नेपालगन्ज — एक महिने रोजा सकिएको अन्तिम दिन गत मंगलबार बिहान इस्लाम धर्मावलम्बीहरू सामूहिक नमाज पढ्न व्यस्त थिए । इदगाहमा इस्लाम धर्मावलम्बीहरूको बाक्लो उपस्थिति थियो । वरपर मुस्लिममात्रै होइन, अन्य धर्म र सम्प्रदायका मानिसहरू समेत थिए । मुस्लिमहरूको धार्मिक उत्सव भए पनि त्यहाँ चुनावी माहोल देखिन्थ्यो ।
बीपी चोक वरपर उम्मेदवारहरूले झकिझकाउ हुने गरी प्रचार सामग्री टाँगेका थिए । त्यही बेला नेपालगञ्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवारहरू भने नमाज पाठ अन्त्य हुने समय पर्खिरहेका थिए ।
उस्तै–उस्तै कुर्था पाइजामा, मुस्लिम समुदायको पहिचान झल्किने टोपी । भीडमा को हिन्दु ? को मुस्लिम ? छुट्याउन मुस्किल हुन्थ्यो । चुनावी दौडमा रहेका उम्मेदवारहरूले मुस्लिम समुदायका धार्मिक अगुवाहरूसँग गला मिलाए, त्यही भोट माग्न थाले । धार्मिक तथा सांस्कृतिक विविधताले युक्त पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगञ्ज उपमहानगरपालिकाको निर्वाचनमा उम्मेदवारहरू यसै गरी धार्मिक तथा सामाजिक सद्भावको मत आफूतिर तान्ने अन्तिम कसरतमा छन् ।
राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर भन्छन्, ‘नेपालगञ्ज सिंगो नेपालझैँ विविधतायुक्त छ ।’ पछिल्लो इतिहास कोट्याउँदा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले ‘इस्ट इन्डिया कम्पनी’ शासकलाई रिझाएबापत पाएको भूमि हो यो । सन् १८६१ मा तत्कालीन भारतमा भएका विद्रोहमा दमन गर्न सघाएबापत अंग्रेजले यसअघि नेपालले गुमाएका भूभाग बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता दिएका थियो ।
त्यसपछि यो सुदूरपश्चिम र कर्णालीसहितका २४ जिल्लाको केन्द्र बन्यो । कुनै बेला काठमाडौ, विराटनगर र वीरगञ्जपछिको प्रमुख सहरको रुपमा चिनिएको नेपालगञ्ज अहिले पछि पर्नुमा दूरदर्शी र प्रभावशाली नेतृत्व नहुनुलाई कारण मान्छन् नेपालगञ्जवासी ।
‘यहाँ बसोबासका लागि कोही दुई सय वर्ष पहिले आए, कोही पछि आए, यो सहर सांस्कृतिक विविधतायुक्त छ, तर यहाँको आदिवासी कोही पनि छैन,’ विश्लेषक पिटर भन्छन्, ‘यो धार्मिक र सांस्कृतिक रूपमा निकै संवेदनशील सहर हो, त्यहीकारण अहिले सामाजिक सद्भावसहितको नेतृत्व चुन्ने तयारीमा छ ।’ उम्मेदवारहरूले सामाजिक सद्भाव बढाउने एजेन्डामात्रै होइन, त्यही विविधताको फाइदा उठाएर चुनाव जित्ने रणनीति समेत अपनाएका छन् ।
३० वैशाखमा हुने स्थानीय चुनावका लागि यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी, सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा छ । नेपालगञ्जको राजनीतिमा अहिले केन्द्रीय राजनीतिका दुई नेताको प्रतिस्पर्धा छ– एकातिर धवल शम्शेर राणा, अर्कोतिर मोहम्मद इस्तियाक राई । पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका पूर्वसभापति सुशील कोइरालापछि नेपालगञ्जबाट राष्ट्रिय राजनीतिमा क्रियाशील यी दुई नेताले यसपटकको निर्वाचनबाट आफ्नो जग बसाउने प्रयास गरिरहेका छन् ।
अहिलेसम्म आफैंले नेतृत्व गरेका कारण राप्रपा महामन्त्री राणाको जोडबल झन् धेरै छ । उनी ०५४ र ०७४ का दुवै निर्वाचनमा दल फेरेर पनि मेयर निर्वाचित भएका एक्ला नेता हुन् । विश्लेषकहरू यसपटक धवलले नेपालगञ्जको मेयर लड्न मन नगरेको बताउँछन् । धवलको जोडबल आफ्नो विरासत बनाउनमा केन्द्रित देखिन्छ । उनी अहिले उपमहानगरमा आफ्नो मान्छे जिताएर संघमा सहज वातावरण बनाउन बल लगाइरहेका छन् । राप्रपाले मेयरमा नन्दुलाल वैश्य र उपमेयरमा विन्दु चर्तीमगरलाई उठाएको छ ।
अर्कोतिर बाँके–२ बाट निर्वाचित जसपाका नेता राई पनि नेपालगञ्जमा गठबन्धनलाई जिताउनै पर्ने दबाबमा छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले केन्द्रबाटै तालमेल गरिदिए पछि उनले चर्को असन्तुष्टि पोखेका थिए । केन्द्रबाट दबाब भएपछि अहिले गठबन्धनको झगडा साम्य छ । गठबन्धनले मेयरमा कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्धिन राईलाई मैदानमा उतारेको छ ।
यता एमालेबाट भने बाँके–३ मा राईसँग पराजित नेता पशुपति दयाल मिश्रा मेयर उम्मेदवार छन् । एमालेले मेयरमा मिश्रा र उपमेयरमा शान्ति ढकाललाई उठाएको छ । यीबाहेक मेयरमा १५ जना र उपमेयरमा ७ जनाको उम्मेदवारी छ । सबै उम्मेदवार धार्मिक तथा सांस्कृतिक मत आफूतिर तान्ने ध्याउन्नमा छन् ।
नेपालगन्जलाई ‘सद्भावको नमुना सहर’ का रूपमा लिइन्छ । धार्मिक तथा जातीय द्वन्द्वले राष्ट्रलाई नै कमजोर बनाउने भन्दै यहाँका धार्मिक अगुवाहरू सद्भाव कायमका निरन्तर प्रयासरत छन् । तर कहिलेकाहीँ राजनीतिक नेतृत्वले सद्भाव बिथोल्ने प्रयास गरिरहेको आरोपसमेत लाग्ने गरेको छ ।
कांग्रेसका मेयर उम्मेदवार प्रशान्त विष्ट नेपालगञ्ज पहिलेजस्तो विभाजित मानसिकतामा नभएको दाबी गर्छन् । ‘मेरो पहिलो प्राथमिकता नेपालगञ्जमा सामाजिक सदभाव कायम गर्ने नै हो, तर नेपालगञ्ज अब पहिलेको जस्तो विभाजित छैन,’ उनले भने, ‘हाम्रो पाँच दलीय गठबन्धनको पक्षमा माहोल छ, मुख्य प्रतिस्पर्धी नै गठबन्धनमा एकजुट भएका छौँ, अरुसँग प्रतिस्पर्धा छैन ।’
एमाले उम्मेदवार मिश्राले पनि नेपालगञ्जले अहिले विकासप्रेमी नेता चयन गर्ने बताए । ‘अब नेपालगञ्जमा जातीय रूपमा मात्र भोट आउँछ भन्नु मुर्खता हो । जनताले अहिले विकास गर्ने नेतृत्व खोजेको छ । विकास भित्र्याउने नेतृत्व रोजेको छ,’ उनले भने, ‘नेपालगञ्जको सामाजिक सद्भावलाई जोगाउँदै आएको म त्यो भिजनसहित अघि बढेको छु ।’
राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले पनि अब धार्मिक रूपमा कुनै विभाजन नहुने बताए । ‘म हरेक जात र धर्मको सम्मान गर्छु । मैले हरेक समुदायको पर्वलाई सम्मान गरेको छु, त्यो भोटका लागि मात्रै होइन,’ उनले भने, ‘मेरो विगतको काम हेरेर जनताले मलाई चुन्छन् भन्ने विश्वास लिएको छु ।’ उम्मेदवारहरूले धार्मिक रूपमा विभाजनभन्दा संगठन, सिद्धान्त र नेता हेर्ने अडान लिए पनि सामाजिक सद्भावको एजेन्डा भने छोडेका छैनन् ।
राजनीतिक विश्लेषक प्राध्यापक डा. जनार्दन आचार्य भने नेपालगञ्जको चुनावी परिणाम यहाँको धार्मिक र सांस्कृतिक झुकावबाट प्रभावित हुने अवस्था नटरेको बताउँछन् । ‘उम्मेदवारले सामाजिक सद्भावको नारा लगाएका छन्, तर यथार्थ त्योभन्दा फरक देखिन्छ,’ उनले भने, ‘यो भारतसँग सीमा जोडिएको मधेसी मुस्लिम बाहुल्य सहरमात्रै होइन, योगी आदित्यनाथले नेतृत्व गरेको उत्तर प्रदेशसँग जोडिएको सहरसमेत हो, त्यसैले यहाँको चुनावमा त्यसको प्रत्यक्ष प्रभाव पर्छ । धार्मिक सांस्कृतिक मत कसरी पोलराइज हुन्छ ? त्यसले निर्णायक भूमिका खेल्छ, त्यो मतदानको अघिल्लो दिनसम्ममा मात्रै थाहा हुन्छ ।’
स्थानीयवासी तथा धार्मिक संघसंस्थाका प्रमुखहरू भने धार्मिक रूपमा प्रभावित गर्ने दलका एजेन्डाप्रति असन्तुष्टि व्यक्त गर्छन् । धार्मिक तथा समाजिक सदभाव मञ्चका उपाध्यक्ष मौलाना जब्बार मन्जरी जाति धर्मका नाममा भोट हाल्दा त्यो समुदाय, विकास र राष्ट्रका लागि हानिकारक हुने बताउँछन् ।
‘दलहरूले खुलेर जात धर्मका नाममा भोट नमागे पनि भित्री रूपमा त्यसको त्यो परिपाटी अन्त्य भएको छैन । यसले सामाजिक सद्भाव कायम गर्ने होइन, बिथोल्ने काम गर्छ,’ धार्मिक तथा सामाजिक सद्भाव मञ्चका उपाध्यक्ष मन्जरीले भने, ‘उम्मेदवार कस्तो किसिमको हो, उसले कस्तो विकास गर्न सक्छ । ऊ पैसा कमाउन आएको हो कि काम गर्न त्यो छुट्याउन सक्नुपर्छ । पार्टी र उम्मेदवार हेरेर भोट हाल्नुपर्छ ।’
नेपाल शिव सेना अध्यक्ष राजकुमार रौनियारले दलहरूले धार्मिक मतलाई आफूतिर तान्न त्यही ढंगको प्रचारशैली अपनाएको बताए । ‘भोटका लागि जातका नाममा, धर्मका नाममा उम्मेदवार खडा गर्ने परिपाटी नै गलत हो । यसरी दलहरु नै सद्भाव बढाउने भन्दै बिथोल्ने काम गर्दैछन्,’ उनले भने ।
नेपालगञ्जको मेयर बन्ने दौडमा रहेका विष्ट, मिश्रा र वैश्य तीनै जना पार्टीबाहेक सामाजिक रूपमा भने चिरपरिचित होइनन् । तर, फेरि पनि विगतको मतभार हेरेर अहिलेको अवस्था आकलन गर्न सकिने अवस्था छैन । मुख्य प्रतिस्पर्धी तीन जनामध्ये एकले अर्काको भोट काट्ने अवस्था रहेको विश्लेषक आचार्य बताउँछन् ।
‘मान्छेले पार्टी, सिद्धान्त र संगठन भनेरमात्रै भोट गर्ने अवस्था रहेन । यो स्थानीय चुनाव हो । अर्को पार्टीको उम्मेदवार छिमेकी, नातेदार वा आफ्नै परिवारको समेत हुनसक्छ । त्यसैले अहिलेको भोटिङ प्याटर्न पहिलेको जस्तो नहुनेवाला छ,’ उनले भने, ‘गठबन्धनमा असन्तुष्टि छ, राप्रपा र एमालेले नवप्रवेशीलाई उठाएका छन् ।’
राप्रपाका उम्मेदवार ७ वैशाखसम्म माओवादी केन्द्रबाट मेयरका आकांक्षी थिए । तर, त्यो दिन गठबन्धनले मेयर कांग्रेसले लिने निर्णय गरेपछि उनी ८ वैशाखमा राप्रपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष भइसकेका वैश्य माओवादी केन्द्रका नगर कमिटी सहसचिव थिए । दशकअघि मात्रै राजनीतिमा आएका व्यापारी वैश्य व्यापारीमाझ राम्रो घुलमिल भएका र हिन्दु राज्यको एजेन्डा लिएको पार्टीबाट उम्मेदवार बनेका कारण उनले गठबन्धनको भोट खोस्ने देखिन्छ । राप्रपा महामन्त्री धवलशम्शेर उनको त्यही सबलताका आधारमा आफ्नो विरासत बलियो बनाउने रस्साकस्सीमा छन् ।
एमाले उम्मेदवार मिश्रा भने यसअघि पटक–पटक संघीय संसदको सदस्यका लागि चुनाव लडिसकेका नेता हुन् । उनी हृदयेश त्रिपाठी समूहमा थिए । तर, हाल एमाले प्रवेश गरेर नेकपा एमालेको केन्द्रीय सदस्य छन् । उनी ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेसँग तालमेल गरेर स्वतन्त्रतर्फ सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार थिए । त्यसअघि ०७० र ०६४ मा पनि उनी संघीय सांसदको उम्मेदवार थिए ।
कांग्रेसका विष्ट भने नेपालगञ्ज नगर कार्यसमितिमा तीन पटक सभापति भएका नेता हुन् । उनी अहिलेसम्म पार्टीबाहेक कुनै पनि सार्वजनिक पदमा छैनन् । उनी बाँके नेविसंघका पूर्वअध्यक्ष हुन् ।
अघिल्लो निर्वाचनमा राप्रपाबाट राणाले मेयर जित्दा १२ हजार ५१२ मत पाएका थिए भने निकटतम प्रत्याशी कांग्रेसका सुरेशकुमार कनोडियाले ८ हजार ७३० मत ल्याएका थिए । एमालेका समसुद्धिन सिद्धिकीले ६ हजार ९६५, नेकपा माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १९८, संघीय समाजवादी फोरमका कमरुद्धीन राईले ५ हजार ४४१ र मधेसी जनअधिकार फोरमकी ऋतु शाहीले ६४७ मत पाएका थिए ।
अहिले कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा छन् । गठबन्धनमा इमान्दारिपूर्वक मतदान भए कांग्रेसका विष्ट बलिया देखिन्छन् । तर, गठबन्धनमा त्यस्तो हार्दिकता देखिँदैन । ‘मेयर र उपमेयरमा गठबन्धन गरेका दल २३ वटै वडामा एक्ला–एक्लै भोट माग्दैछन् । त्यसले मतदातालाई अल्मल्याउँछ, धेरै भोट बदर हुने देखिन्छ,’ विश्लेषक आचार्यले भने ।
पाँच दलको गठबन्धन र अन्य उम्मेदवारीको पार्टी अदलबदलका कारण नेपालगञ्जमा सैद्धान्तिक प्रतिस्पर्धा खास देखिँदैन । त्यहीकारण उम्मेदवारहरू धार्मिक रूपमा विभाजित हुने मतमा केन्द्रित छन् ।
जसपाका नेता मोहम्मद इस्तियाक राईले भने गठबन्धनसँग अन्यको प्रतिस्पर्धा नै नहुने बताउँछन् । ‘केन्द्रबाट गठबन्धन गर्ने निर्णय भयो । नत्र यहाँ जसपा र कांग्रेस मुख्य प्रतिस्पर्धी हुन् । अब मुख्य प्रतिस्पर्धी नै एक ठाउँमा भएपछिको प्रतिस्पर्धा के रोचक हुन्छ र ?,’ उनले भने ।
गठबन्धनबाट जसपाका लागि उपमेयर उम्मेदवार राई जसपाका जिल्ला अध्यक्ष हुन् । सांसद राई उपमहानगरपालिकामा गठबन्धन जिताउने र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो सीट सुरक्षित गर्ने दाउमा छन् । यसपटकको निर्वाचनमा उपमहानगरपालिकामा ८१ हजार ७४५ मतदाता छन् ।
के भन्छन् मेयरका प्रत्याशी ?
प्रशान्त विष्ट, मेयर उम्मेदवार, नेपाली कांग्रेस
यो सद्भावको सहर हो । सदभावको नमुना सहर पनि हो नेपालगन्ज । त्यसैले मेरो पहिलो प्राथमिकता सामाजिक सदभाव कायम गर्ने नै हो । मैले स्वास्थ्यलाई प्राथमीतामा राखेर पूर्वाधार निर्माण गर्नेछु । वडा तहमा विकास पुगेको छैन, ती वडाहरु अहिले पनि सहरसँग जोडिएका छैनन् । त्यस्ता वडाको विकासका लागि पहल गर्छु । सामाजिक सुरक्षा लिन घण्टौँ लाइनमा उभिनुपर्ने समस्यालाई गर्ने बैंकिङ प्रणालीबाट वडा तहबाटै सेवा प्रवाह हुनेछ । हामीले कुनै जातिगत भोटको कुरा मात्र गरेका छैनौँ, सबै भोट हामीले सहजै हामीले प्राप्त गर्छौ । हामीले जुन उदेश्यले पाँच दलबीचको राष्ट्रिय रूपमै गठबन्धन गरेका छौँ, त्यसले यहाँ उत्साह ल्याएको छ । स्थानीय तहमा मात्रै होइन, भोलि संघीय निर्वाचनसमेत सबै गठबन्धनले जित हासिल गरेर गठबन्धन भएको छ, त्यसैले गठबन्धनमा अन्तरघात हुँदैन भनेर ढुक्क छु ।
पशुपतिदयाल मिश्रा, मेयर उम्मेदवार, नेकपा एमाले
म विकासका लागि काम गरेको व्यक्ति हुँ । विश्वविद्यालय र भेरी अस्पताल निर्माणमा आफूलाई पुष्टि गरिसकेको छु । नेपाल सामाजिक सद्भावको सहर हो । अब फेरि विगतको जस्तो यहाँ सद्भाव भड्काउने काम गर्न सक्दैन । अहिले नेपालगन्जले राम्रो लिडरसिप खोजेको छ, केन्द्रदेखि बजेट ल्याउन सक्ने त्यो क्षमता प्रर्दशन गर्न सक्ने व्यक्ति खोजेको छ । त्यसका लागि मेरा कामहरु नै त्यसका उदाहरण हुन् । समाजिक सदभाव बोलीमा मात्रै गरेर हुँदैन । एक दिन इदमा गला मिलेर होलीमा रङ दलेर हुँदैन । व्यवहारमा तपाईंले सामाजिक सदभाव गर्न गरेका प्रयासहरूले त्यो कुराको पुष्टि गर्छ । जातिय रूपमा मात्र भोट आउँछ भन्ने छैन् जनताले अहिले विकास गर्ने नेतृत्व खोजेको छ । विकास भित्र्याउने नेतृत्व रोजेको छ । नेपालगन्जलाई ग्रिन सिटी सोलर पावर, स्मार्ट सिटीको पूर्वाधार खडा गर्ने, उपमहानगर लाई सुशासनयुक्त र भ्रष्टाचार शून्य बनाउने काम गर्नेछु ।
नन्दलाल वैश्य, मेयर उम्मेदवार, राप्रपा
म हरेक जात र धर्मको सम्मान गर्छु । मैले हरेक समुदायको पर्वलाई सम्मान गरेको छु, त्यो भोटका लागि होइन, यहाँको समाजिक सद्भाव बढाउन, र जोगाएर राख्नका लागि हो । हरेक दंगाहरूलाई साम्य पार्न मैले नेतृत्व गरेको छु । समुदायलाई मिलाएर राख्न अगुवाइ गरेको छु । समाजमा मैले खेलेको भूमिका नै मेरो जितको आधार हो । हामी नेपालगन्जको लखनउ जस्तो सुन्दर सहर बनाउन चाहन्छौँ । सफा सहरको रूपमा विकास गरेर पर्यटक आकर्षित गर्नेछौँ । औद्योगिक क्षेत्रलाई प्राथमिकता दिने, औद्योगिक राजधानीका रूपमा विकास गर्ने, नयाँ उद्योगका लागि कर नि:शुल्क बनाउने, महिलालाइ रोजगार दिने वातावरण बनाउन भूमिका खेल्नेछु । स्वास्थ्य हबका रूपमा रहेको भेरी अस्पताललाई मेडिकल कलेजको रुपमा परिणत गर्ने योजना छ ।
