जुम्ला — स्थानीय निर्वाचन २०७९ लाई मध्यनजर गर्दै जुम्लाको एक नगरपालिकासहित ७ गाउँपालिकामा नेकपा एमालले प्रतिaद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता पत्रमा कक्षा १२ सम्म नि:शुल्क शिक्षा र जिल्लाका प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गर्ने उल्लेख छ । नेकपा एमालेको जिल्ला पार्टी कार्यालय जुम्लामा पत्रकार सम्मेलन गर्दै चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका,तिला गाउँपालिकाले आफ्नो अनुकूलको घोषणापत्र सार्वजनिक गरेका थिए । उनीहरुका अधिकांश प्रतिबद्धता एकैनासका छन् ।
चन्दननाथ नगरपालिकाले कक्षा १२ सम्म शिक्षालाई अनिवार्य र नि:शुल्क बनाइने प्रतिबद्धता जनाएको छ । अध्यक्षका उम्मेदवार धर्मेन्द्र रोकायाले न्यून आय भएका, जेहेन्दार विद्यार्थीका लागि शैक्षिक राहतकोष स्थापना गर्ने बताए । डाक्टर, इन्जिनीयर, वन तथा कृषि प्राविधिक उत्पादनका लागि छात्रवृत्तिको बन्दोबस्त गर्ने, न्यून आएका विद्यार्थीको शैक्षिक सामाग्री नगरपालिकाले बेहोर्ने, कर्णाली प्राविधिक शिक्षालयलाई बहुप्राविधिक शिक्षालयका रुपमा स्तरवृद्धि गर्ने, हरेक वडामा एक पुस्तकालय, कम्प्युटर प्रयोगशाला, बालबालिका स्याहार केन्द्र स्थापना गर्ने, विद्यालयमा उपस्थित नहुने र राजनीति गर्ने शिक्षकलाई कारबाही गर्ने नीति लिइने उनको प्रतिबद्धता छ ।
एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिने, नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने, गाउँमा पक्की सडक, टोलटोलमा शुद्ध खानेपानी र ढल निकासको प्रबन्ध मिलाउने नीति लिइने नगरप्रमुखका उम्मेदवार रोकायाले जानकारी दिए । जीउलोलाई बचाएर पाखोमा बस्ती विकास गर्ने,बजार क्षेत्रमा हरित सडकको अवधारणा अघि सार्ने पनि उनको प्रतिबद्धता पत्रमा समेटिएको छ ।
एक घर एक धारा बनाउने, एक घर एक जुठेल्ना बनाउने, जुठेल्नाको फोहोर कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, प्रत्येक घरमा २ सय युनिट सम्मको बिजुली नि:शुल्क दिने, गाउँगाउँ कृषि सहकारी खोल्ने, टोलटोलमा हरित उद्यानको निर्माण गर्ने, गाउँमा होमस्टे, खस कला संस्कृतिको प्रचार केन्द्र निर्माण गर्ने प्रतिबद्धता नेकपा एमाले चन्दननाथ नगरपालिकाले गरेको छ ।
नेकपा एमाले तातोपानी गाउँपालिकाले प्रत्येक गाउँ सडक विस्तार गर्ने, सबै बस्तीमा फोरजी सेवा सञ्चालनमा ल्याउने, कक्षा ५ सम्म अंग्रेजी माध्यमको पठनपाठन गर्ने, पोलिटेक्निल विद्यालयको स्थापना र पालिकालाई विशेष कृषि क्षेत्रको रुपमा घोषणा पर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ ।
अध्यक्षका उम्मेदवार सुरतबहादुर शाहीले प्रत्येक वडामा कभर्डहल, जडिबुटी प्रबर्द्धन तथा प्रशोधन केन्द्रको स्थापना, पालिका स्तरीय ई पुस्तकालय, एक घर एक धारा र जुम्ला जाजरकोट जोड्ने सडक विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार तत्कालीन ताम्ती गाविसलाई विशेष क्षेत्रको रुपमा घोषणा गर्ने गरी प्रतिबद्धता पत्र बनाइएको छ ।
तिला गाउँपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै, प्राविधिक शिक्षामा जोड दिएको छ । अध्यक्षका उम्मेदवार रेशमबहादुर शाहीले सामुदायिक विद्यालयको सुधार गर्ने प्रतिबद्धता जनाए । सबै नागरिक स्वस्थ्य हुने, निरोगी तिलाको परिचय बनाउने, पालिकाभित्र सहज आवागमनका लागि दिगो यातायात पूर्वाधार निर्माण गर्ने, उन्नत कृषि उत्पादनमा जोड दिँदै किसानमा समृद्धि ल्याउने, विपद् जोखिम व्यवस्थापनमा सतकर्ता अपनाउँदै जेष्ठ नागरिक, बालमेत्री र अपाङ्गमैत्री गाउँपालिका बनाउने प्रतिबद्धता सार्वजनिक गरेका हुन् । सुशासनमा अब्बलता प्रदर्शन गर्दै भ्रष्टचारमुक्त तिला बनाउने अध्यक्षका उम्मेदवार शाहीले प्रतिबद्धता जाहेर गरेका छन् ।
जिल्ला सिँजा गाउँपालिकाले उच्च शिक्षाका लागि डाक्टर, इन्जिनीयर र प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि ५ लाख देखि १० लाखसम्म छात्रवृत्तिको व्यवस्था गर्ने प्रतिबद्धता वनाएको छ । गरिब विद्यार्थीलाई वार्षिक रुपमा पोसाक र शैक्षिक सामाग्री नि:शुल्क प्रदान गर्ने, सिंगा क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा स्थापित गर्ने नेकपा एमाले सिँजाका अध्यक्षका उम्मेदवार सुमन आचार्यले जानकारी दिए ।
एक विद्यालय एक नर्स कार्यक्रम ल्याउने, बच्चा जन्मने बित्तिकै बैंक खाना खोल्ने, छोरा जन्मेको खण्डमा ५ हजार र छोरी जन्मेका १० हजार रुपैयाँ जम्मा गर्ने र सिँजाका स्थानीय सडक कालोपत्रे गर्नेगरी प्रतिबद्धता पत्र सार्वजनिक गरेको अध्यक्षका उम्मेदवार आचार्यले बताए ।
कृषि, उद्योग, प्रर्यटन पुर्वधार नै सिंगा पालिकाको समृद्धिको आधार भएको भन्दै एमाले चुनावी प्रचारप्रसारमा मतदाताको घरदैलोमा पुग्ने गरेको उपाध्यक्षका उम्मेदवार कल्पना बुढाले बताइन् ।
