कुलमानलाई पोस्टरमा राखेकोमा आयोगले माओवादीलाई सचेत गरायो

वैशाख १९, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर चुनाव प्रचारको पोस्टरमा प्रयोग गरेको विषयमा माओवादी केन्द्रलाई सचेत गराएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालको सामाजिक सञ्जाल अकाउन्ट फेसबुकबाट कुलमान घिसिङ भएको चुनाव प्रचार सामग्री सार्वजनिक भएकोमा आयोगले स्पष्टिकरण सोधेको थियो । 

आयोगले सोमबार विज्ञप्ति जारी गरेर उक्त प्रकरणमा सचेत गराएको स्पष्ट उल्लेख नगरे पनि आचारसंहिता उल्लंघन गरेकोबारे स्पष्टिकरण सोधिएकोमा सचेत गराइएको उल्लेख गरेको छ । 'स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निर्वाचन आयोगले चित्तबुझ्दो जवाफ माग गरेको र जवाफ प्राप्त भइसकेपछि सम्बन्धित दलहरूलाई सचेत गराएको छ,' आयोगले विज्ञप्तिमार्फत भनेको छ । 

आयोगले तीनवटै राजनीतिक दलहरूले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरीत कार्य गरेको देखिएको पनि उल्लेख गरेको छ । तीनवटै राजनीतिक दलहरूलाई आगामी दिनमा त्यस्ता कार्य नदोहोर्‍याउन आयोगले सचेत गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully