धनगढी — धनगढी उपमहानगरपालिकामा अहिले राजनीतिक दलका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न गोपालबहादुर हमालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । राजनीतिक दलबाट जित्ने व्यक्तिका प्राथमिकता दलकै काममा हुने भएकाले स्वतन्त्र व्यक्तिले जित्दा राम्रो काम गर्न सक्ने उनको तर्क छ । आफूले जिते उनले पाँच वर्षसम्म कुनै सेवा सुविधा नलिई काम गर्ने बताएका छन् ।
धनगढी उपमहानगरको विकासका लागि उनका के छन् योजना र सपना ? कान्तिपुरका प्रकाश धौलाकोटी र मोहन बुडाऐरले स्वतन्त्र उम्मेदवार हमालसँग गरेको संक्षिप्त कुराकानी:
तपाईं दलबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बन्दै आउनुभएको छ । किन ?
म दलीय व्यवस्थाको विरोधी होइन, मैले संविधानले दिएको अधिकार उपयोग गरेको हुँ । लोकतन्त्रमा सबैभन्दा ठूलो जनता हो । दललाई ठूलो बनाउने जनताले हो । जनता सर्वोपरि हो । त्यसैले जनताले मत दिएर जिताउने हो, दलले होइन । यदि मैले दलबाट चुनाव जितेँ भने मेरो प्राथमिकता पनि दल हुन्छ । दललाई बलियो बनाउने, कार्यकर्तालाई भरणपोषण गर्ने, गुटलाई बलियो बनाउनेतिर ध्यान दिनुपर्ने हुन्छ । त्यो कसरी हुन्छ भन्दा मैले भ्रष्टाचार गर्नुपर्यो । उनीहरुलाई कमाइ खाने बाटो दिनुपर्यो, मैले जुन गुटको प्रतिनिधित्व गर्छु, त्यो गुटको संरक्षणका लागि कार्यकर्ता पाल्नुपर्यो । कार्यकर्ता पाल्नलाई मैले भ्रष्टाचार नगरे उपाय नै छैन । दलबाट चुनाव जित्दा जनताको कुरा त प्राथमिकता नम्बर तीन–चारमा मात्रै आउने हो । त्यसैले मैले जनताको कुरालाई एक नम्बरमा राखेर काम गर्न चाहेको हो ।
तर, स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जित्न गाह्रो छैन र ?
सजिलो छैन, तर म डटेर लागेको छु । सामान्यतः कुनै राजनीतिक व्यवस्था बदलिएपछि जनताको अवस्था पनि बदलिनुपर्ने हो । तर हामी कहाँ व्यवस्था बदलियो, अवस्था बदलिएको छैन । यो व्यवस्थाप्रति नै बितृष्णा छ । यदि मैले यहाँ स्वतन्त्र रुपमा जितेर देखाए, र मैले काम गरेँ भने अहिलेको दलीय व्यवस्थामा पनि एउटा नागरिकले उम्मेदवार भएर चुनाव जितेर काम गर्न सक्नेरहेछ भन्ने पुष्टि हुन्छ । मेरो यो एउटा अभियान हो ।
तस्बिर/भिडियो : अंगद ढकाल ।
यदि म सफल भएँ भने यसले यो देशमा लहर ल्याउँछ । सेवा गर्न चाहने व्यक्तिहरु धेरै छन् यो देशमा । सेवा गर्छु भनेर आएको मान्छेले सेवा नै गर्छ । जसले दलको झोला बोकेर पेसा गर्छु भनेर आएको छ, उसले पेसा नै गर्छ, किनकि ऊ पेशेवर हो । तपाईंको मनले के भन्छ ? यो देशमा सेवा गर्ने राजनीति चाहिएको हो कि पेशेवर ? यो जनताले फैसला गर्नुपर्छ । म ठोकुवा गर्छु, जबसम्म पेशवर राजनीति यो देशमा रहिरहन्छ, त्योबेलासम्म यो देशमा कुनै पनि परिवर्तन हुनेवाला छैन । त्यो परिवर्तनको सुरुवात म सुदूरपश्चिमबाट गर्दैछु ।
मेयर बन्नुभयो भने तपाईंका प्राथमिकताहरु के हुन्छन् ?
अहिले जसरी हाम्रा स्थानीय सरकार चलिरहेका छन्, त्यहाँ जनताभन्दा पार्टी, गुट, कार्यकर्ता प्राथमिकतामा छन् । तर, मैले जिते भने मेरो कुनै पार्टी छैन, गुट छैन, कसैलाई भरणपोषण गर्नुपर्ने छैन । मेरो पहिलो प्राथमिकता जनताको काम हो, धनगढीको विकास हो । म त कार्यकर्तालाई पाल्ने होइन, आफैँले पाउने सेवा सुविधासमेत जनताको सेवामा खर्च गर्छु भनेर संकल्प गरेको छु । त्यसकारण मेरो सबैभन्दा ठूलो प्राथमिकता भनेको भ्रष्टाचारी राजनीति जो छ, यसलाई कल्याणकारी बनाउनुपर्छ भन्ने हो । राजनीति कुनै पेशा होइन । राजनीतिले देशलाई मार्गनिर्देश हो, तर त्यो राजनीति नै भ्रष्ट भयो भने देशको अवस्था कस्तो हुन्छ ? समाज कुन अवस्थामा पुग्छ ? हाम्रो देशमा अहिले यो अवस्था किन सिर्जना भइरहेको छ ? त्यसकारण मैले यहाँ बाटो बनाउँछु, ठूलो शहर बनाउँछु भन्ने कुरा मुख्य होइन, सबैभन्दा पहिले यो भ्रष्टाचार अन्त्य गर्नुपर्छ, जुन ममात्रै गर्न सक्छु । यदि म निर्वाचित भए भने मलाई सरकारको तलब, भत्ता, गाडी, इन्धन केही पनि चाहिँदैन । मलाई यो धनगढीले सब चीज दिइसकेको छ भने धनगढीको लागि मैले पनि केही त दिनुपर्यो नि ! पाँच वर्षको अवधिमा म यो उपमहानगरको विकासको लागि कहाँ-कहाँ जानुपर्छ, त्यो आवतजावत् खाना आवास खर्च, म केही पनि लिदिनँ । मैले कसम खाएको छु ।
