आयोगले स्थापितलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

ओरेक र नेशनल कलेजलाई तीन दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन

वैशाख १९, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)को काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको विषयम २४ घण्टे स्पष्टीकरण सोधेको छ । काठमाडौंको एक कलेजसहित विभिन्न ठाउँमा मेयरका उम्मेदवार स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उलंघन गरेको उजुरी आएको भन्दै निर्वाचनले २४ घण्टे स्पष्टीकरण सोधेको हो । 

निर्वाचन आयोगले सोमबार स्थापितलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 'केशव स्थापित, महिला पुनर्स्थापना केन्द्र (ओरेक) र नेशनल कलेजलाई स्पष्टीकरण सोध्ने आयोगले निर्णय गरेको छ । तपाईंले दिएका अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भए कि भएनन् भनेर आयोगले स्थापितलाई २४ घण्टाभित्र कारण पेस गर्नु भनेर स्पष्टीकरण सोधिएको हो,' प्रवक्ता पौडेलले भने । 

ओरेक र नेशनल कलेजलाई भने तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको उनले जानकारी दिए । 

स्थापितले चुनाव प्रचारका क्रममा दिएका अभिव्यक्तिले आचारसंहिता उलंघन गरेको भन्दै उजुरी आएको पौडेलले बताए । उजुरी आउने लिखित, मौखिक र फोन माध्यम भएको त्यस्तै उम्मेदवारले दिएका अभिव्यक्तिका समाचार सञ्चार माध्यममा पढेर पनि आयोगले स्पष्टीकरण सोध्ने गरेको उनको भनाइ थियो ।

नेशनल कलेजमा आयोजित चुनावी कार्यक्रमा आफूलाई लागेको 'मीटू' आरोपबारे प्रश्न गरिएपछि स्थापित प्रश्नकर्तामाथि झोक्किएका थिए । त्यसपछि पनि उनले आफ्ना प्रतिस्पर्धी बालेन शाहमाथि अभिव्यक्ति दिएका थिए । जसले पनि उनको आलोचना भएको थियो । 

ओरेकले भने नेशनल कलेजमा स्थापितले दिएको अभिव्यक्ति महिला हिंसालाई प्रशय दिने खालको भएको भन्दै विज्ञप्ति निकालेको थियो । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully