कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

वर्षात्‌ले मतदानस्थलको काम प्रभावित

विप्लव महर्जन

सल्यान — शुक्रबार हुने स्थानीय निर्वाचनको लागि मतदानस्थलमा खटिएका कर्मचारीलाई अहिले मतदानस्थल तारबार गर्न र बस्ने ठाँउको व्यवस्था मिलाउन कठिनाई भएको छ । वर्षात्‌का कारण मतदानस्थल हिलाम्मे भएका र धेरैजसो स्थानमा पानी भरिएकाले कर्मचारी तथा सुरक्षाकर्मीले सहज रुपमा र समयमै काम सम्पन्न गर्न सकेका छैनन् ।

वर्षात्‌ले मतदानस्थलको काम प्रभावित

बाँसको खाँबो गाडेर डोरीको तारबार लगाउने काम अधिकांशमा सम्पन्न भएपनि वर्षात‌्का कारण उनीहरुले बाँकी काम खटिएर गर्न सकेका छैनन् । बेलुकीसम्म जसरी भएपनि निर्वाचन तयारी सम्पन्न गर्न पानीमा भिज्दै कर्मचारी, सुरक्षाकर्मीहरुले काम गरिरहेका छन् । मतपत्र लगायत अन्य सामग्री वर्षात‌्बाट बचाउन अहिले उनीहरुले मतदानस्थलमा त्रिपाल लगाउने तयारी गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डे जिल्लाका १० स्थानीय तहका २ सय १ मतदान केन्द्रका १ सय १४ मतदानस्थलमा तयारीको काम धमाधम भइरहेपनि पानीले केही प्रभावित भएको बताए । पानीबाट बच्नका लागि विभिन्न निकाय, स्थानीय तह तथा स्थानीय संघसस्थाले त्रिपाल सहयोग गरेको उनले जानकारी दिए ।

निर्वाचनको लागि कालिमाटी गाउँपालिका ३ –याङ्ग स्थित मतदानस्थलमा खटिएका मतदान अधिकृत धिरेन्द्र भण्डारीले बाँसको खाँबो गाडेर डोरी बाँध्ने काम बुधबार सम्पन्न भएपनि दैनिक जसो हुने वर्षात‌्ले मतदानस्थलमा पानी भरिदा अन्य तैयारी गर्न ढिलाइ भएको बताए । बेलुकी अबेरसम्म भएपनि काम पूर्ण रुपमा सम्पन्न गर्नका लागि पानीमा भिज्दै कामकाज भइरहेको उनले जानकारी दिए । ‘वर्षात‌्बाट बचाउन मतपेटिका विद्यालयको भवनमा राख्ने तयारी भइरहेको छ,’ उनले भने ।

शारदा नगरपालिका ३ द्वारिका प्राविमा मतदान अधिकृतको रुपमा खटिएका चन्द्रप्रकाश शर्माले वर्षात‌्का कारण आधा काम पनि सम्पन्न गर्न नसकिएको बताए । विद्यालयको भवन पुरानो तथा जीर्ण तथा कक्षाकोठा साँघुरो भएकाले कोठामा मतदानको व्यवस्था मिलाउन नसकेपछि बाहिर नै मतपेटिका राख्‍ने तयारी भइरहेको उनले बताए । उनका अनुसार वर्षात‌्बाट मतपत्रलगायतका सामग्री बचाउन स्थानीयले दुईवटा त्रिपाल उपलब्ध गराएका छन् ।

वर्षात‌्ले गर्दा मतदानस्थलको काममा चुनौती थपिएको नेरा मावि सितलपुर काप्रेचौरमा मतदान अधिकृत भएर गएका रेशमबहादुर थापाले बताए । वर्षात‌्कै कारण कर्मचारी बस्ने, मतपत्र वितरण गर्ने, नामावली हेर्ने, छाप लगाउने लगायत अन्य कर्मचारी बस्ने काम समयमै सम्पन्न गर्न नसकेको उनले बताए । ‘अहिले विद्यालयको कक्षाकोठामा बसेर मतदाता परिचय पत्र वितरण गरिरहेका छौं,’ उनले भने, ‘प्रयाप्त सामग्री छैन । त्यसले गर्दा समस्या भएको छ । राति अबेरसम्म बसेर भएपनि त्रिपाल लगाई तयारीको काम सम्पन्न गर्ने छौं ।’

प्रकाशित : वैशाख २९, २०७९ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?