७७ वटै जिल्लाका सुरक्षा समितिसँग गृह मन्त्रालयको गोष्ठी

वैशाख १७, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले सबै जिल्ला र प्रदेशका साथै केन्द्रका सुरक्षा निकायसँग स्थानीय तह निर्वाचनको सुरक्षाबारे जानकारी लिएका छन् । गृहमन्त्रीको अध्यक्षतामा बसेको ‘स्थानीय तह निर्वाचन सम्बन्धमा सुरक्षा गोष्ठी'मा निर्वाचन सुरक्षाबारे चर्चा गरिएको हो ।

गृह मन्त्रालयमा भएको गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, तथा गृह मन्त्रालयका अधिकारी प्रत्यक्ष सहभागी थिउ भने ७७ वटै जिल्लाका सुरक्षा समिति पदाधिकारी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका जिल्ला प्रमुख भर्चुअल माध्यमबाट जोडिएका थिए । 

गोष्ठीमा निर्वाचन सुरक्षा सम्बन्धमा देखा परेका चुनौति र तिनको समाधान कसरी गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधलीरहित तरिकाले सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । ‘निर्वाचनको सुरक्षा व्यवस्थामा देखिएका चुनौति र तिनको समाधान कसरी गर्ने भन्ने विषयमा शनिबार सुरक्षा गोष्ठी राखिएको थियो,’ प्रवक्ताले भने, ‘जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले गरेका काम गोष्ठीमा प्रस्तुत गर्दा एउटा जिल्लाले गरेको काम अर्को जिल्लाले नगरेको हुनसक्छ, त्यसबाट एउटाको काम अर्कालाई सिकाइ हुने हुनाले फलदायी हुन्छ । तसर्थ भर्चुअल रूपमा गोष्ठी राखिएको हो ।’

गोष्ठीमा प्रदेशगत रूपमा एउटा प्रदेशबाट एक जिल्लाका प्रमुख जिल्ला अधिकारीले निर्वाचनको सुरक्षाबारे जानकारी गराएका थिए । प्रदेश १ बाट झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, मधेस प्रदेशबाट सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, वागमती प्रदेशबाट काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, गण्डकी प्रदेशबाट बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, लुम्बिनी प्रदेशबाट गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाई र सुदूरपश्चिम प्रदेशबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अहिलेसम्म निर्वाचन सुरक्षाका सम्बन्धमा भए गरेका काम, निर्वाचन सम्पन्न गर्न देखिन सक्ने चुनौति र सुरक्षाका निम्ती गृहमन्त्रालयले दिनुपर्ने थप कुराबारे प्रस्तुति राखेका थिए । 

गोष्ठीमा केन्द्र, प्रदेश र जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सदस्यलाई निर्देशन दिँदै गृहमन्त्री खाणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका थिए । निर्वाचन सम्पन्न हुने बेलासम्म देखिने सबै प्रकारका चुनौति उपलब्ध स्रोत र साधन उपयोग गरेर सामना गर्न तयारी अवस्थामा रहनसमेत उनले निर्देशन दिएका थिए । 

सीमित स्रोतसाधन उपयोग गरेर अहिलेसम्म जिल्ला जिल्लामा भएको निर्वाचनको सुरक्षा सम्बन्धमा भएको तयारी प्रशंशायोग्य रहेको गृहमन्त्रीको भनाइ थियो । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully