‘मेयरसाब, पाँच वर्षमा के गर्नुभो ?’

विवादित कार्यकालका कारण निवर्तमान जनप्रतिनिधिलाई चुनाव जित्न कठिन

वैशाख २६, २०७९

रौतहट — राजदेवी नगरपालिकाका निवर्तमान प्रमुख धीरेन्द्र सिंह पुनः प्रमुख पदको उम्मेदवार छन् । बिहीबार नगरको १ नम्बर वडामा घरदैलो कार्यक्रममा सहभागी उनलाई स्थानीयले भने असन्तुष्टि व्यक्त गरे । पांच बर्षे कार्यकालमा केही गर्न नसकेको मतदाताको आरोप थियो । वडा १ स्थित पथराटोल गाउँमा स्थानियले उनलाई गालीगलौज र दुर्व्यवहार गरेका हुन् । यसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 

सिंह मात्र होइन, पुनः उम्मेदवार बन्ने निवर्तमान जनप्रतिनिधि थुप्रै छन् । रौतहटका १८ स्थानीय तहमध्ये १४ वटाका निवर्तमान नगरप्रमुखहरू फेरि चुनावी प्रतिस्पर्धामा छन् । तर, उनीहरूले सोचेजस्तो जित भने सहज देखिएको छैन । घरदैलोमा जाँदा पाँच वर्षसम्म गरेको काम सोध्दै स्थानीयले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । ‘मेयर साब, पाँच वर्षसम्म के गर्नुभो’ भनेर स्थानीयले प्रश्न गर्दा उम्मेदवारहरूले सहज रुपमा उत्तर दिन सकेका छैनन् ।

लामो समय राजदेवीमा नगरपरिषद हुन सकेको थिए । कर्मचारीले तलब नपाएको भनेर आन्दोलनसमेत गरेका थिए । सिंहले अनियमितता गरेको भन्दै एक बर्ष अघि निवर्तमान उपप्रम्खु अन्शु सिंहले कार्यालयमै तालबन्दि पनि गरिन् । मतदाताले चुनावका बेला यही विषयमा सिंहलाई प्रश्न गर्दै आएका छन् । सिंहले केही गाउमा जादा बिपक्षिले नियतवश दुर्व्यवहार गरेको बताए । ‘बिपक्षिले गाली गलौज, दुर्ब्यबहार गरे । मेरो उचाई घटेको छैन् । बिकाश खल्तीमा राख्ने चिज होईन् । ५ बर्षमा मैले केके गरे भन्ने जनता सामु छर्लग छ,’ उनले भने, ‘मैले गल्ती गरेको भए मत नदिएर सजाए दिदा हुन्छ ।’ उनले शिक्षा स्वास्थ्य, सडक क्षेत्रमा काम गरेको दाबि गरे । सिंह कांग्रेसका उम्मेदवार हुन् । अन्शु एमाले, भिखारी साह समाजबादीबाट उम्मेदवार छन् । उनीहरू बिच कडा प्रतिस्पर्धा छ । 

वृन्दावन नगरपालिकाका निवर्तमान नगरप्रमुख रामस्नेही राय फेरी चुनावी मैदानमा छन् । उनलाई पनि यस पटक निकै सकस हुने देखिएको छ । काग्रेस प्रदेश समितिले सुरुमा यूवा नेता प्रेमशंकर यादबलाई टिकट दिएको थियो । तर भोलीपल्ट उनको टिकट खोसियो र रामस्नेहीलाई दिइयो । प्रेमशंकर काग्रेसको ठुलो जत्था बोकेर एमाले प्रवेश गरे र उम्मेदबार भए । रामस्नेहीलाई पनि जनताले उनका पाँचवर्षे कार्यकालबारे प्रश्न गर्दै आएका छन् । बृन्दावनमा कांग्रेस, एकिकृत समाजबादी, एमाले र माओबादी बिच कडा टक्कर छ । 

कटहरिया नगरपालीकाका निवर्तमान प्रमुख शियाराम कुशवाहा पनि फेरि उम्मेदवार बनेका छन् । तत्कालीन माओबादीबाट जितेका उनी कार्यकालको एक बर्ष जेल बसे । बिरगजमा भएको काशी तिवारी हत्या काण्डमा उनी जेल परेका हुन् । जेल मुक्त भए पछि उपप्रमुख नुरजहा खातुन सित टसल पर्‍र्यो । पुरा कार्यकालमा केही काम गर्न सकेनन् । अहिले कुशवाहा एमालेबाट उम्मेदबार छन् । 

फतुवा बिजयपुरका तत्कालीन नगरप्रमुख गोपालराय यादब सुरुदेखी बिबादमा परे । उनी र उपप्रमुख कान्तिदेबी साह बिचको झगडा पांच बर्ष सम्म चल्यो । यादबले कुनै काम गर्न नसकेको स्थानियको आरोप छ । उनी सित काग्रेसकै कार्यकर्ताहरू रुष्ट छन् । नगरपालीकामा माओबादी, एमाले र एकिकृत समाजबादी बिच प्रतिस्पर्धा छ । यादब पनि खुलेर मतमाग्न जान सकेका छैनन् । 

अघिल्लो चुनावमा जितेका गौर नगरपालीकाका प्रमुख अजय गुप्ता, ईशनाथ नगरपालीकाका एमालेका सन्तोष मेहता, गढीमाईका काग्रेसका श्याम यादब, परोहा नगरपालीकाका काग्रेसका शेख वकिल, बौधीमाई नगरपालीकामा जसपाका राजिव रन्जन, माधवनारायणमा जसपाका बिरेन्द्र यादब, मौलापुरमा एमालकी रिनादेवी साह, गुजरामा जसपाका शन्तलाल चौधरी, चन्द्रपुर नगरपालीकाका स्वतन्त्र उम्मेदबार रामचन्द्र चौधरी, दुर्गा भगवती गाउपालिकाका अध्यक्ष अरुण साह दोहोरिने दाउमा छन् । उनीहरू अधिकाशलाई चुनाव जित्न सहज नभएको विश्लेषकहरूको भनाइ छ ।

स्थानीय तह निर्वाचन २०७९

Link copied successfully