरीक्षण गरेका थिए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully