विराटनगर — मोरङको पुरानो सदरमुकाम रंगेली ६ साहु टोलका ९५ वर्षीय मुसरु साह २००५ सालमा तत्कालीन रंगेली५ का वडा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि उनी २००२ सालमा तत्कालीन शासकबाट वडा अध्यक्षमा मनोनित भएका थिए ।
२०३३ साल पुस १९ गते नेपाली नागरिकता लिएका साहको नागरिकतामा त्यसबेला ४९ वर्ष उमेर कायम गरिएको छ । आफू उम्मेदवार हुँदा जनतासँग डर लाग्थो । त्यसबेला झुटा आश्वासन दिने सवाल नै थिएन । 'अहिलेका उम्मेदवारले झुटा आश्वासन दिएर जनतालाई भुलाएर दिक्क लगाउँछन् । विकास र समृद्धिका आश्वासन दिन्छन् । विगत असी वर्षदेखि यहाँ उम्मेदवारले यस्तै आश्वासन दिँदै आएका छन्', मुसरुले भने, 'तर अहिलेसम्म पूरा भएको छैन ।'
२०१५ सालको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसका विश्वेश्वरप्रसाद कोइरालालाई भोट दिएको बताउने उनले अहिलेका उम्मेदवारले मतदातालाई खरिद गर्दा निर्वाचित भएपछि जनताप्रति इमानदार नभएको गुनासो गरे । पहिला मतदाता विकास र इमानदारीका नाममा भोट दिन्थे । उनले भने अहिले भोजका नाममा भोट दिँदा राजनीतिमा विकृति सुरु भएको हो ।
रंगेली ६ कै ९१ वर्षीय दिनेशचन्द्र साह पनि उम्मेदवारका झुटा आश्वासनले दिक्क भएका छन् । २०१५ सालको आम निर्वाचनदेखि निर्वाचनको अनुभव बटुलेका उनले भने यो उमेरसम्म आइपुग्दा चुनावका बेला आश्वासन दिने एउटै उम्मेदवारले वाचा पूरा गरेको पाएको छैन । २०३२ साउन १८ गते नागरिकता लिएका देवचन्द्र त्यसबेला ४४ वर्षका थिए । 'भोट माग्न जो पनि आउँछ ठूला ठूला आश्वासन मात्र दिन्छन् । जितेपछि फर्केर आउँदैनन्', दिनेशचन्द्रले विगत सम्झँदै भने, 'उसबेलाका उम्मेदवार मतदातासँग विकासका कुरा गर्थे । अहिलेका उम्मेदवार घरघरमा मासुका पोका र पैसाका बिटा लिएर भोट माग्न आउँछन् । दुई टुक्रा मासु, भोज र पैसामा भोट बिक्री हुन्छ । अनि त्यो नेताले चुनाव जितेपछि के काम गर्छ ?'
विराटनगर ५ की ८८ वर्षीय कमलादेवी रेग्मी पनि अहिलेको राजनीतिमा विकृति आएको गुनासो गर्छिन् । 'नेताहरु भोट माग्न मात्र आउँछन् । जितेपछि फर्केर आउँदैनन् ', रेग्मीले भनिन्, 'जनप्रतिनिधिहरु जनता र देशप्रति इमान्दार छैनन् । उम्मेदवारहरु जसरी भएपनि चुनाव जित्ने रणनीतिमा हुन्छ । जितेपछि कमाउनमा व्यस्त हुन्छन् ।' उनका अनुसार नेताहरुका लागि राजनीति कमाइ खाने भाँडो भएको छ ।
जहदा ६ महादेवकोलका ८८ वर्षीय वसन्तलाल यादव पनि अहिलेको निर्वाचन पद्धतिप्रति असन्तुष्ट छन् । 'हरेक चुनावमा उम्मेदवार मिठा आश्वासन दिएर भोट माग्ने परम्परा नै भयो । चुनाव सकिएपछि फर्केर पनि आउँदैनन् । ७० वर्षयताका सबै चुनाव भोगेको छु,' उनले भने, 'कुनैपनि उम्मेदवारले आश्वासन पूरा गरेको पाइएको छैन ।' सात दशक यताका प्राय: सबै उम्मेदवारले महादेवकोलदेखि सीमावर्ती डुमरियासम्म जोड्ने सडक बनाउने आश्वासन दिँदै आएकामा उनले भने, 'तर अहिलेसम्म यो तीन किलोमिटर सडकमा सुधार आएको छैन ।'
