धनगढीमा हरेक घरमा एक जना उद्यमी बनाउने कोसिस गर्छु : नृपबहादुर वड [भिडियो]

धनगढी — मुलुकभर नै चुनावी माहौैल तात्तिएको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेको छुट्टै गठबन्धनले चुनावी रौनक धेरै स्थानमा उस्तै छ । तर केही स्थान भने प्रतिस्पर्धा दुई गठबन्धन भन्दा फरक उम्मेदवारका कारण पनि धेरैको चासोमा परेका छन् । त्यस्तै मध्येको एउटा स्थानीय तह हो- धनगढी उपमहानगर । यहाँ सत्ता गठबन्धन र एमालेका उम्मेदवारसँग स्वतन्त्र उम्मेदवार गोपाल हमाल पनि प्रतिस्पर्धामा छन् ।

धनगढीमा हरेक घरमा एक जना उद्यमी बनाउने कोसिस गर्छु : नृपबहादुर वड [भिडियो]

धनगढी उपमहानगरका तीन जना मुख्य प्रतिस्पर्धीहरुका चुनावी एजेण्डा के छन् ? कान्तिरपुरका प्रकाश धौलाकोटी र मोहन बुडाऐरले गरेको कुराकानी:

तपाईं अघिल्लो चुनावमा मेयर पदमा निर्वाचित हुनुभएको थियो यो पाँच वर्षमा के–के गर्नुभयो ?

धनगढी उपमहानगरपालिकामा मेरो पाँच वर्ष निकै चुनौतीपूर्ण रहृयो । धेरै त संघर्षपूर्ण नै भयो । हामीले चाहेर पनि कतिपय कामहरु गर्न सक्ने अवस्था भएन । त्यति हुँदा हुँदै पनि मेरो नेतृत्वको धनगढी उपमहानगर देशकै उत्कृष्ट स्थानीय तहकोरुपमा पुरस्कृत भयो । तर, यति नै पर्याप्त भयो भन्ने पनि होइन । संघ र प्रदेशमा फरक पार्टीको सरकार बनेका कारणले कतिपय काम गर्न असहज परिस्थिति बन्यो, पछि कोभिडको कारणले अरु धेरै विकास निर्माणका काममा ध्यान पुर्‍याउन सकिएन । जुन रफ्तारमा हामीले काम गर्न चाहेका थियौ‌‌, त्यसलाई कोभिडले ब्रेक लगाइदियो । समग्रमा यो अवधि सिकाई र अनुभव गर्नेक्रममै बित्यो । सडक पूर्वाधार, पर्यटन, कृषि सबैजसो क्षेत्रमा कामहरु भएका छन् । कोभिडका बेलामा देशभरिका नागरिकहरुलाई घर घर पुर्‍याउन, क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापनमा हामीले राम्रा काम गर्‍यौ‌ं । हामीले धेरै नागरिकलाई बचाउन सफल भयौं । हाम्रो आर्थिक व्यवस्थापन प्रणाली राम्रो छ, योजना बनाएर मात्रै खर्च गर्ने परम्परा बनेको छ । त्यसले गर्दा धनगढी देशकै अब्बल स्थानीय तहको रुपमा चिनियो ।

धनगढीबासीले अहिले फेरि तपाईंलाई नै मेयर पदमा किन जिताउने ?

हामीले यो पाँच वर्षमा धेरै कुराहरु सिकेका छौं । योजनाहरु बनिसकेका छन्, त्यसको कार्यान्वयन गर्ने प्रस्ट भिजन र कार्ययोजना छ हामीसँग । त्यसैले धेरै नयाँ चुनावी मुद्दा लिएर जनताको माझमा जानुपर्ने अवस्था छैन । यद्यपि अहिले हामीले गौरीफन्टा नाकालाई स्तरोन्नति गर्ने मुख्य कुरा छ । नेपाली कांग्रेसको सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले चार वर्ष अगाडि भारत भ्रमण जाँदै गर्दा गौरीफन्टा नाकालाई स्तरोन्नति र व्यवस्थित गर्ने भनेर सम्झौता भएको थियो । तर, संसदीय चुनावमा हामीले नजितेका कारण हामीले त्यसको कार्यान्वयन गर्न सकेनौं । किनभने त्यो बेला मैले यहाँबाट जति कराएपनि प्रदेश र संघीय सरकारले मेरो कुरा सुनेन ।

अब अहिले हाम्रो गठबन्धनको सरकार छ, हामीले यो कुरालाई पहिलो प्राथमिकतामा राखेर अघि बढाउँछौं । अर्को, धनगढीको एयरपोर्टलाई प्रादेशिक विमानस्थल बनाउनका लागि मेरो पहल हुनेछ भने धनगढीलाई महानगरपालिका बनाउनको लागि पूर्वाधारहरु खडा गरेर अघि बढाउनेछौं । धनगढीलाई सफा, स्वच्छ, सुन्दर सहर, सामाजिक सुरक्षायुक्त सहर बनाउने हाम्रो प्राथमिकता हो । यसलाई शिक्षा र स्वास्थ्यको हबकोरुपमा विकास गर्ने हाम्रो योजना छ । खानेपानीको सुविधाकालागि एक घर एक धारा पुर्‍याउने, प्राविधिक विद्यालयलाई व्यवस्थित गर्ने, हरेक घरमा एक जना उद्यमशील नागरिक बनाउने र धनगढीलाई सबै हिसाबले उत्कृष्ट सहर बनाउने अभियानमा हामी लाग्नेछौँ ।

गत चुनावमा तपाईंको निकटतम प्रतिद्वन्द्वी नै अहिले पनि उम्मेदवार हुनुहुन्छ । एमालेले पनि जनलहर आएको दाबी गरेको छ । यहाँको प्रतिस्पर्धालाई कसरी लिनुभएको छ ?

हामी दलीय व्यवस्थामा छौं । दलीय व्यवस्थामा स्वतन्त्रहरुको पक्षमा छिटपुट मत आउने कुरा एउटा हो, तर दलीय व्यवस्थामा दलकै वर्चस्व हुन्छ । प्रदेश र संघमा दलकै सरकार हुन्छ । तलदेखि माथिसम्म एउटै दलको सरकार नभएको अवस्थामा काम गर्न मुस्किल हुन्छ । त्यसैले स्थानीय विकासका लागि स्थानीय सरकार पनि दलको नेतृत्वमा हुनु जरुरी छ । अहिले हाम्रो गठबन्धन छ, हामी गाउँदेखि केन्द्रसम्मै गठबन्धनमा छौं । वडादेखि केन्द्रसम्म दलको व्यवस्था हुने भएकाले उपमहानगरमा दलीय व्यवस्थाभन्दा बाहिरको कुनै कल्पना छैन । धनगढीमा गएको चुनावमा कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्दा पनि चुनाव जितेको थियो । यसपटक पाँच दलीय गठबन्धन बनेको छ, त्यो भनेको गत चुनावको तेस्रो शक्ति माओवादी केन्द्रसमेतको भएकाले चुनाव जित्नेमा म ढुक्क छु । गठबन्धनबाट हामी जो उम्मेदवार छौं, हाम्रो जुन टिम छ, यो स्वच्छ टिम छ, भ्रष्टाचार गरेको छैन, हामीले काम गरेका छौँ । यो टिमले सामाजिक उत्तरदायित्व र विकासलाई प्राथमिकतामा राखेको छ । यो कुरा जनताले महसुस गरेका छन् ।

प्रकाशित : वैशाख १९, २०७९ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?