नुवाकोटका मतदान केन्द्रमा मतपेटिका र मतपत्र लैजान थालियो

वैशाख २७, २०७९

कृष्ण थापा

नुवाकोट — स्थानीय तहको निर्वाचनका लागि कर्मचारीसहित मतपत्र, मतपेटी र सामाग्री मतदान केन्द्रमा लैजान सुरु भएको छ । मंगलबार जिल्लाको दुर्गम ग्रामिण क्षेत्रमा खटिने मतदान अधिकृतसहित मतपत्र बोकेर जान थालेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नुवाकोटका लागि आएको ५ सय २४ थान मतपेटीका मतदान केन्द्र अनुसार छुटै सेतो कपडामा बेरेर पठाउने थालिएको छ । जिल्लामा १ सय ३२ मतदानस्थल र २ सय ८७ मतदान केन्द्र छन् । ती केन्द्रमा चाहिने मतपेटीका, मतपत्र, छेकबार, स्वस्तिकछाप, मसी, कलम, टेप, छाप लगाउने प्याड, साइन पेन, डोरी, मास्क, सेनीटाइजर लगायतका सामाग्री छन् । टाढा मतदान केन्द्र रहेका बसुन्चेत, घ्याङफेदी, गोल्फुभन्ज्याङ, तलाखु, दाङसिङ, कुमरी, भाल्चे, किम्ताङ लगायतका स्थानमा मतपेटी र मतदान सामग्री पठाउन थालिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले बताए ।

वर्षा हुने क्रम नरोकिएकाले गाउँका सडक पानीले भत्किने र मतपत्र भिज्नबाट समयमै मतदान केन्द्रमा पठाउन लागेको उनले बताए । त्यसैगरी ती सामाग्रीको साथमा नेपाल प्रहरी र म्यादीले सुरक्षा दिएर लैजाने छन् ।

मतदानस्थलमा सशस्त्र प्रहरी प्रत्येक मतदानस्थलमा पुगिसकेको छ । सरकारले तोकिएको भाडादरमा सवारी साधनले नमानेपछि मतदान अधिकृतले आफ्नै खर्चमा मोटरसाइकल समेत ढुवानी गर्न बाध्य छन् । मतदान सामाग्री ढुवानीको सरकारी दररेट एक हजार रुपैयाँ रहेको कर्मचारीले बताएका छन् । नुवाकोटमा २ लाख २१ हजार १६१ मतदाता छन् । 

कृष्ण

Link copied successfully