धनगढीमा एक वडा, एक कृषि बालीको अभियान सञ्चालन गर्छु : रणबहादुर चन्द [भिडियो]

वैशाख १९, २०७९

कान्तिपुर संवाददाता

धनगढी — स्थानीय तहको चुनावमा धनगढी उपमहानगरमा एमालेका उम्मेदवार छन्- रणबहादुर चन्द । कांग्रेसले जितेको यो नगरमा सत्तागठबन्धनलाई हराउने कोसिसमा चन्दले आफ्नो प्रचार अभियानलाई तीव्र पारेका छन् ।

धनगढीको विकासका लाग चन्दका योजानाहरु के छन् ? कान्तिपुरका प्रकाश धौलाकोटी र मोहन बुडाऐरले गरेको संक्षिप्त कुराकानी:

तपाईं नेकपा एमालेबाट मेयर पदको उम्मेदवार हुनुहुन्छ । धनगढीको कस्तो सम्भावना देख्नुभएको छ ? 

धनगढी सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो शहर र यहाँको एकमात्र उपमहानगरपालिका हो । जुन गतिमा यसको विकास हुनुपर्ने थियो, त्यो हुन सकेको छैन । यो एउटा अव्यवस्थित बजारको रुपमा रहेको छ । यसलाई अब सफा, सुग्घर र व्यवस्थित बजार बनाउनुपर्ने चुनौती छ, त्यो नै मेरो मुख्य एजेन्डा हो । अहिले यहाँका नागरिकले आधारभूत आवश्यकताहरु पाउन सकेका छैनन् । त्यसको समानुपातिक वितरण र पहुँच पुर्‍याउनुपर्ने अवस्था छ । अर्को यहाँ भूमिसम्बन्धी ठूलो समस्या छ । लामो समयदेखि बसोबास गर्दै आएका परिवारले पनि लालपूर्जा पाएका छैनन् । यहाँ कृषिको ठूलो सम्भावना छ, एक वडा एक कृषि बालीको अभियान सञ्चालन गर्ने योजना बनाएको छु । सबै नागरिकको स्वास्थ्य बीमा गर्ने, सुत्केरी आमाहरुको लागि निःशुल्क एम्बुलेन्स, वृद्धवृद्धाहरुको उपचारका लागि घुम्ती शिविर गर्ने, सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने मैले प्राथमिकतामा राखेको छु । 

धनगढीलाई कसरी  र कस्तो सहर बनाउने योजना छ? 

मैले धनगढीलाई मेघा सिटी हुँदै महानगरपालिकाको रुपमा विकास गर्ने गरी शहरी विकासका योजनाहरु बनाउनुपर्छ भनेको छु । अब अहिले त्यो कसरी भनेर पूरै खाका त तयार भइसकेको छैन । त्यो निर्वाचित भएपछि बनाउने हो । वास्तवमा अहिलेको नेतृत्वले त्यो गर्नुपर्ने थियो । तर, त्यसको लागि खासै प्रयास भएको छैन । यदि म निर्वाचित भएँ भने म प्रदेश र संघीय सरकारबाट समेत बजेट र योजनाको प्रबन्ध गरेर धनगढीलाई व्यवस्थित सहर बनाउने कामलाई अघि बढाउँछु । 

तस्बिर/भिडियो : अंगद ढकाल

सबैले यस्तै योजनाहरु अघि सारेका छन् । धनगढीबासीले तपाईंलाई नै चाहिँ किन रोज्ने ? 

म नेकपा एमालेको इमान्दार सिपाही हुँ । विद्यार्थी उमेरदेखि राजनीतिमा आएर पार्टीको नगर समितिमा विभिन्न पदसँगै पार्टीको जिल्ला कमिटीको सचिव र उपाध्यक्षसम्म भएर काम गरेको छु । लामो समयदेखि मैले इमान्दारसाथ राजनीतिका माध्यमबाट जनताको सेवा गरेको छु । मलाई धनगढीबासीले राम्ररी चिन्नुभएको छ, सबैभन्दा प्रमुख कुरा त यही नै हो । मैले अरुले जस्तो तडक भडक गर्ने कुरा पनि छैन, सामान्य परिवारको मान्छे हुँ । यहाँका जनताको साथमा रहेर सेवा गरेको छु, र त्यही आधारमा अहिले जनताले विश्वासको मत दिनुहुन्छ भनेर ढुक्क छु । अर्को कुरा, धनगढीको विकासका लागि हाम्रो पार्टी नै अहिले उपयुक्त छ । यहाँ हाम्रो पार्टीको संगठन पनि हिजोभन्दा मजबुत भएको छ । हामी पहिलो शक्ति हो, धनगढीमा । हाम्रो संगठन व्यवस्थित र सुदृढ छ । उम्मेदवार छान्दा वडादेखि पालिकासम्म कुनै विवाद छैन । फेरि अहिले जुन पाँच दलीय अप्राकृतिक गठबन्धन बनेको छ, यो धनगढीका जनताको भविष्य सोचेर, यहाँका जनताको स्वार्थमा वा राष्ट्रको हित हुने गरी बनेको गठबन्धन होइन । यो त खाली सत्ता र स्वार्थको गठबन्धन हो । त्यसैले गठबन्धनले जनमतमा खासै प्रभाव पार्दैन । त्यसमाथि हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले हिजो जे जस्ता कामहरु गर्‍यो, त्यसले देशैभरि जनलहर छ, यी नै आधारमा हाम्रो पार्टीले चुनाव जित्छौँ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully