निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने धेरै

वैशाख २६, २०७९

सुनिता बराल

महोत्तरी — महोत्तरीका सबैजसो पार्टीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुनावी प्रचारप्रसारलाई भड्किलो बनाउँदै लगेका छन् । 

निर्वाचन प्रचारमा बाललालिकाको प्रयोग, डीजे आतंक, पार्टीका पर्चा‚ पोसाक,भारतीय नम्बर प्लेटका सवारीको व्यापक प्रयोग गर्दै दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् भने जिल्लामा कार्यरत सरकारी कर्मचारीसमेत नेताका चुनावी प्रचारमा हिँडिरहेका छन् । 

मटिहानी नगरपालिकामा कार्यरत करिब दुई दर्जन कर्मचारीहरू निर्वाचन आचारसंहिताविपरीत एक जना मेयर पदका उम्मेदवारका लागि भोट माग्दै हिँडेको स्थानीयले बताएका छन् । स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ मा स्पष्ट रुपमा कुनै पनि राष्ट्रसेवक कर्मचारीले कुनै उम्मेदवारको पक्षमा भोट माग्न नपाउने, उम्मेदवारसँग जनतामाझ जान नपाइने तथा मतदातालाई प्रभावित पार्ने कुनै प्रकारको गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था छ । 

मटिहानी नगरपालिकामा कार्यरत कर्मचारीहरू भने नगरपालिकामा लोकतान्त्रिक पार्टी नेपाल (लोसपा) बाट मेयर पदका उम्मेदवार रहेका हरिप्रसाद मण्डलको पक्षमा भोट माग्दै गरेको तस्बिरहरू सार्वजनिक भएका छन् ।

नगरपालिकामा कार्यरत कर्मचारीहरू‚ स्वास्थ्य शाखामा कार्यरत हेमराज मण्डल, वडा नं. ५ का वडासचिव दिनेश यादव, वडा नं. ७ का वडा सचिव उमेश मण्डललगायत दुई दर्जनभन्दा बढी कर्मचारी आफ्ना काम छाडेरै निर्वाचनमा होमिएका छन् । 

निर्वाचनमा उम्मेदवारसँग हिँडेका कर्मचारीहरूले आफू कार्यालय समयमा नभएर अन्य समयमा हिँडेको स्विकारेका छन् । कतिपय कर्मचारीले भने नाम नभन्ने सर्तमा डर र धम्कीका कारण प्रचारप्रसारमा हिँडेको बताएका छन् । 

यता कर्मचारीले लोसपाका मेयर पदका उम्मेदवारका लागि भोट माग्दै गरेको विषयमा निर्वाचन अधिकृतको कार्यालय मटिहानी, मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वर, जिल्ला निर्वाचन कार्यालय महोत्तरी, जिल्ला प्रशासन कार्यालय महोत्तरीलगायत स्थानमा लिखित उजुरी दिए पनि अहिलेसम्म कुनै निकायले पनि चासो नलिएको उनीहरूविरुद्ध उजुरी दिने अन्य दलका उम्मेदवारहरूले बताएका छन् ।

यस सन्दर्भमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भोट माग्न हिँडेका कर्मचारीलाई कारबाही हुनुपर्‍यो भनी लिखित रुपमै निवेदन परेको र यस विषयमा हो/होइन भन्नेबारे बुझ्ने काम भइरहेको बताए । छड्के चेक गर्दा अहिलेसम्म फेला नपारिएकाले कोही कारबाहीमा नपारेको उनी बताउँछन् ।

दलको प्रचारमा बालबालिका 
जिल्लाका सबै पालिकामा प्रमुख राजनीतिक दलले समेत चुनावी प्रचारमा बालबालिकालाई हिँडाएका छन् । दलको प्रचार पोसाक लगाउन र बालबालिकालाई निर्वाचनको प्रचारप्रसारमा हिँडाउन नहुने आचारसंहिता निर्वाचन आयोगले जारी गरेको भए पनि दलहरूले त्यसको पालना गरेका छैनन् ।

महोत्तरीको सम्सी गाउँपालिकामा एमालेको पार्टी प्रचारमा हिँडेका बालबालिका

बालबालिकालाई पार्टीका झण्डा बोकाएर हिँडाएका दलहरू बच्चालाई लिएर हिँडेको नभई उनीहरूलाई रमाइलो लागेर हिँडेको बताउँछन् । बच्चालाई आफ्नो पार्टीले लिएर नहिँडेको एमाले नेता गुन्ज खड्काले बताए । 

नेता/कार्यकर्ता भारतीय सवारीमै प्रचारप्रसारमा  
महोत्तरीमा निर्वाचनको मुखमा भारतीय नम्बर प्लेटका ७ हजार सवारी जिल्लामा भित्रिएका छन् । जिल्लामा भित्रिएका भारतीय सवारी यतिबेला दलहरूले निर्वाचनको प्रचारप्रसारमा प्रयोग गरिरहेका छन् । 

भारतीय नम्बरका सवारीमा उम्मेदवार एवं पार्टीले कुनै पनि दलगत झन्डा प्रयोग गर्न नपाउने नियम छ । तर‚ दलहरूले भारतीय नम्बरका गाडीमै आफ्नो दलको झन्डा फहराएर हिँडिरहेका छन् । महोत्तरीमा २ दिनदेखि १ हप्तासम्मको भन्सार लिँदै नेपालका जिल्लामा प्रवेश गरेका भारतीय नम्बर प्लेटका सवारी ७ हजारभन्दा बढी रहको जिल्ला भन्सार कार्यालय महोत्तरीका प्रमुख डिल्ली रमण सुवेदीले जानकारी दिए । भारतीय सवारी अघिपछिभन्दा बढी संङ्ख्यामा जिल्लामा भित्रिरहेको सुवेदीले बताए । 

स्थानीय तह निर्वाचन २०७९

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully