काठमाडौँ — लेले टिकाभैरव निवासी गोदावरी नगरपालिकाका मेयरका लागि एमालेका प्रत्याशी गम्भीरबहादुर राणा २०७४ सालको चुनावमा गोदावरी नगरपालिका ६ बाट निर्वाचित वडा सदस्य हुन् । उनले आफूलाई जनताले जिताएमा लेले नल्लु क्षेत्रमा मापदण्डविपरीत सञ्चालित खानी तथा क्रसर उद्योग व्यवस्थापन, बज्रबाराही अस्पताल एक सय शय्या क्षमताको बनाउने, राजस्व संकलन गर्ने नाममा जनताको ढाड सक्ने किसिमले कर नउठाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।
राणाको उम्मेदवारी, एजेन्डा र योजनाबारे कान्तिपुर दैनिकका प्रशान्त मालीले गरेको कुराकानीको सम्पादित अंश :
२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनपछि गोदावरी नगरपालिकाका जनप्रतिनिधिले सम्हालेपछिको यो ५ वर्षलाई तपाईंले कसरी मूल्यांकन गर्नुभएको छ ?
पहिला त ईकान्तिपुर र कान्तिपुर पत्रिकालाई धन्यवाद दिन चाहन्छु । वास्तवमा २०७४ सालदेखि अहिलेसम्म समग्र गोदावरीमा हेर्दा विकास निर्माणका काम खासै भएको देखिँदैन ।
अहिले तपाईं मेयरको प्रत्याशी हुनुहुन्छ ? मेयरमा उम्मेदवारी दिनुपर्ने कारण के-के हुन् ?
म २०७४ सालदेखि जनप्रतिनिधि । मैले जिल्ला समन्वय समितिमा काम गरेँ । योभन्दा अगाडि २०७४ सालमा पनि जिल्ला समन्वय समितिमा प्रमुखको दाबेदारको रूपमा रहिरहँदा त्यसमा नेकपा माओवादी र कांग्रेसको गठबन्धन भएर हामी रिङबाहिर पर्यौं । अहिले गोदावरी नगरपालिकाकै वडा नम्बर ६ को जनप्रतिनिधिको हैसियतले गोदावरीमा काम गरिरहेको र त्यसैलाई निरन्तरता दिनका लागि पनि मेयरको उम्मेदवारी दिएको छु ।
मतदाताले तपाईंलाई जिताउनुपर्ने कारण के-के हुन् ? जित्नुभयो भने के-के गर्ने योजनामा हुनुहुन्छ ?
नेकपा एमालेका उम्मेदवारलाई अहिले देशभर लहर आएको छ । नेकपा एमालेले बोलेको काम पूरा गर्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, ढल, बाटो, किसानका समस्या, वृद्ध, एकल महिला र दलितका सम्पूर्णका काम गर्ने नेकपा एमाले नै हो भनेर जनताले मूल्यांकन गरेर मलाई भोट हाल्नुहुन्छ भनेर पूर्ण विश्वास छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा के-के गर्ने योजना छ ?
बज्रबाराही अस्पताललाई एक सय बेड क्षमताको बनाउने‚ नगरपालिकाभित्रका मानिसलाई ५० प्रतिशत छुट दिने र यो अस्पताल स्तरोन्नति गरेर महँगा महँगा अस्पताल जान नपर्नेगरी स्वास्थ्यमा सुधार गर्छु । शिक्षामा केहि कमजोरी छ । जस्तैः शिक्षकहरू बेलामा नआउने गुनासो आइरहेको छ । बोर्डिङको दाँजोमा शिक्षालाई लैजान प्रयत्न गर्छु । विकट ठाउँमा दिवा खाजा दिएर हुन्छ कि के गरेर हुन्छ‚ शिक्षालाई गुणस्तरमा लैजाने प्रतिबद्धता जनाउन चाहन्छु ।
अहिले तपाईंले नगरपालिकामा देखा परेका मुख्य समस्या के के हुन् ?
अहिले नगरपालिकामा देखा परेको मुख्य समस्या भनेको बाटो, प्लटिङ, प्रतिजग्गा व्यवस्थापनमा समस्या, कतिपय ठाउँमा जग्गा ननापिएको अवस्था छ । जस्तै: गोदावरी नगरपालिका ७ देवीचौरमा जग्गा नापिएको छैन । अन्य खानेपानी, ढल, बाटोको पनि समस्या छ ।
ती समस्या समाधान गर्न छुट्टै त्यस्तो विशेष योजना बनाउनुभएको छ ?
ती समस्या समाधान गर्न आफ्नो गोदावरी नगरपालिकाको स्रोत साधनले नभ्याएमा प्रदेश र केन्द्र सरकारको बजेट ल्याएर भए पनि यो काम गर्ने प्रतिबद्धता जनाउन चाहन्छु ।
कला‚ संस्कृति‚ सम्पदा संरक्षण र प्रवर्द्धनका लागि त्यस्तो केहि विशेष योजना छ ?
बुद्ध भगवान चैत्य वडा नम्बर १२ र ११ मा पर्छ भने ७ र ८ नम्बरमा गुम्बाहरू पर्छन् । टिकाभैरव मन्दिर, लेलेको मनकामना, तिलेश्वर, गोदावरी कुण्ड, झरुवारासीको सन्तानेश्वर सम्पूर्ण देवालयको संरक्षण गर्ने प्रतिबद्धता पनि जनाउन चाहन्छु ।
तपाईंले प्रतिद्वन्द्वीलाई कसरी लिनुभएको छ ?
प्रतिद्वन्द्वीसँग त्यस्तो मनमुटाव गरेर उहाँहरूलाई गाली गरेर कसैलाई केही भनेको छैन । म आफ्नो तालले हिँडेको छु । नेकपा एमालेको घोषणापत्र सिद्धान्तअनुसार भएको र म एक सिपाही भएकाले गर्दा सिपाहीको रुपमा मात्र भोट मागिरहेको छु ।
गोदावरी नगरपालिकाको मुख्य समस्याको रूपमा लेले नल्लु क्षेत्रमा मापदण्डविपरीत सञ्चालित खानी तथा क्रसर उद्योग छन् । त्यसको व्यवस्थापनका लागि छुट्टै योजना बनाउनु भएको छ ?
ढुंगा, गिट्टी सम्पूर्ण चाहिने हुन्छ । जनतालाई चाहिने कारणले गर्दा हामीले बन्द गर्ने हेतुले लिएका छैनौं । जनताले सास्ती नपाउने जनताले दुःख नपाउनेगरी व्यवस्थित बनाउने छु । बाटो पनि बनाउने हो । धुवाधुलो नउड्नेगरी उद्योग कलकारखाना चल्नुपर्छ भन्ने मान्यता राख्छु ।
गोदावरी नगरपालिकाको आन्तरिक स्रोत निकै कम छ; राजस्व बढाउन त्यस्तो केहि भूमिका छ ?
कतिपयले करहरू बढी भयो भनिरहेका छन् । त्यस विषयमा समग्र रुपमा हेरेर काम गर्नेछु । जनताको ढाड सेक्ने काम मबाट हुँदैन भन्ने प्रतिबद्धता पनि जनाउन चाहन्छु ।
