आचारसंहिता उल्लंघनमा मौखिक उजुरी बढ्दै

वैशाख २०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तह निर्वाचनका लागि तनहुँमा आचारसंहिता उल्लंघनविरुद्ध मौखिक उजुरी बढ्न थालेका छन् । राजनीतिक दलबाट निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन हुन थालेपछि जिल्ला निर्वाचन कार्यालयमा मौखिक उजुरी दिने क्रम बढेको हो ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार दैनिकजसो आचारसंहिता उल्लंघनका मौखिक उजुरी आउने गरेका छन् । 'मौखिक उजुरी आउने क्रम बढेको छ । लिखित रुपमा भने आएको छैन । उल्लंघनका उजुरी आएपछि सम्बन्धित पक्षलाई सचेत गराएका छौं' ढकालले भने ।

निर्वाचनका लागि प्रचारप्रसारका क्रममा चर्को आवाजमा प्रचार सामग्री बजाउने, गाडीमा स्टीकर टाँस्ने, ठूला झण्डा राखेर प्रचारप्रसार गर्ने क्रम बढेको छ । यसका साथै राजनीतिक दलको चुनाव प्रचारप्रसारमा शिक्षक तथा कर्मचारी सहभागी भएर आचारसंहिता उल्लंघन भइरहेको छ ।

तर आचारसंहिता कडाइ गर्न सुरक्षा निकायसँग छलफलको तयारी गरिएको ढकालले बताए । यस्तै नेपाल पत्रकार महासंघ तनहुँ शाखाले भने निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने पत्रकारको विवरण संकलन सुरु गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी तनहुँ शाखाले पत्रकारलाई आचारसंहितामा कडाइ गरेको हो ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully