स्याङ्जाका अति संवेदनशील मतदान स्थलमा सुरक्षा व्यवस्था कडा

स्याङ्जामा मात्रै ५३ मतदान स्थल अति संवेदनशील

वैशाख २९, २०७९

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङ्जाका अति संवेदनशील मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी राजु पौडेलले अति संवेदनशील स्थलमा सुरक्षा व्यवस्थालाई पनि कडाइ गरिएको बताए । सामान्यतया मतदान स्थलमा ५ जना म्यादी र २ जना नेपाल प्रहरी गरी ७ जनाको टोली खटाइएको उनले बताए । ‘अति संवेदनशील मतदान केन्द्रमा २/३ वटा संख्या थप छ‚’ उनले भने ।

शुक्रबार हुँदै गरेको स्थानीय तहको निर्वाचनका लागि पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा १ सय ९९ वटा मतदान स्थल कायम गरिएको छ ‚ जसमा ३ सय १८ वटा मतदान केन्द्र रहेका छन् । तीमध्ये ५३ वटा मतदान स्थल अति संवेदनशीलको सूचीमा रहेका छन् । ७३ वटा स्थल संवेदनशील र ७१ वटा स्थल सामान्य मतदान स्थलको सूचीमा रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार क्षेत्र नम्बर २ को चापाकोट, गल्याङ नगरपालिका र हरिनास, कालीगण्डकी गाउँपालिकाअन्तर्गतका मतदान स्थल अति संवेदनशील रहेका छन् ।

निर्वाचन स्थल पहिलेकै यथावत् राखिएको हो । २०७० को निर्वाचनमा कायम रहेका मतदान केन्द्र २०७४ मा थप गरिएको थियो । निर्वाचन मापदण्डअनुसार राज्य पुनर्संरचनामा स्थानीय तह रुपान्तरण हुँदा गाविसबाट गाउँपालिकामा गएका वा गाविसबाट नगरपालिकामा गई वडा बनेका र गाउँपालिका र नगरपालिकाबाट छुटिएका त्यस्ता वडालाई मध्यनजर गर्दै बेग्लै मतदान स्थल कायम गरिएको थियो । 

हाललाई सोही स्थल नै कायम गरिएको प्रजिअ पौडेलले बताए । २०७४ मा २ सय ९५ वटा मतदान केन्द्र रहेका थिए । मतदाताको संख्या थपिएसँगै केन्द्रको संख्या पनि थपिएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर खुमबहादुर भुजेलले जानकारी दिए ।

कुनै पनि केन्द्रमा मतदान गर्न मतदाता ५ किलोमिटरभन्दा बढी हिँड्नु नपर्ने कार्यालयले अनुमान गरेको छ । यसपटकको निर्वाचनमा स्याङ्जामा २ लाख ४० हजार ५ सय ३५ जना मतदाता मतदानका लागि सहभागी हुँदैछन् । यसअघिको निर्वाचनमा २ लाख १० हजार ३८ जना सहभागी भएका थिए । त्यस्तै, स्याङ्जामा १९ वटा राजनीति दल रहेका छन् । 

निर्वाचन कार्यालयका अनुसार १२ वटा दलबाट मात्र उम्मेदवारी परेको छ । यसैगरी एउटा स्वतन्त्र उम्मेदवारी परेको छ । निर्वाचनका लागि सबै मतदान स्थलमा मंगलबार निर्वाचन अधिकृत खटिइसकेका छन् । निर्वाचन सामग्री लिएर सम्बन्धित मतदान स्थल पुगिसकेको प्रजिअ पौडेलले बताए ।

स्थानीय तह निर्वाचन २०७९

प्रतीक्षा

Link copied successfully