एमालेबाट काठमाडौं महानगरको चुनावी कमाण्ड सम्हाल्ने जिम्मेवारी पोखरेललाई

वैशाख १९, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको चुनावी अभियानको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने भएका छन् । 

एमालेले वरिष्ठ उपाध्यक्ष पोखरेललाई संयोजक बनाउँदै ‘काठमाडौं महानगर निर्वाचन परिचालन निर्देशक समिति’ गठन गरेको छ । 

‘चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै मेयर–उपमेयरसहित ३२ वटै वडाका सबै उम्मेदवारलाई विजयी गराउन नेकपा (एमाले) अब चुनावी मैदानमा उत्रिएको छ,’ काठमाडौं महानगर निर्वाचन परिचालन सचिवालयमा सम्बोधन गर्दै संयोजक पोखरेलले भने ।

पोखरेलका अनुसार चुनावी अभियान ३२ वटै वडामा अघि बढिरहेको छ । अब थप व्यवस्थित ढंगले यो काम अघि बढ्ने पनि उनले बताए । पोखरेलले सोमबार नै ३२ वटै वडाको गतिविधि र त्यहाँ भइरहेको चुनावी प्रचारबारे जानकारी लिएका थिए ।

नेकपा (एमाले) काठमाडौं महानगर कमिटीका अध्यक्ष तथा निर्देशक समितिका सदस्य निर्मल देउलाले मुलुकको सबैभन्दा ठूलो र पुरानो महानगर काठमाडौं महानगरपालिकाको चुनावी गतिविधि थप संयमित र व्यवस्थित ढंगले अघि बढ्ने बताए ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully