ब्यासमा हेलिकोप्टरबाट निर्वाचन सामग्री र कर्मचारी पठाइयो

वैशाख २६, २०७९

मनोज बडू

दार्चुला — ब्यास गाउँपालिका–१ को छाङरु र तिंकर मतदान केन्द्रमा हेलिकोप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइएको छ । स्थलमार्गबाट ब्यासमा पुग्ने नहुँदा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली सेनाको हेलिकोप्टरको व्यवस्था गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

नेपाली भूमिबाट सो क्षेत्र जान बाटो नभएका कारण हेलिकोप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनका अनुसार छाङरु र तिंकरको मतदान केन्द्रका लागि आवश्यक मतपत्र, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरुलाई पठाइएको छ ।

मतदान अधिकृतसहति दुइटा मतदान केन्द्रका लागि ४/४ जना कर्मचारी र सीमा प्रहरीचौकी तिंकरका ७ जना प्रहरी कर्मचारीहरु हेलिकोप्टरमा पठाइएको हो । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार छाङरुको कैलाशपति आवासीय विद्यालय केन्द्रमा ३७५ र तिंकरको आवासीय विद्यालय र मोति महिला संघ केन्द्रमा २३१ मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन २०७९

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully