धनगढीमा दल भर्सेस स्वतन्त्र

गठबन्धन र मुख्य दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालको चुनौती, स्थानीय सरकार दलविहीन हुनुपर्ने उनको एजेन्डा मतदातामाझ चर्चामा 

वैशाख २०, २०७९

चित्रांग थापा, प्रकाश धौलाकोटी, मोहन बुडाऐर

धनगढी — देशभरजस्तै सत्ता गठबन्धन, एमाले र अन्य राजनीतिक दलले कैलालीको धनगढी उपमहानगरपालिकामा उम्मेदवारी दिएका छन् । तर, यहाँका मतदातामाझ दलका उम्मेदवार र एजेन्डाप्रति कुनै उत्साह छैन । दलको नेतृत्व छाडेर स्वतन्त्र उम्मेदवार बनेका व्यवसायी गोपाल हमालको उम्मेदवारीले हलचल मच्चाएको छ । 

धनगढीको प्रमुखमा पाँचदलीय गठबन्धनले कांग्रेसका नृपबहादुर वड र एमालेले रणबहादुर चन्दलाई उम्मेदवार बनाएको छ । कांग्रेसका केन्द्रीय सदस्य वड २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए भने स्वतन्त्र उम्मेदवार हमाल निकटतम प्रतिद्वन्द्वी थिए । माओवादी केन्द्र तेस्रो र एमाले चौथो दल थिए । त्यसबेला कांग्रेस एक्लैले प्रमुख र उपप्रमुख जितेको थियो । तर, यसपटक कांग्रेस र माओवादी केन्द्रसहितको पाँचदलीय गठबन्धन हुँदासमेत हमालको उम्मेदवारी गठबन्धनका लागि चुनौती बनेको छ । कांग्रेस उम्मेदवार वड अछामको दलित परिवारमा जन्मिएर संघर्ष गर्दै राजनीतिमा आएका नेता हुन् । धनगढीकै स्थानीय एमाले उम्मेदवार चन्द विद्यार्थी राजनीतिदेखि सक्रिय छन् । पार्टीको महानगर कमिटीमा बसेर काम गर्दे पार्टीको जिल्ला सचिव र उपाध्यक्ष भएर काम गरेका उनी स्वच्छ छवि र इमान्दार नेताका रूपमा परिचित छन् ।

वड र चन्द आफ्नो पार्टीले मात्रै धनगढीको विकासको नेतृत्व गर्न सक्ने दाबी गर्दै प्रचारमा होमिएका छन् । तर हमाल भने मतदातामाझ रहेको दलप्रतिको निराशालाई आफूतिर तान्न बल लगाइरहेका छन् । हमाल र चन्दले वडले उपमहानगरमा पाँच वर्षसम्म नेतृत्व गर्दा काम गर्न नसकेको आरोप लगाएका छन् भने वडले आफ्नो पाँचवर्षे कार्यकालबारे उठेका प्रश्न झेल्दै हिँडेका छन् । 

विगतका निर्वाचनको परिणाम हेर्दा कांग्रेसको गढ मानिन्छ यो क्षेत्र । यहाँको चुनावी नतिजा कांग्रेस सभापति एव‌‌ं प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवाको प्रतिष्ठासँग जोडिन्छ । २०७० को संविधानसभा निर्वाचनमा देउवाले यही क्षेत्रबाट चुनाव जितेका थिए । संघीय पुनःसंचरनापछि उपमहानगरबाहेक कैलारी गाउँपालिकाका दुई वडा मात्रै समेटिएको कैलाली क्षेत्र नं. ५ मा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा आरजु उम्मेदवार थिइन् । वाम गठबन्धनका कारण एमाले उम्मेदवार नारदमुनि रानाले चुनाव जिते । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आरजु यही क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छिन् । उपमहानगरको नतिजाले प्रतिनिधिसभा निर्वाचनको नतिजा निर्धारण गर्ने भएकाले प्रधानमन्त्रीपत्नी विश्वासपात्र वडलाई जिताएर जित सुनिश्चित गर्न चाहन्छिन् । एमाले उम्मेदवार चन्द भने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले जितेको र पार्टीको प्रभाव विगतभन्दा बढेको दाबी गर्छन् । त्यसमाथि गएको चुनावको गणितले अर्थ नराख्ने उनको दाबी छ । 

स्वतन्त्र उम्मेदवार हमाल २०७४ को निर्वाचनपछि विवेकशील साझा पार्टीसँग जोडिएका थिए । उनले पार्टीको सुदूरपश्चिम संयोजक भएर काम गरे । गत फागुन दोस्रो साता पार्टीबाट राजीनामा दिएर उपमहानगरको प्रमुखमा उम्मेदवारी घोषणा गरेका उनले अहिले दलमा रहेर भन्दा स्वतन्त्र रूपमा निर्वाचित भएर आफूले धनगढीको विकास गर्न सक्ने प्रतिबद्धता बाँड्दै छन् । दलले काम गर्न सक्दैनन् भन्ने उनको एजेन्डाले चर्चा पाएको छ । दलसँग रुष्ट मतदाता उनीतिर तानिएका छन् । 

वडा नं. ४ का स्थानीय नवराज भण्डारी राजनीतिक दलले अब विश्वास गर्ने ठाउँ नराखेको बताए । ‘हामीले दलमाथि विश्वास नगरेको होइन, सिद्धान्तमै विश्वास राखेर सक्रिय राजनीति पनि गरियो,’ उनी भन्छन्, ‘माओवादीले १० वर्ष युद्ध गरेर यतिका परिवर्तन आयो । अहिले त गणतन्त्र भन्छन् । तर, दलतन्त्र, नेतातन्त्र बढी हाबी भएको छ । नेता स्वार्थका लागि माओवादीदेखि राजावादीसम्म एकै ठाउँमा उभिन तयार छन्, हामी जनताले पटक–पटक धोका दिइसकेका ती नेताको पछि किन लाग्ने ?’ 

प्रदेशकै ठूलो व्यापारिक केन्द्र धनगढीका सहरी सडक जीर्ण छन् । वर्षामा बजारभित्रै खोलो पस्छ । उपमहानगरले खोलामा बढ्दो अतिक्रमणलाई व्यवस्थित गर्दै डुबान समस्या समाधानमा पहल गरेको छैन । सहर अस्तव्यस्त छ । फोहोरमैला र धूँवाधुलोले प्रदूषित छ । बजारभित्रै पिउने पानीको समस्या छ । मुक्त कमैया र सुकुम्बासीहरू सरकारको नजर पर्खिरहेका छन् । तर, स्थानीय सरकारले ती समुदायको आवश्यकतालाई छुन नसकेको मतदाताको गुनासो छ । ‘स्मार्ट सिटी बनाउँछु भन्ने उम्मेदवारले बजार क्षेत्रकै सडकको खाल्डोसमेत पुरेनन्, अहिले अस्पताल जाँदा पनि मुटु बाहिरै आउने गरी छचल्किन्छ,’ वडा नं. ४ का बासिन्दा चिरञ्जीवी बस्नेतले भने, ‘राजनीति त व्यापार भयो, चुनावमा लगानी गर्ने, पछि उठाउने । भुइँमान्छेका कुरामा दलले चासो दिएनन् ।’

सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राध्यापक हेमराज पन्त नागरिकमा दल र अहिलेको व्यवस्थाप्रतिको निराशा बढ्नुलाई स्वाभाविक भन्छन् । ‘पटकपटक व्यवस्था परिवर्तन भए तर अवस्था उस्तै छ । संघीयता आयो, गाउँगाउँमा सिंहदरबार आयो भनिएको छ । त्यसको आभाष नागरिकमा छैन,’ उनले भने, ‘यहाँको एउटा आम मान्छे, जसको हजुरबाबु पनि भारतमा दरबान थियो, बाबुले पनि त्यही गर्‍यो, अहिले छोरो पनि भारतमै दरबान बस्न बाध्य छ । त्यो वर्गलाई हेर्ने हो भने उसले के पायो र ? त्यसैले यो व्यवस्थाप्रति, दलहरूप्रति प्रश्न उठ्नु पनि स्वाभाविक हो ।’ 

नागरिक अगुवा प्रमोद पाठक स्थानीय सरकार दलगत नहुनु उपयुक्त हुने जनमत बढेको बताउँछन् । ‘बहुदलका ३२ वर्ष मैले पनि राम्रोसँग विश्लेषण गरेको छु । दलगत हुँदा जनप्रतिनिधिले जनताको कामभन्दा धेरै पार्टीको काममा अलमलिन्छन् भनेर जनताले बुझे । दलप्रति जनतामा निराशा छाएको छ,’ उनले भने, ‘यसको कारण हरेक ठाउँमा दलले कब्जा गर्ने, तर जनतालाई सुविधा नदिने नै हो ।’ उनले विद्यालय व्यवस्थापन समितिदेखि टोल विकास समितिसम्म हुने दलीय हस्तक्षेपले स्थानीय विकास रोकेको दाबी गरे । ‘गाउँमा एमाले हिँडेको बाटो कांग्रेस नहिँड्ने, कांग्रेसले हिँडेको बाटो एमाले नहिँड्ने अवस्था बनाएका छन् । हरेक चिजमा दल हाबी भए, यो राम्रो होइन । दलीय व्यवस्थाले समाजलाई यसरी बिगारेको छ कि विद्यालय व्यवस्थापन समितिमा दलगत प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘समाजका सबै मान्छे दलगत रूपमा विभाजित भएपछि द्वन्द्वमात्रै भयो, विकास भएन ।’ 

२०७४ को निर्वाचनमा वडले २ हजार ७ सय मतान्तरले हमाललाई पराजित गरेका थिए । त्यो बेला वडले १४ हजार ३ सय २४ मत प्राप्त गरेका थिए भने हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए । माओवादी केन्द्रका राजसमज चौधरीले १० हजार २ सय ९ मत ल्याएका थिए भने एमालेका दुर्गाप्रसाद जोशीले ९ हजार ९ सय ४६ मत प्राप्त गरी चौथो स्थानमा थिए । यहाँ कुल मतदाता ९३ हजार १ सय ५४ छन् । २०७४ को तुलनामा १४ हजार बढी मतदाता छन् ।

हमालले कसरी शक्ति आर्जन गरे ? 
सामाजिक क्षेत्रमा सक्रिय हमालले धनगढी र सुदूरपश्चिममा थुप्रै सामाजिक कामको नेतृत्व गरेका छन् । ०४२ सालमा धनगढीमा ब्लड बैंक स्थापनाका लागि स्वरसम्राट नारायण गोपाल, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठहरूको एकल साँझ भएको थियो, त्यसको नेतृत्व हमालले गरेका थिए । त्यसयता उनले कहिले ‘सुन्दर सुदूरपश्चिम’ त कहिले ‘गन्तव्य सुदूरपश्चिम’ भन्दै प्रदेशलाई चिनाउने अभियान चलाए । 

कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा हमालले सर्वोत्कृष्ट शाखाको पुरस्कार पाएका थिए । त्यसपछि धनगढीका व्यवसायीमाझ उनको प्रभाव बढेको थियो । पछि प्रधानमन्त्री देउवादेखि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसम्मलाई २१ बुँदे माग, २१ किलो माला अभियान चलाएका उनले धनगढी विमानस्थल कालोपत्र गर्न गरेको ‘एक रुपैयाँ’ अभियानको समेत नेतृत्व गरे । सामाजिक क्षेत्रको त्यही लोकप्रियतालाई उनले स्थानीय चुनावमा उपयोग गर्न खोजिरहेका छन् । विशेष गरी बजार क्षेत्र र शिक्षित मतदातामा उनको प्रभाव छ । नागरिक अगुवा पाठक हमाल पटकपटक परीक्षण भएर सफल नेतृत्व भएका कारण धनगढीमा उनको चर्चा रहेको बताउँछन् । 

धनगढीले जनप्रतिनिधि लगातार दोहोर्‍याएको छैन
०४६ पछिका कुनै पनि निर्वाचनमा धनगढीले जनप्रतिनिधिलाई लगातार दोस्रो पटक दोहोर्‍याएको छैन । ०४७ को संसदीय आम निर्वाचनमा कैलालीका ३ नम्बर निर्वाचन क्षेत्र धनगढीबाट कांग्रेसका टेकबहादुर चोख्याल सासंदमा विजयी भएका थिए । ०५१ को मध्यावधिमा एमालेका उम्मेदवार महेश्वर पाठक विजयी भए । २०४९ को स्थानीय तह निर्वाचनमा धनगढी नगरपालिकाको मेयरमा कांग्रेसका किशोर बम विजयी भएका थिए । २०५४ को स्थानीय चुनावमा धनगढीको प्रमुखमा एमालेका खेमराज पाण्डेय विजयी भएका थिए । 

२०५६ को संसदीय निर्वाचनमा धनगढीबाट कांग्रेसले जितेको थियो । २०६४ को संविधानसभा निर्वाचनमा कैलाली ६ मा परेको धनगढीबाट माओवादी केन्द्र विजयी भएको थियो । २०७० को अर्को संविधानसभाबाट देउवा चुनाव लडेका थिए । २०७४ को संसदीय निर्वाचनमा आरजुलाई हराउँदै एमालेका उम्मेदवार नारदमुनि राना विजयी भए । 

गठबन्धन भए पनि कांग्रेस उम्मेदवार वडलाई चुनाव जित्न सजिलो देखिँदैन । अघिल्लो निर्वाचनको परिणामका आधारमा उनी धेरै मतले अघि छन् । तर, काम गर्न नसकेको भन्दै उनीप्रति असन्तुष्टि छ । यस पटक गठबन्धनका कारण पार्टीभित्रै गुट, उपगुटको असन्तुष्टि चुलिएको नेताहरू बताउँछन् । धनगढीमा गठबन्धनले उपप्रमुखमा माओवादीकी शान्ति अधिकारीलाई उम्मेदवार बनाएको छ । काग्रेसकै पूर्वजिल्ला कोषाध्यक्ष प्रभाकर भण्डारीले स्वतन्त्रमा उम्मेदवारी दिएका छन् । 

स्वतन्त्र उम्मेदवार हमाललाई विवेकशील साझा, राप्रपा लगायतका साना दलको समर्थन छ । पहिलेको स्वतन्त्र मत बढ्ने र गठबन्धनको असन्तुष्टिको फाइदा आफूलाई पुग्ने हमालको बुझाइ छ । वड भने गठबन्धनलाई नै बलियो आधार ठानिरहेका छन् । धनगढीमा विगतमा जातीय, क्षेत्रीय र भूगोलका आधारमा समेत मत विभाजन हुने गरेको छ । यहाँ आदिवासी थारू र राना समुदायको जनसंख्या १६ प्रतिशत छ । तर, प्रमुख पदमा दलले सो समुदायबाट उम्मेदवार बनाएका छैनन् । त्यसबाहेक बाहुल्य संख्या भने सुदूर पहाड र हिमालबाट बसाइँ सरेर आउनेहरूको छ । 

डोटीबाट मात्रै धनगढीमा सरेकाहरूको संख्या ४५ प्रतिशत हाराहारीमा छ । निर्वाचनमा जातीय र क्षेत्रीयताका हिसाबमा थारू, राना, डोट्याल प्रमुख ‘फ्याक्टर’ हुन् । पछिल्लो समयमा अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला, सुदूर कर्णालीलगायत विभिन्न क्षेत्रबाट समेत धनगढीमा बसाइँसराइ बढेको छ । डडेल्धुरा, बैतडी र दार्चुला एक फ्याक्टर बन्छ भने अर्कोतिर अछाम पनि पछिल्लो समयमा निर्वाचन परिणामलाई असर पार्ने गरी आएको छ । 

‘भ्रष्टाचार अन्त्य गर्न सक्छु’ – गोपाल हमाल, स्वतन्त्र


मैले स्वतन्त्र रूपमा जितें भने दलीय व्यवस्थामा पनि एउटा नागरिकले चुनाव जितेर काम गर्न सक्ने रहेछ भन्ने पुष्टि हुन्छ । देशमा सेवा गर्ने राजनीति चाहिएको हो कि पेसेवर ? जनताले फैसला गर्नुपर्छ । जबसम्म पेसेवर राजनीति रहिरहन्छ, देशमा कुनै परिवर्तन हुनेवाला छैन । परिवर्तनको सुरुवात म सुदूरपश्चिमबाट गर्दैछु । अहिले हाम्रा स्थानीय सरकारमा जनताभन्दा पार्टी, गुट, कार्यकर्ता प्राथमिकतामा छन् । मेरो कुनै पार्टी छैन, गुट छैन, कसैलाई भरणपोषण गर्नुपर्ने छैन । मेरो पहिलो प्राथमिकता जनताको काम हो, धनगढीको विकास हो । म कार्यकर्तालाई पाल्ने होइन, आफैँले पाउने सेवा सुविधासमेत जनताको सेवामा खर्च गर्छु भनेर संकल्प गरेको छु । भ्रष्टाचारी राजनीतिलाई कल्याणकारी बनाउनुपर्छ । यहाँ बाटो बनाउने, ठूलो सहर बनाउने कुरा मुख्य होइन, सबैभन्दा पहिले भ्रष्टाचार अन्त्य गर्नुपर्छ, जुन ममात्रै गर्न सक्छु । 

‘उत्कृष्ट सहरको योजना छ’– नृपबहादुर वड, नेपाली कांग्रेस


हामीले पाँच वर्षमा धेरै कुरा सिक्यौं । योजना बनिसकेका छन्, त्यसको कार्यान्वयन गर्ने प्रस्ट भिजन र कार्ययोजना हामीसँग छ । धेरै नयाँ चुनावी मुद्दा लिएर जनताको माझमा जानुपर्ने अवस्था छैन । गौरीफन्टा नाकालाई स्तरोन्नति गर्ने मुख्य कुरा छ । देउवाज्यू चार वर्षअगाडि भारत भ्रमणमा जाँदा गौरीफन्टा नाकालाई स्तरोन्नति र व्यवस्थित गर्ने सम्झौता भएको थियो । धनगढी एयरपोर्टलाई प्रादेशिक विमानस्थल बनाउन मेरो पहल हुनेछ । धनगढीलाई महानगरपालिका बनाउन पूर्वाधार खडा गरेर अघि बढाउनेछौँ । धनगढीलाई सफा, स्वच्छ, सुन्दर र सामाजिक सुरक्षायुक्त सहर बनाउने हाम्रो प्राथमिकता हो । यसलाई शिक्षा र स्वास्थ्यको केन्द्रका रूपमा विकास गर्ने योजना छ । खानेपानी, प्राविधिक विद्यालय व्यवस्थित गर्ने, हरेक घरमा एक जना उद्यमशील नागरिक बनाउने र धनगढीलाई सबै हिसाबले उत्कृष्ट सहर बनाउने अभियानमा लाग्नेछौं । 

‘धनगढीलाई व्यवस्थित गर्छु’– रणबहादुर चन्द, एमाले 

’ 
धनगढीलाई सफा, सुग्घर र व्यवस्थित बनाउनुपर्ने चुनौती छ, त्यो नै मेरो मुख्य एजेन्डा हो । भूमिसम्बन्धी समस्या हल गर्ने योजना छ । एक वडा एक कृषि बालीको अभियान सञ्चालन गर्ने योजना बनाएको छु । सबै नागरिकको स्वास्थ्य बिमा गर्ने, सुत्केरी आमाका लागि निःशुल्क एम्बुलेन्स, वृद्धवृद्धाको उपचारका लागि घुम्ती शिविर, सामुदायिक विद्यालयको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छु । धनगढीलाई मेघा सिटी हुँदै महानगरपालिकाका रूपमा विकास गर्ने गरी सहरी विकासका योजना बनाउनुपर्छ भनेको छु । म निर्वाचित भएँ भने  धनगढीलाई व्यवस्थित सहर बनाउने काम अघि बढाउँछु । यहाँका जनताको साथमा रहेर सेवा गरेको छु र त्यही आधारमा जनताले विश्वासको मत दिनुहुन्छ भनेर ढुक्क छु ।

स्थानीय तह निर्वाचन २०७९

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

प्रकाश डेढ दशकदेखि पत्रकारितामा क्रियाशील धौलाकोटी हाल ईकान्तिपुरसँग आबद्ध छन् । उनी सामाजिक तथा राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् ।

मोहन

Link copied successfully