नेपालगञ्जमा बच्चा च्यापेरै मतदानमा मुस्लिम महिला

वैशाख ३०, २०७९

रुपा गहतराज

नेपालगन्ज — मुस्लिम समुदायको बाहुल्य बसोबास रहेको बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा महिला मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । बुर्का र घुम्टोभित्र रहेका महिलाहरूसमेत मतदानमा उत्साहपूर्णरुपमा सहभागी भएका छन् । खुला र सक्रिय राजनीतिबाट टाढै रहेका ती महिला काखे बच्चा च्यापेरै पनि मतदानस्थल पुगेका छन् ।

नेपालगंन्ज उपमहानगरको वडा नं ४, ११ र २२ का मतदानस्थलहरुमा मुस्लिम महिलाहरु बाक्लो सहभागिता देखिएको छ । 

यहाँ सत्ता गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्धिन राई उम्मेदवार छन् । त्यस्तै, एमालेबाट मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकाल तथा राप्रपाबाट मेयरमा नन्दलाल वैश्य र उपमेयरमा विन्दु चर्तीमगर उम्मेदवार छन् । 

स्थानीय तह निर्वाचन २०७९

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully