धरानमा जसपाले गठबन्धनकै उम्मेदवारलाई सघाउने

वैशाख २०, २०७९

प्रदीप मेन्याङ्बो

सुनसरी — जनता समाजवादी पार्टी (जसपा) ले मंगलबार गठबन्धन दल कांग्रेसका मेयर उम्मेदवार किशोर राई र उपमेयर उम्मेदवार माओवादी केन्द्रका अइन्द्रविक्रम बेघालाई सघाउने सहमति गरेको छ ।

धरानमा गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रेर मतदाताको घरदैलो गरिरहेका बेला केन्द्रको दबाबपछि मेयर र उपमेयरको उम्मेदवारी दिए पनि गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने सहमति गरेको हो ।

मेयरमा ताजुव लिम्बू र उपमेयरमा विना पुमा राईसहित धरान उपमहानगरका १५ वटा वडाहरुमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएर जसपाले घरदैलौ कार्यक्रम गर्दै भोट मागिरहेको थियो । जसपाले अन्तिम समयमा आफ्नो मेयर र उपमेयर उम्मेदवार निष्क्रिय रहने र गठबन्धनलाई सहयोग गर्ने जनाए पनि यसअघि गठबन्धनका लागि १, २, ४, १३ र १४ वडा छाडेर धरानका १५ वटा वडाहरूमा उम्मेदवारी दिएका वडाध्यक्ष र वडा सदस्य भने कायमै राखेर गठबन्धनभित्रै मित्रवत प्रतिस्पर्धा गर्ने मेयरका निष्क्रिय उम्मेदवार ताजुव लिम्बूले बताए । ०७४ को निर्वाचनमा धरानमा तत्कालीन संघीय समाजवादी (हाल जसपा) को उपमेयर उम्मेदवारले ५ हजारको हाराहारीमा भोट ल्याएको थियो ।

धरानमा लोकतान्त्रिक वाम गठबन्धन दलबीच नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राई र उपमेयरका उम्मेदवार अइन्द्रविक्रम बेघालाई जिताउने ७ बुँदे सहमति भएको छ ।

स्थानीय तह निर्वाचन २०७९

प्रदीप

Link copied successfully