कोइरालाको अभिव्यक्तिले निर्वाचन आचारसंहितामाथि अनास्था फैलियो : निर्वाचन आयोग

आइन्दा निर्वाचन आचारसंहितामा अनास्था फैलाउने गतिविधि नगर्न भन्दै कोइराला र कांग्रेस पार्टीलाई आयोगले सचेत गरायो  ।

वैशाख १९, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले कांग्रेस नेता शशांक कोइरालालाई निर्वाचन आचारसंहितामाथि अनास्था फैलाएको भन्दै सचेत गराएको छ ।

कोइरालाले सार्वजनिक रुपमा प्रतिनिधिसभाको अघिल्लो चुनावमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि आयोगले उनलाई पत्र काट्दै स्पष्टिकरण सोधेको थियो ।

कोइरालाले निर्वाचन आयोग ऐन २०७३ को दफा २५ बमोजिम पेस गरेको निर्वाचन खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका थिए । तर उनले त्यसभन्दा बढी खर्च भएको बताएपछि आयोगले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा पनि चित्तबुझ्दो जवाफ नपाएपछि आयोगले कोइराला र उनको दल कांग्रेसलाई सचेत गराउने निर्णय गरेको हो । 

सोमबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले नेता कोइरालाले दिएको अभिव्यक्ति 'आचारसंहिताको मूल आधारमाथि नै अनास्था पैदा हुने देखिएको' बताउँदै आगामी दिनहरूमा यस्ता अभिव्यक्ति नदिन सचेत गराएको बताए । 

यस्तै, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता कार्यान्वयन गर्न सचेत गराएको छ । सभामुख अधिकारीले पनि खर्चको गलत विवरण बुझाएको बताएका थिए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully