मोरङ — निर्वाचन आचारसंहिताविपरीत उम्मेदवारहरू आ-आफ्ना चुनावी प्रचार गरिरहेका छन् । कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत दलका साथै स्वतन्त्र उम्मेदवारहरुले समेत आचारसंहिताविपरीत चुनावी प्रचार गरिरहेका हुन् ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन निष्पक्ष, पारदर्शी, भयमुक्त, स्वतन्त्र र स्वच्छ रुपमा सम्पन्न गराउन निर्वाचन आचारसंहिता लागू गरे पनि उम्मेदवारहरु त्यसलाई बेवास्ता गर्दै प्रचारप्रसारमा जुटेका छन् ।
सबै उम्मेदवारहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । उनीहरुले पार्टीको झण्डाका साथै चुनाव चिन्ह अंकित तुल, ब्यानर बोकेर जुलुस प्रदर्शन गर्दै घरदैलो कार्यक्रम गरिरहेका छन् । तर राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ संगठनले पालना गर्नुपर्ने आचरणसम्बन्धी निर्वाचन आचारसंहिताको बुंदा नम्बर १२ मा यसरी प्रदर्शन गरिने जुलुसमा पार्टीको झण्डा र निर्वाचन चिन्ह प्रयोग गर्न बन्देज लइगाएको छ ।
निर्वाचन आचारसंहिताको बुंदा १२ को (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह, झण्डा, अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने उल्लेख छ । तर उम्मेदवारहरुले गाउँ, टोलमा पार्टीको झण्डा, निर्वाचन चिन्ह र माइकिङ गर्दै दैनिक रुपमा जुलुस तथा प्रदर्शन गर्दै घरदैलो गरिरहेका छन् ।
मोरङस्थित प्रदेश १ को एक मात्र महानगर विराटनगर र ८/८ वटा नगर र गाउँपालिकामा उम्मेदवारहरुले यसरी नै घरदैलो कार्यक्रम गरिरहेका हुन् । प्रमुख दलका नेताहरूले भने आफूहरूले चुनावी अभियानको रुपमा भड्किलो प्रचार नगरेको जिकिर गर्छन् ।
तर निर्वाचन आचारसंहिता पालना गराउने जिम्मेवारी पाएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले निर्वाचन आचारसंहिता उल्लंघन भएको उजुरीको पर्खाइमा रहेको जनाएको छ । प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रदेश निर्वाचन अधिकारी तथा आचारसंहिता अनुगमन समितिका संयोजक लेवन कश्यप अधिकारीले राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता बारे औपचारिक रुपमा जानकारी गराएको र त्यसमा सबैले पालना गर्ने प्रतिबद्धता जनाएको बताए ।
‘हालसम्ममा सामाजिक सञ्जालनमार्फत आचारसंहिता उल्लंघन गरेको उजुरी आएपछि केन्द्रमा पठाइदिएको र अन्य मौखिक उजुरीको तत्काल सम्बोधन गर्ने काम गरिरहेका छौं,’ उनले भने, ‘लिखित रुपमा मात्रै नभइ मौखिक, मिडियालगायत माध्यमबाट आएका आचारसंहिता उल्लंघनको विषयमा गम्भीरता पूर्वक अनुगमन गरेर नियमन गर्ने काम गरिरहेका छौं ।’
पछिल्लो समय सबै दल तथा उम्मेदवारहरु घरदैलो अभियान गरिरहेको र त्यसमा आचारसंहिता उल्लंघन भइरहेको सूचना आएकाले अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउने अधिकारीले बताए ।
